खसहरुको कुलदेवता मष्ट : एक परिचय

१, विषय प्रवेश –

पहाडी खस समुदायको आफ्नै लोकसंस्कृति र परम्परा रहेको छ । खसहरुको प्रागऐतिहासिक परम्परा भनेको नै मष्ट संस्कृति हो । मष्ट संस्कृतिको गहन अध्ययन चिन्तन मनन हुनु जरुरी छ । मष्टदेवताको कुनै स्वरुप हुँदैन । मष्टको पूजा धामीका माध्यमद्वारा हुने गर्दछ । धामीहरुले मष्ट आव्हान गर्दा र मष्टचढेको बेलामा धामीले पतुर्ने भाषा भोटबर्मेली परिवारको हुने गर्दछ। यसैले खसहरु पनि मानसरोवर क्षेत्रबाट कर्णाली प्रदेश आएका हुन भन्नै पर्दछ । वास्तवमा मष्ट शान्त, दयालु र चाँडै खुसी हुने देवताका रुपमा मानिन्छन् । यस्ता महान दयालु देवताको वास्तविकता र खसहरुको लोकजीवन अध्ययन गरी जनसमक्ष उजागर गर्नु हामी सबैको परम दायित्व हो तर यस सम्बन्धी गहन अध्ययन विना सम्भव पनि देखिदैन । खसहरुले विगत देखि आजपर्यन्त अप्नाएको लोकजीवन र उनीहरुले व्यवहरित गरेको लोकसंस्कृतिहरुको बारेमा थाहा पाउन सक्दछौं । मष्टाको प्राचिनता तथा तथ्य प्रमाणका आधारमा पुरातात्विक अवशेष र लिखितप्रमाणका आधारमा मष्ट पूजालाई प्रकृति पूजा भन्ने गरिएको हो । वास्तवमा यो प्रकृति पूजा लगभग २० हजार वर्ष देखि सुरुआत हुँदै आएको हो भनेर युवा लेखक युभान नोआ हरारीको मत रहेको छ ।

मष्टको पूजा मष्टको कुलधामीका माध्यम तान्त्रिक विधिले गर्ने परम्परा रहेको छ । कुलदेवताका धामी मार्फत व्यक्त गरिएका कायाकैरन एवं ७००० वर्ष पूर्वदेखि आफ्ना पूर्व वंशजहरुले गर्ने गरेको मष्ट तथा कुलायन पूजा आज पनि खस समुदायका श्रीपाली बस्न्यातहरुले बागलुङ, सुरखेत, पोखरा, गोरखा, काठमाण्डौ, संखुवासभाको आँखीभूइ र धनकुटाको लेगुवामा विधिवत सुरुआत गरी मष्ट प्रतिको धार्मिक अनुष्ठान र वंशजहरुको परम्परागत संस्कृतिको जगेर्ना एवं संरक्षण गर्ने कार्यको निरन्तरता दिंदै आएको पाइन्छ । निराकार उपासनाका प्रतीक अर्थात आकृति स्वरुप एवं मूर्ति पूजाका विरोधी खसहरु प्रकृतिको प्रतिकात्मक ध्वजा सहितको लिङ्ग घण्टा, चमर, डमरु, हातहतियार, राष्ट्रियताको प्रतीक निशान आदिलाई आफ्नो आराधनाको सर्वस्व र साधनाको वर्चस्व मान्ने गर्दछन् । कहीं कही मष्ट देवताको गर्भगृह भित्रै मन्डालीलाई कुँवरपाठीको भोग दिइ पुजा गरेको पाइन्छ भने कहीं कही मौलो राखेर मौलोमा बलि दिएपछि धामिहरुले बोको तथा साँडको रगत चुस्दै मष्ट माण्डौ (मन्दिर) घुमेको परिक्रमा गरेको पनि देखियो ।

वास्तवमा मष्ट शाकाहार देवता हुन् । यसैले मष्टलाई शिव अंश मानेर सात्विकी देवताको रुपमा पुजन गरिन्छ । मष्टको पूजामा मष्ट थानमा रगतको छिटा पर्‍यो भने अनिष्ट हुने विश्वास रही आएको छ । मष्टका भान तथा बाहनहरुलाई खुसी पार्न र मष्टको सुरक्षा गर्न सक्ने शक्तिशाली बनाउन ५२ वीर १६ मसानी, लगायतका मष्ट (शिव) गणहरुलाई बलि दिने प्रथाको सुरुआत भएको हो । प्रकृति प्रेमी खसहरुको कुलायन महापुजामा कुलका धामी, लोकका त्राणदाता शिवका प्रतीक मस्तकेश्वर वीरभद्र, आद्याशक्तिकी प्रतीक दुर्गाभवानी महाकाली तथा सुर्मादेवी र लोकका त्राणदाता वायु (मरुत्तेश्वर)का धामीहरुले पूजामा कम्पन हुँदा कहेको कैरनबाट हालसम्म ज्ञात हुन आएका धामी तथा डाङ्ग्रेहरुको संक्षिप्त इतिहास, खसहरुको कुलायन पूजा विधि र यस पूजाको सुरुदेखि अन्त्यसम्म भएका केही रोचक पक्षहरुका विषयमा प्रष्ट गर्ने चाहना रही आएको छ। कुलायन देवताको चर्चा गर्दा मष्टदेवता मस्टको व्युत्पत्ति, उद्भव, मष्टमण्डली र भवानीको परिचयका बिषयमा प्रष्ट पार्नु पर्ने आवस्यकता महसुस गरेको छु।

२, देवता र राक्षसहरु भन्नाले के बुझिन्छ –

राम्रो र असल काम गर्ने आदर्शवान व्यक्तिहरुलाई देवता र अरुलाई दुःख पिर दिनेहरुलाई राक्षस भन्ने चलन हाम्रा पूर्वजहरुको विशिष्टीकरण हो। इरानीहरुको जरथु्रस धर्मको धार्मिक ग्रन्थ अवेस्तामा पनि देउतालाई “असुर” र राक्षसलाई “दएव” भनिएको पाइन्छ । यही असुर शब्द ऋगवेदमा नराम्रो अर्थमा १५ पल्ट र राम्रो अर्थमा ९० समेत १०५ पटक प्रयोग गरिएको पाइएको छ । आर्यहरुको दुइखाले बगालको बीचमा भएको बैमन्स्यताले गर्दा आपसमा तकरार परेको पाउँदछौं । वैष्णवहरुले प्रतिपादित गरेको वर्णाश्रम धर्म नमानेकै कारण भगवान शिवलाई पनि अथर्ववेदमा व्रात्य भनेर हेपिएको छ । उनै शिवका अनुयायी खसहरुलाई झन स्वतहः ब्रात्य जाति भनेर खसालिएको हो । वैष्णव र शैव बीचको लामो अन्तर संघर्षमा शिव पक्षको विजय भएपछि वैष्णवहरुले ब्रहृमा, विष्णु, महेश्वर समेत तीनै देवतालाई समान शक्ति भएका देवताको स्वरुपमा स्वीकारेका हुन् भन्न सक्दछौं । त्यही बेलादेखि देवता र असुरको शाब्दिक अर्थ परिवर्तन भएको पाउँदछौं। हाम्रा मिथिला क्षेत्रमा लेख्य भाषमा स्थायी लेखेता पनि कथ्य भाषामा अस्थायी र अस्थायीलाई अस्थायी भनेर बोलिन्छ । त्यसरी नै बेदमा पनि सोही शब्द सुरको अर्थ देवता र असुरको अर्थ राक्षसमा रुपान्तरित हुन पुगेको होला । एकले अर्कोलाई नीच देखाउने, आफै ठूलो र सभ्य हुँ भन्ने देखाउने प्रयासमा आफुलाई देवखलक र अरुलाई राक्षसखलक भन्न भ्याएका नै हुन् । हामी पाल्पा बस्नेलाई पाल्पाली, गोर्खा बस्नेलाई गोरखाली भने झैं डेन्युव नदीको दायाँवायाँ किनारमा बस्न जातिलाई डेनुबेली भन्न थालियो होला । त्यही डेनुबेली शब्दको घर्षित स्वरुप दानव बन्न गएको हो भन्न सक्दछौ । इरानी इराकी तथा अरव मुलुक निवासी खसहरुलाई र चिनीया तथा मंगोलीयनहरुलाई राक्षस जातिमा दर्ज गरिएको हो । मनुस्मृती, महाभारतमा उल्लेख गरिएका झल्ल, मल्ल, नट, करण, खस र द्रविणहरुलाई पाप योनीबाट जन्मिएका वर्णाश्रम धर्मच्यूत ब्रात्य जाति भनिएको छ । यिनै यक्ष, गन्धर्व, दरद पिचास भनेर हेपेको र घृणा गरेको पाउँदछौं । यक्ष जातिलाई खस, चीन तथा मङ्गोल जातिलाई दरद र पिचास, किराँत जातिलाई किन्नर र द्रविडहरुलाई बाहीक जाति भनेर हेपेको पाउँदछौं ।

३, मष्ट भनेको के हो

खस जातिले मान्दै र पुज्दै आएको निराकार देवताको नाम नै मष्ट हो । योगी नरहरिनाथको भनाइ अनुसार मस्तक (शिर) शब्दबाट मष्ट शब्द उत्पति भएको हो भन्नु भएको छ । सुरुमा मष्टदेवता एउटा मात्रै थिए । मष्ट देवताको नाम थपिदै जाँदा बाह्रमष्ट भन्न थालियो । खसहरुले मान्दै आएका बाह्रमष्टलाई कथित आर्यहरुले हिन्दुकृत गर्दै बाह्रमष्टलाई वराहमष्ट भनेर सम्बोधन गर्न थालेको पाउँदछौं । पछि आएर वारामष्ट नै बनाइ दिए । यिनै बाह्रमष्टलाई बढाउँदै अहिले १८ मष्टो र ८४ उपभेद मान्ने गरेको पाउँदछौं। तर खोतल्दै जाँदा अहिले १२४ उपभेद भेटिएको कुरा प्रकाशमा आएको छ ।

४, मष्टको बाहन के हो –

मूल रुपमा मष्टको बाहन घोडा हो । तर भेंडा, चितुवा र जाड्या पनि मष्टको वाहनका रुपमा मानिन्छन् ।

५, मष्टदेवता नै वेदका रक्षक हुन –

नेपाल बहुजाति र बहुधर्मको विकास भएको भूमि हो । महर्षि वेदव्यासले दमौलीको व्यास गुफामा बसेर चार वेद अठार पुराण र अनेकौं स्मृतिको लिपिबद्ध गरेका थिए भने वोनधर्मका संस्थापक वोनपा शेरावले हुम्ला जिल्लामा वन झाँक्रीबाट दिक्षा प्राप्त गरेर वोनधर्मको सुत्रपात गरेका थिए । त्यही धर्म अहिले स्याङ्गसुङ्ग सभ्यताले परिचित छ । कपिलबस्तुका शाक्यसिंह सिद्धार्थ गौतमले बौद्धधर्मको सुत्रपात गरे । त्यही धर्मलाई नेपालका राजकुमार गुरु पद्मसम्भवले पाँचौं एवं छैटौ शताब्दीको आसपासमा वोनधर्मलाई विस्थापित गर्दै तिव्वत र नेपालमा बौर्द्धधर्मको बलियो जग बसालेका हुन् । वैदिक सनातन धर्मको विकास हुनु पूर्व नै नेपालमा मष्टधर्मको विकास भइसकेको थियो । आफनो अध्ययनको गहन निष्कर्षमा मष्ट नै वेदको रक्षक भएको उद्घोष प्रेम कैदीले गर्नु भएको हो । एक कक्षा पनि नपढेका मष्टको भान्जा वाणशालाका धामिले पतुर्‍यो भने वेदको सबै ऋचा खरर पतुर्न सक्दछन् । बौद्धधर्मका लामाहरुले लिपिबद्ध बौद्धशास्त्र पाठ गर्दछन तर वोनधर्मका गुरुङहरुका घ्याप्रिङ, झांक्री तथा पच्युहरुले मुखाखार सरर भनेर धार्मिक कार्य सम्पन्न गरेको पाइरहेका छौं । वास्तवमा संस्कार शास्त्र भन्दा जेठो भएकोले सांस्कृतिक परम्परालाई अनुशासित बनाउन र एकरुपता ल्याउन पछि विद्वानहरुले यस्लाई लिपिबद्ध गरेका हुन भनिन्छ। अन्ततः हजारौ वर्षको व्यवहारिक अनुभवलाई भाषामा लिपिबद्ध गर्ने परम्पराको सुरुवात भयो । सनातन हिन्दु धर्मका महर्षि वेदव्यास श्रीकृष्ण द्वैपायनले श्रुतिमा रहेको वेदलाई चार भागमा लिपिबद्ध मात्र गरेका हुन भनिन्छ । तर मष्टधर्मको त्यस्तो कुनै पनि लिखित धर्मशास्त्रको दस्तावेज हालसम्म पाउन सकेका छैनौ ।

प्राकृत धर्मालम्वी मष्ट अनुयायीहरुको धर्मग्रन्थ सम्बन्धमा एउटा लोक किंबदन्ती रहेको पाउँदछौं । एक पटक राक्षसहरुले धवलपुरलाई टुक्राटुक्रा पारेर मार्ने योजना बनाए रे । मन्दिरको नजिकै बसेर धवलपुरले वेद पढिरहेको देखेर राक्षसहरुलाई असहृय भयो रे । असुरहरुले धवलपुरलाई मार्ने योजना बनाए रे । धवलपुरले पढिरहेको वेद जलाउने र वेदका वाचक धवलपुरलाई पनि मार्ने षडयन्त्र थाहा पाएर मष्टको भान्जा वाणशालाले बेदलाई मष्टमाण्डौ नजिकै शिलामा परिणत गरी दिएर राक्षसहरुका हातबाट मामा धवलपुरको ज्यान र वेदलाई जलाउनबाट जोगाएका थिए रे । त्यही बेला देखि मष्ट उपासकहरुले भान्जालाई झोलीको देवता मान्ने गरेका हुन्। झोलीका देवतालाई मष्ट सँगै शिला थापना गरेर भाञ्जाको पनि पूजा गर्ने परम्परा बसाएका हुन् भनिन्छ । दमौलीको व्यास प्रयागमा त्यही शिला जयशिला स्मारक भएर रहेको छ ।

अर्को कथा अनुसार कुशा भट्ट चारधामको तीर्थ यात्रा सम्पन्न गरी घर फर्कंदै गर्दा शङ्द्वारमा एउटा शिला फेला पारेछने । उक्त शिलालाई आफ्नो झेलीमा राखेर संगै ल्याएछन्। एक दिन राती सपनामा उक्त शिलाले आफु सैपालहिमालको काखमा बस्न चाहेको व्यक्त गर्‍यो रे । कुशाभट्टले उक्त शिलालाई ढंडारमा ल्याएर स्थापना गरे रे । खर्कमा रहेको दही बनेलले चोरी खाइदिदा जसराज गोठालाले बनेल समाउन खोज्दा मुर्छा पर्‍यो रे । बिउँझदा गोठालले पतुर्दै म बाबिरा मष्ट हुँ मेरा माण्डौ बनाई गाभिरमा खोपो राखी मेरो र बहिनी भवानीको पूर्णिमाको दिन पूजा गर्नु भेकोले सोही अनुसार पूर्णिमाको दिन पूजा हुँदै आएको छ ।

यसैले मष्र्टधर्म नै सनातन धर्मको जननी हो भन्न सक्दछौं । इरान इराक तर्फ मष्टको पूर्व रुपलाई अहुरमज्दा भन्ने गरिन्छ । मष्टधर्म मान्ने प्रथम व्यक्ति आदमनाथ हो । आदमलाई नै आदिनाथ भनिन्छ । भगवान शिवले अलकापुरी शकसिंह (बहादुर)लाई दिए । तिनै शकसिंह देवताका राजा इन्द्र तथा मष्टदेवता भए । नेपालको इतिहास तोडमरोडका साथ लेखेर राहुल सांस्कृत्यानले नेपालको इतिहाँस बिगारे । नेपालको इतिहास लेखनमा डिल्लीराज रेग्मी र योगी नरहरिनाथ देशको कुना कन्दरामा गए । योगीले त कमसेकम ५७३ पुस्तक रचना गरेका थिए रे । ती सबै पुस्तक प्रकाशन गर्न भन्दा कांग्रेस, पञ्च र बामपन्थी सरकारहरुले जलाएर सर्वनास गरे भन्ने कुरा समाजका आवाज डटकमको अन्तरवार्तामा प्रेम कैदीले बताउनु भएको छ ।

६, मष्टको स्वरुप कस्तो हुन्छ –

ओम कार स्वरुपमान शक्ति रुप देवीहरुको पूजन गरिएको हो । प्रकृति ओम कारको पहिलो मात्रा “अकार” नै विश्वरुप हो, जुन सक्रिय भएर नै विश्वरुपमा प्रकट हुन्छ। त्यसैले अमात्रालाई सृष्टिकर्ता ब्रहृमाको रुप मानिन्छ। ब्रहृमारुप अमात्राबाट नै प्रकट हुन्छ भने ब्रहृमा, प्रकृति र अकार तीनवटै एकै हुन। ६ ओमकारको दोश्रो मात्रा “उकार” स्वप्न अवस्था रुप हो । माया मोह विषयमा ज्ञात भएपछि मानव सान्सारिक विषय वासानाबाट तिक्त भई आत्मज्ञानको खोजीतर्फ लाग्दछ जसबाट उस्ले परमात्मा परेमश्वरमा लिन हुन पुग्दछ । ओमकारको तेश्रो मात्रा “मकार” शुषुप्ति रुप हो र प्राज्ञ हो, जसबाट विषय वासना परित्यक्त भै इश्वर प्राप्तिको अभिलाषा मात्र शेष रहेको हुन्छ । यसरी ओमकारको तिनै मात्राको सम्बन्ध प्रकृति, जीव र इश्वर तीनवटैसँग रहेको हुँदा भक्तजनहरु यी सम्पूर्णको अनुभव गर्दै अन्तमा परब्रहृममा नै लिन हुन्छन्। अतः विश्वको परमाणु जुन धुरीमा घुमिरहेको छ ति सम्पूर्णका केन्द्रिभुत ओमकार मात्र हो । जुन परम शिवतत्वको स्वरुप हो । खसहरुमा पनि श्रीपाली बस्न्यातहरु कुलायन देवता शिःसाकोटी महादेवतालाई प्रत्येक दिन “ओम ऐं सौं ह्रि” शिशाकोटी महादेवाय “कुलदेवताय ह्र्रि्र ओम स्वाहा” मन्त्र जप गरेर इच्छित वरदान प्राप्त हुने कुरामा विश्वास गर्दछन् । (मन्त्रमा- “अरुहरुको हकमा शिःसाकोटी महादेवाय” भनेको ठाउँमा आफ्नो कुलदेवताको नाम सम्झने)

७, मष्टो देवताको मन्दिर र मूर्ती हुन्छ हुँदैन –

सभ्यताको विकास क्रम सँगै मानिस जान्ने सुन्ने भयो । उस्मा ज्ञानको वोध भयो। ज्ञानको माध्यमबाटै के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा विचार गर्न सक्ने भयो । मान्छे देवता भन्दा जेठो छ । तथापि मान्छे स्वयंले मान्छेबाट देवताको सृष्टि भएको वकालत गर्न छोडेर इश्वरबाटै मान्छेको सृष्टि भएको सिद्धान्त प्रतिपादित गरेको महसुस भएको छ । मानिस आफैले बनाएको देवता तथा अदृष्य शक्तिलाई महान र आफैलाई सानो बनाएको पाउँदछौं । कता कता देवताको परिकल्पना सर्वप्रथम मानिसहरुलेनै गरेका हुन भन्न सक्दछौं । सबै धर्म भन्दा जेठो धर्म र प्राचीन देवता मष्टदेवता नै हुन । मष्ट अलौकिक देवता हुन । हिन्दु धर्ममा विभिन्न देवी देवताको भिन्न भिन्न आकार प्रकारका मूर्ति भएता पनि मष्टदेवताको मूर्ति र मष्टोको मन्दिर आजसम्म भेटिएको छैन । तर मष्टदेवताको सरसामान र प्रतीक राख्नको लागि कुलायन घर (घरथान) भने बनाउने गरिन्छ तर मन्दिरको स्थानमा मष्टदेवताको छाना नभएको मष्टमाण्डौ (थान) भने पाइएको छ । मष्टको थान रुखको फेद तथा ओडारमा बनाएको पाउँदछौं । मष्टदेवता धामिको अङ्गमा औत्येर आउने भएकोले मष्टको प्रतिनिधित्व पनि धामिले नै गरेको पाउँदछौं । धामिकै माध्यमबाट डाङ्ग्राले मष्टदेवताको पूजाआजा गर्दछन् । श्रीपाली बस्न्यातको कुलायन पुजाका पुजारीलाई धुपौरेको नाम दिएको पाउँदछौं ।

८, मष्ट शब्दको व्युत्पत्ति कसरी भयो –

मष्ट शब्दको उत्पति कसरी भयो भन्ने विषयमा विभिन्न विद्वानहरुको मत विभिन्न पाइन्छ । वायु खस आर्यहरुको अति प्राचीन देवता हुन । आफ्ना पूर्वजहरुको प्राणवायु यसै वायुमण्डलमा विचरण गरेको महसुस गरी पितृलाई देउताको रुपमा पूजा गर्ने खसहरुको विशिष्ट परम्परा हो । खस भाषामा पितृलाई वायु पनि भनिन्छ । संस्कृतमा त्यही वायु शब्दलाई मरुत शब्दले सम्बोधन गरिन्छ। मरुत्त पानी, आँधी, बेहरी (हावा) र बिजुलीका देवता पनि हुन् ।

मरुतको वास्तविक शब्दार्थ पानी र आँधी बेहरीको घर्षण स्वरुप प्रकट हुने विद्युतीय रुप हो । यही मरुत शब्द नै कालान्तरमा मस्त हुँदै मष्ट हुन गएको हो भन्ने भनाई रहेको छ । अर्को तर्फ मरुत्तास शब्द मरुत देवतासंग निकट सम्बन्ध राख्दछ । यही मरुत्तास शब्द क्रमिक रुपमा मउत्त-मउट्ट हुँदै मष्टको शब्दको विकास भएको भन्ने पनि छ । अर्कोतर्फ मरुत्तास शब्द मरुत देवतासंग निकट सम्बन्ध राख्दछ । यही मरुत्तास शब्द क्रमिक रुपमा मउत्त, मउट्ट, हुँदै मष्टको शब्दको विकास भएको भन्ने पनि छ । फारसीहरुको कुलदेवताको नाम मज्दा हो यही मज्दा शब्दबाट शब्द अप्रभँश भइ मष्ट बनेको हो कि भन्ने ठाउँ रहेको छ। हुनत सूर्ति र्साईले सम्बत १५४७ मा जारी गरेका एउटा कागजमा मष्ट शब्द फेलापरेको छ जस्लाई मष्ट सम्बन्धी सबै भन्दा पुरानो अभिलेख मानिन्छ । खश जातिका देवी-देवता जनाउने पारिवारिक शब्द मशु र बशु हुन् । स्थान विशेष मशु शब्दमा उच्चारण भेद फरक पर्दै जानाले मशु शब्दबाट मस, मष्ट हुँदै मष्ट हुन गएको नकार्न सकिन्न ।

संस्कृत शब्दमा मानिसको शीरलाई मस्तिष्क, मस्तक पनि भनिन्छ । मानिसको मस्तिष्कमा अपूर्व चेतनाशक्ति रहन्छ । मानिसलाई असतबाट सत्मार्गमा डोर्‍याउने महत्वपूर्ण चेतन शक्ति नै बुद्धि हो । यसैले शरीरको मस्तकलाई देवता मान्ने खसहरुको आफ्नै विशिष्ट परम्परा हो । यसैले मस्तकबाटै मष्ट शब्दको व्युत्पति भएको हो भन्न सकिन्छ। कसै-कसैले महादेवका मस्तक गणबाट मष्ट वा मष्टो शब्दको विकास भएको हो पनि भन्ने गरेका छन् ।

सत्यमोहन जोसीका अनुसार कर्णाली भेग तिर मान्छेलाई मन्ठ, मन्ठा वा मन्टा पनि भन्ने गर्दछन् । मष्टोको व्युत्पत्ति हुँदै जांदा मन्ठाले -मान्छले) मानेको देवताको नामबाट मष्ट हुन पुगेको हो । डा. सुरेन्द्र के.सी.

शिवका सहस्र नाम भित्र पर्ने महोष्ठ शब्दबाट रुप परिवर्तन हुँदै स्थानीय खस भाषामा महोष्ठ शब्दको बीचको अक्षर हो लोप भइ मष्ठ, मष्टो हुँदै मष्ट भएको हुन सक्दछ। योगी नरहरिनाथले मष्टलाई महेश्वरको अंश अवतार मानेका छन् । उनले अष्टमूर्ति महादेव शिवको -पृथ्वी, जल, तेज, वायु आकाश, चन्द्र, सूर्य र आत्मा) महा±अष्ट भुजौ)

-महाअष्ट, महाष्ट हुँदै मष्ट भएको पनि हुन सक्दछ । अर्को तर्फ मष्टो शब्द महा±इष्टबाट महेष्ट हुँदै मष्ट भएको पनि हुन सक्दछ ।

क) मष्टो निराकार र बाल ब्रहृमचारी देवता मानिन्छन्। मष्टोलाई पितृ स्वरुपमा वायु, प्रकृतिका प्रतिकमा लिङ्ग ध्वजा-पतका, रक्षाका सुचकमा हातहतियार, रशीला थापेर पुजा गरिन्छ । मष्टो र भवानीको साथै महाँकाल, भैरव लाटो, तेडी, समैजी भूतप्रेत, भुइयार, सासल्या, बज्रठिङ्ग्याल, खोल्या, वेताल जस्ता डुलुवा सेवकहरु र मष्टोका रिस्तेदारहरु भाञ्जा (वाणासुर), भाञ्जीको पनि पुजाआजा गर्ने गरिन्छ ।

ख) खसहरुले मानी आएका मष्टो देवतालाई आर्यजातिहरुको वेद र पुराणमा कही उल्लेख भएको नपाइएकोले खसहरु आर्य हुन भनेर ठोकुवा गर्ने ठाउँ रहेन ।

ग) मष्टको थान तथा घरमाण्डौमा भित्रै मष्टको गादी बनाइएको हुन्छ । कतै मष्टको गादी माटोको मैरोले बनाइएको हुन्छ भने कतै ढुङ्गाकै छपनीले बनाइएको पाइन्छ ।

घ) मष्टको थान, घरमाण्डौ र वनमाण्डौ प्रायस कैलाश मानसरोवर तर्फ फर्काएर बनाएको पाउँदछौं । मष्टथान नजिकै देवीथान र करिव २० मिटरको दुरीमा क्षेत्रपाल दूधेमष्टका थान बनाइएको हुन्छ ।

ङ) मष्टको पूजाआजामा धामी डांग्री, पुजारी, दमाई, गाइने र कविलास (कैलाश भाक्ने) नियुक्त गरिएका हुन्छन् ।

च) धामीपछि डांग्रीले कुलायन थान, कुलका भाँडाकुँडा र अरु सामाग्रीको रेखदेख र सुरक्षाको जिम्मेवारी सुम्पिएको पाइन्छ । तर गोरखा स्थित श्रीपाली बस्न्यातहरुको कुलायन मन्दिरको स्याहार सम्भार नभएपछि पुन :पछि सबै दाजुभाइको सहयोगमा व्यवस्थित गरिएको हो ।

छ) आप्टेको शब्दकोषमा महिष्ठको अर्थ महानदेवता तथा महादेव मानिएको छ । वेदमा शिवजीलाई महिष्ठ पनि भनिन्छ । त्यही महिष्ठ शब्दको घर्षितस्वरुप मष्ट भएको हुन सक्दछ । महिष्ठ मष्ट हुँदै नेपालीकरणमा महादेव भनिएको होला । स्थान विशेषले शिःसकोट शब्द बन्न पुग्यो । त्यही शिःसकोटका देवता शिःसाकोटी महादेव पुकार्न थालिएको हो भन्दा फरक नपर्ला ।

९, मष्टोको पुजा किन पूर्णिमाका दिन गरिन्छ –

कोही कसैले पञ्चमी अष्टमी तिथिमा मष्ट पूजा गरेता पनि खास गरेर पूर्णिमाको दिनमा नै कुलायन पूजा गर्ने परम्परा रहेको छ। यसै बारोमा फेला परेको एउटा सानो किंबदन्ती कहानी प्रस्तुत गर्न गइरहेको छु । विशेषगरी कुलपूजा भुन्टुधामीका परम्परादेखि चल्दै आएको बताउँछन् । हुन त तीर्थ व्रतको गर्नका लागि भारतका चारधाम जाने नेपालीहरुको पुरानो चलन हो । धेरै वर्ष पहिलो हाम्रा बाउबाजेहरु तीर्थ व्रत गर्न भारत गएका थिए रे । चारधामको तीर्थ यात्रा सकेर तीर्थालुहरु डोकोमा भारि बोकेर नेपाल फर्कदै थिए । घर फर्केर आउँदा डोकामा शिलाको नाममा एउटा ढुङ्गा पनि संगै ल्याएका थिए रे । तीर्थयात्रीहरुलाई बीच बाटोमा रासनपानीको साह्रै दुःखकष्ट पर्न गयो रे । दुःख कष्ट परेको बेलामा त्यो ढुङ्गाले खाना नपुग्दा एक मुठी चामलले पाँच दिनसम्मको गर्जो टारेको थियो रे । दुःखकष्ट पर्दा सहयोगी शिलालाई उनीहरुले साथैमा ल्याएका थिए रे । घर जाँदाजाँदै खड्का काजी र बाहुनबाजे सिञ्जापती राजाका दरवारमा पुगेछन् । सिञ्जापती राजाले डोकोमा के ल्याएका छौ भनेर सोद्धा खड्का काजीले ढुङ्गा ल्याएको भनेर जवाफ दिएका थिए रे । राजाले यस्को के काम छ भनेर सोधनी गर्दा यस्ले के गर्छ हामीलाई पनि थाहा छैन भनेछन् । तर जे होस यो ढुङ्गो साथै ल्याउँदा हामीलाई राम्रै भएको छ भनेर राजामा विन्ती बिसाए रे । हामीलाई दुःख कष्टमा सहयोग पुर्‍याएकोले हामीले संगै ल्याएका हौं पनि भनेछन् । तत्कालै राजाले जोतिषलाई आज के तिथि हो भनेर सोधी हालेछन् । अनायस जोतिषले पूर्णिमा तिथि हो भनेर जवाफ दिएछन । औंसीका दिनलाई पूर्णिमा तिथि भन्ने कस्तो ज्योतिष रहेछ भनेर सोधेछन । पात्रो हेर्दा औंसी नै देख्दा ज्योतिष पनि अलमलमा परेछन । अब मलाई राजाले सजाय गर्नै भए भनेर ज्योतिष डराएछन् । जे पर्ला पर्ला भनेर ज्योतिषले त्यो शीलालाई पुजेर आफुलाई परेको दुःख पोखेछन् ।

ज्योतिषको पीडालाई शान्त बनाउन शिला स्वयं बोल्यो रे । शीलाले ज्योतिषलाई काँसको थाल लिएर राजाको दरवार जान र काँसको थाललाई आकासमा उडाउन अह्रयाएछन् रे। त्यो थालले आकासमा पुगेर औंसीको दिनमा पनि पूर्णिमाको जुन देखिने छन भनेछन् । ज्योतिषले त्यसै गरे रे । नभन्दै काँसको थाल आकासमा पुगेर पूर्णिमाको जुन देखाइ दिए रे। केही केही जातिहरुले पञ्चमी र अष्टमी तिथिमा मष्टपूजा गरेता पनि धेरै जात जातिहरुले मष्टदेवता शक्तिशाली रहेछन भनेर त्यहि बेलादेखि पूर्णिमा तिथि पारेर मष्टो पूजा गर्न थालेका हुन भन्ने किंवदन्ति रहेको छ । तैपनि दुर्गा भवानीको सानिध्यमा रहने हुनाले शिवका गणहरुलाई रक्त बली दिने गरिन्छ । खशराजधिराज रिपु मल्लले नरबलि हटाएर नरिवल बलि दिने प्रथा चलाएको कुरा यात्रीजीले सेती दिग्दर्शनमा उल्लेख गर्नु भएको छ। बैसाख शुक्ल पूर्णिमा, बैशाख शुक्ल चर्तुदशी, जेष्ठशुक्ल पूर्णिमा, भाद्रशुक्ल पूर्णिमा, भाद्रशुक्ल कार्तिक शुक्लपूर्णिमा, मंसिर शुक्ल पूर्णिमा, पौष शुक्ल पूर्णिमा र माघ शुक्ल पूर्णिमामा मष्टको पूजा गर्ने परम्परा रहेको छ ।

अन्त्यमा बाह्रभाइ मष्ट, मष्टको ८४ उपभेद, नौ भवानीहरुको विस्तृत परिचय अर्को अङ्कमा समावेस गर्ने गरी यस लेखलाई यही बिट मार्ने अनुमती चाहन्छु ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker