बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा खसेपछि मर्मतका लागि दुई दिन बन्द

बन्दीपुर : बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बन्दीपुर केवलकार मर्मतका लागि भन्दै दुई दिन बन्द गरिएको छ ।
केबलकारको दुई नम्बर पोलसंगैको भागमा रहेको लिग भाँचिएर डिब्बा लत्रिएपछि मर्मत सुधारका लागि दुई बन्द गरिएको बताइएको छ ।
लिगको तार चुडेर तल लत्रिएपछि एउटा डिब्बा भुइँ नजिकै झुन्डिन पुगेको स्थानीयले बताएका छन् । उक्त डिब्बामा केही पनि नबसेका कारण खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति नभएको बताइएको छ ।
लिग र डिब्बा लत्रिंदा ठुलो आवाज आएको र स्थानीयहरू के भएछ भनि हेर्दा केवलकारको डिब्बा खसेको अवस्थामा भेटिएको थियो । केवलकारमा केही समस्या आएकाले प्राविधिकहरु पोलमा चढाएर काम भइरहेको बताइएको छ ।

यस्तै, केवलकारमा समस्या आएपछि आज र भोली बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टियुभि अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरोन्नती गर्नुपर्ने भएकाले बन्द गरिएको बन्दीपुरहीलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराएका छन् ।
बन्दीपुरहीलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ भनेको छ । स्काई साइसाइक्लिङग, जीपलाइन सेवा र ड्राइभ इन रेष्टुरेन्टको सेवा भने नियमित रुपमा संचालनमा रहने बन्दीपुरहीलका अध्यक्ष शर्माले बताए ।
उनले स्थानीय व्यक्ति र शेयरधनीहरुका लागि सहुलियत कार्ड वितरण भइरहेकाले मौकाको फाइदा उठाउन अनुरोध गरेका छन् ।










