भादगाउँमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहिचान र यससम्बन्धी चेतना दिन शिविर सञ्चालन गरिएको हो ।

मिलन योग साधना केन्द्र, मिलन टोल विकास सस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकको अभावमा यहाँका बिरामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता भएकाले सहज रूपमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य तथा स्थानीय केशबहादुर सुनारले जानकारी दिनुभयो ।

शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुपा पनेरुको नेतृत्वमा डा गरिमा गौतम, डा कोमल शाहलगायतको टोलीले प्रसूति तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउँदै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले घरआँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा बिरामीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविर सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”

योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताउनुभयो । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ । व्यास नगपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, पतञ्जली योग साधना केन्द्र तनहुँका अध्यक्ष मानबहादुर आले, मिलन योग साधना केन्द्रका अध्यक्ष कृष्णबहादुर थापालगायतले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुन्जेल बेलाबेलामा हुने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरबाट लाभ पुग्ने बताउनुभयो । शिविरमा एक सय २१ महिलाले स्वास्थ्य सेवा लिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker