कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता
लकडाउन होइन स्वास्थ्य सुरक्षा सामाग्रि र मापदण्ड पालनामा कडाइ गरौं : व्यवसायीहरु
- भञ्ज्याङ समाचारदाता/दमौली
विश्वभरि फैलिएको नयाँ प्रजाती (भेरियन्ट) सहितको कोभिड-१९ को संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । संक्रमण जोखिम बढ्दै गएपछि सर्वसाधारणहरु पनि स्वास्थ्य सुरक्षाका सामाग्रि माक्स, सेनिटाइजर तथा साबुनपानीको प्रयोगमा ध्यान दिन थालेका छन् । संक्रमण जोखिमलाई न्यूनिकरण गर्न तथा संक्रमितहरुको व्यवस्थापनका लागि जिल्लाका १० वटै पालिका तथा अन्य सरोकारवाला निकायहरु पनि भयवह अवस्था नआहोस भन्दै आवश्यक तयारीमा जुट्न थालेका छन् । प्रयोग बिहिन बनेका क्वारेन्टिन, आइसोलेशन भवनहरुलाई पुनः व्यवस्थित गरी सञ्चालनमा ल्याउने तयारी समेत गरिएको छ ।
त्यस्तै, जिल्लामा होमक्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनमा निकै समस्या झेल्नुपर्ने अवस्था आएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । ‘जिल्लाको १० वटै पालिकाको लागत सहभागितामा करिब ५० वेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएपनि स्वास्थ्यमा गम्भिर समस्या देखिएमा व्यवस्थापनमा समस्या झेल्नुपर्ने अवस्था देखिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘नागरिकहरुको लापरवाहीकै कारण संक्रमण जोखिम न्यूनिकरणमा विभिन्न समस्या आइरहेका छन् ।’
यस्तै, स्वास्थ्य सुरक्षा सावधानी अप्नाउदै विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सम्भव भएसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अप्नाउन विद्यालयहरुलाई आग्रह गरिएको छ । यदि त्यो सम्भव नभए एउटा कक्षामा २५ जनासम्म विद्यार्थी राखेर पठनपाठन गर्ने र विद्यालय स्तरको परीक्षा यही वैशाख २१ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
यता, जिल्लाका उद्योगी व्यवसायीहरुले भने पहिलाको जस्तो लकडाउन गरी सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्न नहुने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ न्यौपानले स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा कडाइ गरी सबै क्षेत्रलाई खुल्ला राख्नुपर्ने र यसमा स्वयं नागरिकनै सचेत बन्नुपर्ने बताएका छन् ।
‘सरकारको एकल प्रयासले मात्रै कोरोना संक्रमण नियन्त्रण सम्भव छैन’, मिश्रले भने, ‘हामी सबै क्षेत्रका नागरिकहरु नै सचेत बनि सरकारले जारी गरेका निर्देशनलाई पूर्णरुपमा पालना गरी स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन ।’
दमौलीका अर्का व्यापारी महमद सिद्धिक मियाँले पनि लकडाउन नभई कडाइका साथ स्वास्थ्य सामाग्रिको प्रयोगका साथै मापदण्ड पालनामा स्वयं नागरिक र व्यापार व्यवसायी सचेत हुनुपर्ने बताएका छन् । उनले भने, ‘लकडाउन गर्दा थप जटिलता आइलाग्छ, अब लकडाउन होइन स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी दैनिकीलाई कसरी हुन्छ सहज हुने हिसावले अगाडि बढ्नुपर्छ ।’
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तनहुँले संक्रमितको व्यवस्थापन तथा संक्रमण रोकथामका लागि आवश्यक तयारीमा जुट्न जिल्लाका सबै स्थानीय पालिका तथा स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। जिल्लाका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुट्सल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गरिएको छ ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य, पूजा, ध्यान र प्रार्थना मात्र गर्न आग्रह गरिएको छ । स्वास्थ्य सुरक्षा सामाग्रिको प्रयोग तथा मापण्ड पालना गरेर मात्र सामाजिक र सांस्कृतिक कार्यहरु गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्लाका बजार क्षेत्रलाई बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र खुल्ला गर्ने र रात्रीकालिन सबै व्यवसाय बन्द गरिएको छ । यस्तै, कोरोना संक्रमण रोकथामका लागि जिल्लामा ‘तपाईको माक्स खोइ’ अभियान समेत सञ्चालन गरिएको छ भने यदि माक्स नलगाई हिड्डुल गर्ने तथा निर्देशन पालना नगर्नेलाई कारवाही समेत गर्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
तनहुँको पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि तालिम र प्रशिक्षण जस्ता कार्यक्रमलाई भर्चुअल माध्यमको प्रयोग गर्न तथा सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न तथा निर्धारित जनस्वास्थ्यका सबै मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । यस्तै, भारत लगायत अन्य मुलुकबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको निग्रानी सम्बन्धित टोल विकास संस्थाले गर्नुपर्ने संकट व्यवस्थापन केन्द्र तनहुँले तयारी गरेको छ ।










