दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला : स्थानीय उत्पादनलाई प्राथमिकता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी संघ नेपालले शुक्रबारदेखि तीन दिने व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला सञ्चालन गरेको हो ।
महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संघकी अध्यक्ष निर्मला मल्लले बताइन्। महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा मेलाले सहयोग पुर्‍याउने र मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाट समेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएको उनले बताइन्।
मेलामा तनहुँभित्रका संघमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका-३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ । मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको बताइन् ।
‘महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने कार्यक्रम हुँदैछ भन्ने जानकारीमा आएपछि दमौली आइपुगेका हौँ । मेलामा मुस्ताङमा उत्पादित अर्गानिक सामग्री बिक्रीका लागि राखिएका छन्’, रसाइलीले भनिन्, ‘सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ ।’
मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका-११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् ।
परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएको र यसले महिला उद्यमीलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको संघकी अध्यक्ष मल्लले बताइन । मेलामा ५० स्टल रहेका छन् ।
मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
मेलामा करिब ४० हजार दर्शक रहने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब रू सात लाख खर्च हुनेछ । लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी संघ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताइन । उनले भनिन् ‘अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग पुग्नेछ ।’
यस्तै, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको र तिनै उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताइन् ।
मेलामा स्थानीय तथा राष्ट्रियस्तरका ख्यात्रि्राप्त कलाकारको प्रस्तुति, महिलाको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने संघकी सचिव सरु श्रेष्ठले बताइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker