नेपाली सेनाद्वारा विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम

दमौली : तनहुँका तीन विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरेको छ । भानु नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाका तीनवटा विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल गठन गरी तालिम सुरु गरेको हो ।

व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (ई)ले जुनियर डिभिजनतर्फ आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता मावि र रुरु भैरवदल गणले भानु नगरपालिका–१२ स्थित सरस्वती मन्दिर माविमा सेवा दल गठन गरेका हुन् ।

सिनियर डिभिजनतर्फ रुरु भैरवदल गणले बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा सेवा दल गठन गरेको छ । प्रत्येक विद्यालयमा १८ छात्र र १८ छात्रा गरी ३६ जनाको सेवा दल गठन गरिएको कालीभञ्जन गण (ई)का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिनुभयो ।

‘राष्ट्रिय एकता’को भावना जगाउन तालिम सुरु गरिएको बोहोराले बताउनुभयो । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दल गठन गर्ने गरिएको छ ।

कालीभञ्जन गणले विगतका वर्षमा व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालय, व्यास नगरपालिका–१० स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय र व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा सेवा दलमा विद्यार्थी आबद्ध गराई तालिम सञ्चालन गरेको थियो ।

सेवा दलमा आबद्ध विद्यार्थीलाई तीन महिनाको तालिम प्रदान गरिनेछ । तीन महिनासम्म विद्यार्थीलाई बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ४ बजेदेखि साँझ ६ बजेसम्म तेक्वान्दो, ड्रिललगायतका तालिम प्रदान गरिनेछ । प्राकृतिक प्रकोपलगायतका विपद्् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको व्यवस्थाअनुसार दल गठन गरिएको हो । दलमा आबद्ध विद्यार्थीलाई एल्मुनाई एशोसिएसनमार्फत सक्रिय गराई सामाजिक कार्यमा समेत उत्प्रेरणा जगाउने लक्ष्य लिइएको गणपति बोहोराको भनाइ छ ।

विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ । गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ ।

साथै विद्यार्थीको रुचि, उचाइ, तौल तथा शारीरिक स्वस्थतालगायत मापदण्डका आधारमा छनोट गरिएको जनाइएको छ । विद्यार्थीको अतिरिक्त समयमा सेनाको टोलीले विपद्मा खोज तथा उद्धारसम्बन्धी तालिम प्रदान गर्नेछ । सेनाले नै पोशाकलगायतका आवश्यक सामग्री उपलब्ध गराइन्छ ।

तालिमपश्चातको ‘क्लोज क्याम्प’बाट उत्कृष्ट भएकालाई सेनाले विभिन्न देशमा अध्ययन भ्रमणका लागि पठाउने गरेको छ । राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीमा राष्ट्र निर्माणमा जिम्मेवार बन्ने, समूहको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने, इतिहास तथा राष्ट्रियताप्रति बफादारितासँगै रक्षार्थ सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker