दमौलीमा डेंगी संक्रमण दैनिक बढ्दै, दमौलीका ६८१ जनामा डेंगी संक्रमण

दमौली : तनहुँको सदरमुकाम दमौलीमा पछिल्लो केही दिन यता डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । गत वर्ष महामारिकै रुप लिएर फैलिएको डेंगी संक्रमण यस वर्ष पनि दैनिक बढ्दै जान थालेको छ ।
स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार व्यास नगरपालिकामा ६८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । दमौली लगायतका आसपासका क्षेत्रमा पछिल्लो केही दिन यता डेंगी संक्रमण फैलदै गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार तनहुँका नौ स्थानीय तहका २ हजार ७१८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्ताको अवधिमा तीन सय डेंगी संक्रमित बढेको कार्यालयकी पब्लिक हेल्थ नर्स पुजा कुँवरले जानकारी गराइन् ।
उनका अनुसार जिल्लाका आँबुखैरेनीमा सबै भन्दा बढी संक्रमित भएका छन् । कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार आँवुखैरेनीमा १ हजार ४३४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा ३५६, भिमाद नगरपालिकामा १७, भानु नगरपालिकामा ३६, म्याग्दे गाउँपालिकामा ३०, बन्दीपुर गाउँपालिकामा १३५, ऋषिङ गाउँपालिकामा ३, देवघाट गाउँपालिकामा १३ संक्रमित छन् भने बाहिरी जिल्ला घर भएका १३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका घिरिङ गाउँपालिकामा भने हालसम्म डेंगी संक्रमित भेटिएका छैनन् ।
एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण भएको पब्लिक हेल्थ नर्स कुँवरले बताइन् । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए ।
पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।










