दमौलीमा ४२औं राष्ट्रिय जुनियर युवा रेडक्रस गोष्ठी
नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यतामा आगामी फागुन २२ र २३ गते दमौलीमा ४२औं राष्ट्रिय जुनियर र युवा रेडक्रस गोष्ठी गरिने भएको छ । आदिकवि भानुभक्त क्याम्पसको आतिथ्य र व्यवस्थापनमा हुने यस कार्यक्रमको तयारीका लागि विभिन्न बैठकहरू आयोजना गरी तयारीलाई तीब्रता दिइएको छ ।
तयारी गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पसका प्रधानाध्यापक, शिक्षक नायक र विभिन्न रेडक्रस सर्कलका सदस्यहरूको सहभागिता रहेको थियो । गोष्ठीमा जुनियर युवा निर्देशिका, विद्यमान ऐन र नियम लगायतका विषयमा छलफल गरिएको थियो भने, तनहुँ जिल्लाभित्र नेपाल रेडक्रस सोसाइटीका गतिविधिहरूको बारेमा पनि जानकारी गराइएको थियो। यस अवसरमा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले कार्यक्रममा सहभागी हुनु जिल्लाबासीका लागि गर्वको विषय रहेको बताए । उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबैलाई एकजुट भएर काम गर्न आह्वान गरे । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि क्याम्पस चयन भएकामा खुशी व्यक्त गर्दै कार्यक्रमको सफलताका लागि क्याम्पस सक्षम रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, तनहुँका उपसभापति नारायणी अधिकारी र विभिन्न शिक्षक नायकहरूको सहभागिता रहेको गोष्ठीसंगै आर्थिक उपसमितिको बैठक पनि आइतबार क्याम्पसमा सम्पन्न गरिएको छ। जहाँ २० लाखको बजेट तयार पारिएको छ। बैठकमा खर्चका शीर्षक र आम्दानीका स्रोतहरूको बारेमा छलफल गरिएको थियो । ४२औं राष्ट्रिय जुनियर र युवा रेडक्रस गोष्ठीको आयोजना तनहुँमा हुनु यो क्षेत्रका लागि गौरवको विषय भएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रमको सफलताका लागि सम्पूर्ण समुदायबाट सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष सुमन खड्काले बताए ।










