सन्दर्भ – विश्व पर्यटन दिवस : दमौली, पर्यटन र पराशरको तपोभूमि
के.बि. मसाल

मानिस पर्यटकको रुपमा अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि अहिले विभिन्न ठाउँमा पुगि राखेका हुन्छन। सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोलि वर्यटकहरुमा होड नै चलेको छ भन्दा पनि हुन्छ । पर्यटनको लागि नेपालमा प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदा धेरै छन ।
तर पनि तनहुँ जिल्लामा ऋषिमुनि तथा सिद्धहरुले लामो समयसम्म साधना, एवं सिद्धिप्राप्त गरेका तपोभूमि, पर्दछन। तनहुँमा ज्ञानभूमि, सिद्धभूमि र पुरातात्त्विक, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका स्थलहरु धेरै छन् । पर्यटकहरु तीर्थाटनका लागि सत्य,त्रेता र द्वापर युगमा ऋषिमहर्षि तथा सिद्धहरुले योगसाधना, ज्ञान तथा साहित्य सिर्जना गरी ज्ञान दिएका हुनाले तनहुँ तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि आश्रमहरुधेरै छन । जुन कारणले गर्दा तीर्थाटनका पर्यटकहरु तनहुँको दमौली र देवघाटमा धेरै पुग्दछन । देवघाट विश्वसम्पदा सूचीमा सूचीकृत छ भने अन्य विश्वसम्पदा सूचीमा सूचीकृत हुने क्रममा छन। अनुसन्धानकर्ताको ध्यान विश्वसम्पदा सूचीमा सूचीकृत हुन नसकेका सम्पदा तर्फ पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन ।

तनहुँ दमौलीको सेती र मादी नदीको संगम तीर्थाटन गर्नको लागि तपोभूमी मानिन्छ । महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हो । जहाँ शिवपञ्चायन मन्दिर र मन्दिरको केही तलपट्टि व्यासगुफा छ । त्यहीँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको इतिहास छ। व्यास गुफाको पारिपट्टी परासर गुफा छ । परासर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ। अठार पुराणका रचयिता महर्षी वेदव्यास जन्मिएको तनहुँको दमौली ज्ञान र सभ्यताको तपोभूमिका रुपमा विकास हुन थालेको छ । पूर्वीय सभ्यता र ज्ञानको महाभारत, १८ पुराण र श्रीमद भागवतका रचयीता महर्षि वेदव्यास अर्थात श्रीकृष्ण द्वैपायनको १०८ फिट अग्लो मुर्ति निर्माणको काम पनि सुरुवात भएको छ। वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेका थिए । पछिल्लो समय व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटनको बिकास गर्न पुर्वाधारका काम पनि भै रहेको छ ।
पराशर ऋषिको आश्रम दमौलीमा सेती र मादी नदीको सगम स्थलमा पर्दछ। गण्डकी माहात्म्यमा मादी र सेतीको सुन्दर दोभानको द्वीपमा अवस्थित गुफालाई पराशर ऋषिले तपस्या गरेको तपसिद्धिप्रदायिनी गुफाका रुपमा लिने गरिन्छ । पराशर ऋषिलाई संस्कृत साहित्यमा कुनै प्रसगमा ऋषि बशिष्ठका छोरा र कतै नाति पनि भनिएका सन्दर्भहरु पाइन्छन् । पराशरलाई पुराणहरुमा सप्तर्षिमध्ये एक तथा ऋग्वेदका मन्त्रद्रष्टा ऋषि मानिएको छ । हिन्दुहरुको अति महत्वपूर्ण धार्मिक कानुन मानिने पराशर स्मृतिको रचना यिनले नै गरेका थिए। ऋषि पराशर हिन्दु समाजमा पराशर गोत्र प्रवर्तक ऋषि हुन् । आश्रम नजिकै शुक्लेश्वर महादेव मन्दिर तथा पाटीजस्ता पवित्र स्मारक पनि छन् । पौराणिक साहित्यमा उल्लेख भएअनुसार प्राचीन कालमा एकजना माझीले मादी र सेती नदीको संगमस्थल व्यासगुफा नजिकै माछा मार्न लागेका थिए । माच्छा मार्ने क्रममा गर्भधारण गरेको माछा जालमा पर्न गयो । माछाको पेट चिरेर हेर्दा अत्यन्त सुन्दर बालिका फेला परिन् ।

माच्छा मार्नेमाझी निसन्तान थियो । माच्छाको पेटबाट निस्किएकी बालिकालाई लालनपालन गर्दै आफ्नो काम समेत सिकाउँदै गयो । माझीसंग सधै डुंगामा हिड्दा वालिकाले डुङ्गा चलाउन पनि जानेकी थिइन । एकदिन बालिकाले डुङ्गा चलाउने बेला परासर ऋषि भेटिए । सुन्दरी बालिकाले डुङ्गा चलाएको देख्दा परासर ऋषिलाई यौन उन्माद चढयो । उनले यौन प्रस्ताव राखे । बालिकाले दिउँसो उज्यालो भएको बेला यस्तो काम गर्न हुँदैन भन्दै आफू माछाबाट जन्मिएको र शरीरमा समेत माछाको गन्ध आउने कुरा बताइन् । तर ऋषिले यौन तृष्णा मेटाउन उतिखेरै कुहिरो उत्पन्न गराए। माछाको गन्ध मेटाउन अत्तर समेत श्रृजना गरी यौन तृष्णा मेटाए । यसरी डुङ्गामा गर्भवती भएकी मत्स्यकन्याले व्यास ऋषिको जन्म दिइन् । जुन कारणले मत्स्यागन्धाको रुपमा छाब्दी बराहीलाई मान्ने गरिएको छ। छाब्दी व्यास नगरपालिकाको वडा नं. १४ मा पर्दछ ।
पछिल्लो समय व्यासभूमिलाई आन्तरिक पर्यटनको क्षेत्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन पूर्वाधारको बिकास र विविध धार्मीक कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दुधर्मावलम्वी र ओमकार परिवारको मूल तीर्थस्थल वनाउने उद्देश्यले केही वर्ष अगाडि व्यासक्षेत्रमा १८ महिने अखण्ड हरिनाम सम्पन्न पनि भएको थियो । वि.सं. २०४१ मा योगी नरहरिनाथले कोटीहोम को बेलामा धर्मसभामा महर्षि वेदव्यासको २८औ अवतार दमौलीमा भएको कुरा उठाउनु भएको थियो । आजभन्दा करिब ५५ सय वर्ष अगाडी व्यासको जन्म दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । सत्यवती माछाको स्वरुपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको छ ।

पूर्वीय धार्मिक ग्रन्थहरुमा वर्णन गरिेएअनुसार तनहुँको दमौली विशिष्ट देवभूमि हो । खोज अनुसन्धान गर्ने पर्यटकहरुका लागि दमौली त्यस्तो भूमि हो, जहाँ देव, दानव, ऋषिमहर्षि, अप्सरा, सिद्ध, योगी, जोगी, सन्त, महन्त, विद्वान्, विदुषी, पितृ लगायत पशुपंक्षीहरुले समेत जप, तप, योग तथा साधनाका माध्यमबाट ज्ञान, सिद्धि र मोक्ष प्राप्त गरेका स्थलहरु छन । जुुन कारणले दमौलीको सेती र मादी नदीको संगम स्थललाई ज्ञान, सिद्धि र मोक्षप्रदायिनी पवित्रस्थल मानिन्छ । दमौलीमा प्राचीन कालदेखि नै ऋषिमहर्षिहरुले आश्रममा बसेर तपस्या गरे । उनीहरुबाट नयाँनयाँ ज्ञान तथा प्रज्ञाको आविष्कार र काव्यकीर्तिहरु रचना गरिए । ब्रह्म, जीव तथा जगत् जस्ता विषयका बारेमा सिद्धान्त उत्पादन गर्ने कार्य भयो । वास्तवमा ती ऋषिमहर्षि तथा उनीहरुले हजारौँ वर्ष आफ्नो आश्रय बनाएका आश्रमहरु इतिहास, समाज तथा संस्कृतिका बारेमा शोधखोज गर्नेहरुका निम्ति महत्वपूर्ण विषय बन्न सक्दछ ।
दमौलीमा मात्र नभएर प्राचीन समयमा आश्रम शिक्षाआर्जन, जपतप, सिद्धि तथा अलौकिक चामत्कारिक र शक्ति प्राप्तिका लागि ऋषिमुनितपस्वी तथा सिद्धहरु पवित्र बासस्थान अर्थात आश्रम बनाएर बस्ने गर्दथिए। प्राचीन कालको आश्रमकोे महत्व एवं उपयोगितामा हिजोआज पनि त्यति ह्रास आएको छैन। प्राचीन कालका नेपालमा रहेका अत्रि आश्रम, और्व आश्रम, कपिल आश्रम, गण्डर्षि आश्रम, गौतम आश्रम, दुर्वासा आश्रम, देवदत्त आश्रम, ने मुनिको आश्रम, पराशर आश्रम, पाणिनि आश्रम, पुलस्त्य आश्रम, पुलहाश्रम, भरत आश्रम, भृगु आश्रम, मरीचि आश्रम, माण्डव्य आश्रम, वशिष्ठ आश्रम, वाल्मीकि आश्रम, विभाण्डक आश्रम, विश्वामित्र आश्रम, व्यास आश्रम, शमीक आश्रम, शालङकायन आश्रम, श्रृंगा आश्रम र हरिहरजस्ता आश्रमहरु अहिले पुरातात्त्विक, ऐतिहासिक, धार्मिकस्थल भएका छन । जुन आश्रमहरु सांस्कृतिक, सामाजिक परम्परा, लोकमिथक एवं पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छन् ।

हिन्दुधर्ममा विश्वास राख्ने कतिपयले ऐतिहासकि आश्रम र देवालयहरुमा विभिन्न यज्ञयज्ञादि, होम, धार्मिक अनुष्ठान, सांस्कृतिक उत्सव, उपनयन, विवाह, अन्त्येष्टि जस्ता संस्कारगत कर्म गर्दछन । धार्मिक तथा सांस्कृतिक सन्दर्भले मात्र होइन आश्रमहरु पुरातात्विक एवं ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण सम्पदा मानिन्छन् । कतिपय आश्रमस्थलहरुमा बेलाबखतमा गरिएका अन्वेषण तथा उत्खननबाट मूल्यवान् पुरातात्त्विक सामग्री प्राप्त भएका छन् । आश्रमहरुमा देव, दानव, पितृ, ऋषिमुनि, तपस्वी, सिद्ध, योगी, जोगी, सन्त, महन्त, विद्वान्, विदुषी, अप्सरा, भूतप्रेत, धामीझाँक्री आदिका महत्वपूर्ण र रोमाञ्चक लोकमिथक जोडिएको इतिहास पाइन्छ । नदीकिनारका दोभान तथा त्रिवेणी, गुफा, कन्दरा, वनजगल, उद्यान एवं एकान्त स्थलमा रहेका आश्रमहरु तीर्थाटन पर्यटकहरुका लागि महत्वपुर्ण स्थल मानिन्छन ।
आजभोली दमौलीमा जाने धेरै पर्यटकहरु व्यासको जन्म र पराशरको तपोभूमिका बारेमा जिज्ञासा राख्दछन। कतिपय पर्यटकहरु सेती र मादी नदीको सगम स्थलमा पुग्दछन । ब्यास गुफा र सेती नदी तरेर पराशरको तपोभूमिमा पुग्दछन। त्यहाँ भएका बिभिन्न मठ मन्दिरको दर्शन गर्दछन । त्यसपछि तीर्थाटनका पर्यटकहरु छाब्दी बराही पुग्दछन । ब्यासकी माता सत्यवती र परासर ऋषिसंग जोडिएको छ। छाब्दी मगर भाषामा राखिएको नाम हो । छाब्दी बराही मन्दिर भन्दा माथी पहाडमा कुलुङ नाम भएको मगर गाउँ छ । कुलुङ गाउँबाट बग्दै आउने पानीको झरना केहि तल आए पछि हराउछ। त्यहि दबिएर हराएको पानी छाब्दी बराहको पोखरीमा निस्कन्छ । मगर भाषामा दबिएको पानीलाई छाच्छोडी भनिन्छ । छाच्छोडी भन्दा भन्दै बोल्ने क्रममा छाब्दी भएको कुरा स्थानीय मगर जातीहरुले बताउछन्। व्यास ऋषिको जन्म छाब्दी बाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रुपबाट जन्म भएकोले कुण्डको नाम मच्छेकुण्ड रहन गएको हो । आमाको पूजाको लागि व्यास ऋषिले छाब्दी बराहीमा माछाको पूजाआजा चलाएको मानिन्छ ।

आज भन्दा तीनसय बर्ष अगाडि सम्म छाब्दी बराहीको पहिचान हुन सकेको थिएन । वि.सं. १८०० जेष्ठ महिनाको ८ गते साँझ कन्याको भेषभुषामा छाब्दी गाउँको जहरसिंह आलेको घरमा गएर बास मागिन्। आलेले कन्यालाई भने–बास दिन सक्छु तर म गरिव छु घरमा खाने कुरा केही छैन भने । कन्याले ती आलेको कुरा सुनेपछि आफ्नो परिचय दिदै भनिन् म देवीको अवतार हुँ। म छाब्दीको जलकुण्डमा बस्ने गर्दछु । अबदेखि मेरो पूजाआजा आलेको सन्तानले चलाउनु भन्दै ती कन्या अलप भइन्। त्यस पछि जहरसिंह आलेले छाब्दीमा पूजा गर्न थाले । अहिलेसम्म पनि उनै आले मगरका सन्तानले पुजारीको काम गर्दै आएका छन् । तनहुँ जिल्ला मगर जातिको थलो पनि हो । बराही मगरजातीको मुख्य देवता हुन । तर छाब्दी वराहीमा तीर्थाटनको लागि सबै जातीहरु पुग्ने गर्दछन ।
छाब्दी बराही आजभोलि तीर्थाटन स्थलको रुपले मात्र नभएर पर्यटकीय दृष्टिकोणले पनि विकास हुन थालेको छ । आफूले मागेको बर बराहीले पु¥याइदिने विश्वासमा भाकल गरी बोका, कुखुरा, हाँस र परेवाको बली दिने तीर्थाटनका पर्यटकको भीड पनी दैनिक रुपमा बढदो छ। यातायातको सुविधाकै कारण केही वर्षयता छाब्दीमा पिकनिक जानेहरुको पनि उतिकै भीड हुने गर्दछ । छाब्दी खोलाको वातावरण स्वच्छ छ । हराभरा जंगल, चराचुरुङीको आवाज, छाब्दी खोलाको पहरामा टाँसिएको छाब्दी बराहीको मन्दिर र शान्त वातावरणले जो कोहीलाई पनि छाब्दी बराही पुगेपछि आनन्दको महसुस हुन्छ ।

छाब्दी बराहीमा तीर्थाटनका पर्यटकहरुलाई खान बस्नको लागि कुनै समस्या पर्दैन । बराही मन्दिर नजिकै होटल र जलको सुबिधा छ । तर ग्रामीण परिवेश र मगर संस्कृतिमा रमाउन चाहनेका लागि कुलुङ गाउँको होमस्टे मा पुग्न सकिन्छ। कुलुङ शब्द मगर भाषाको हो । मगर भाषामा बोल्ने क्रमका कुलुङलाई कुरुलुङ भन्ने गरिन्छ। कुरुलुङ भनेको नेपालीमा शत्रुलाई प्रहार गर्ने ढुङगा भन्ने भाव हुन्छ । छाब्दी बराही देखि करिव ३ किलो मिटरको दुरीमा रहेको कुलुङ गाउँ जान तरेली परेको उकालो बाटो पैदल यात्रा गर्नु पर्दछ । अथवा पैदल यात्रा गर्न नसक्नेले सदरमुकाम दमौलीबाट पूर्व दक्षिणतर्फको मोटरमार्गबाट पनि कुलुङ गाउँ पुग्न सकिन्छ । कुलुङ गाउँका ६० घरमध्ये करिब ४५ घर मगरकै छ। मगरहरुको कौरा नाच कुलुङ गाउँका अर्को आकर्षण हो ।
दमौली जादा मानहुँकोट पुगेन भने उसको यात्रानै अधुरो हुन्छ । मानहुँकोटको बारेमा हिजोआज जताततै चर्चा हुने गर्दछ । दमौली बजारमा कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न दैनिक हजारौँ पर्यटक मानहुँकोट पुग्दछन् । मानहुँकोटबाट विशेष गरी दमौली बजार कुहिरोको घुम्टो ओढेको दृश्य सूर्योदय र सूर्यास्तमा मनमोहक देखिन्छ । अर्को तर्फ मानहुँकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायत हिमश्रृंखला मात्र नभएर दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको डयाम र निर्माण स्थललगायत मनोरम ठाउँ व्यास नगरपालिकाको १४ वटै वडाको भूगोल समेत अवलोकन गर्न सकिन्छ ।










