तमु ल्होसार पर्व मनाइयो

दमौली : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरी मंगलबार तमु ल्होसार पर्व मनाएका छन् । तनहुँका १० वटै पालिकामा रहेका गुरुङ समुदायले विविध कार्यक्रम गरी ल्होसार पर्व मनाएका छन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ मनाउने गरिन्छ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँदै आएका छन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
यस पर्वका अवसरमा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका थिए । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गर्नुका साथै विविध साँस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रम प्रदर्शन गर्नुका साथै संस्कार, सँस्कृति संरक्षण विषयमा विचार विमर्श गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।










