जाजरकोट भुकम्प अपडेट : रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु भएको छ : प्रहरी

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।

उनले अनलाइनखबरसँग भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

चौरजहारीमा नगर प्रहरी पनि उद्धारमा सक्रिय

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् ।

चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पमा परी घाइते भएकी चौरजहारी–८ की मनिसा घर्तीमगरलाई नगर प्रहरी जवान रोशन केसीले रक्तदान गरी सहयोग गरेका छन् । मनिसालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।

सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker