निजामती सेवा दिवसः कर्मचारी सेवाभन्दा प्रक्रियामुखी, पुरस्कार आफू नजिकलाई

शरद शर्मा

निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् ।

सरकारका नीति कार्यान्वयन गराउने तथा सेवाग्राहीको काम गर्ने संस्थाका रुपमा रहेको निजामती प्रशासन सेवा दिनुभन्दा बढी प्रक्रियामुखीमा अल्झेको आरोप लाग्दै आएको छ । कर्मचारीलाई ऊर्जाशिल र व्यावसायिक बनाउने उद्देश्यका साथ दिवसको थालनी गरिएको पूर्वमुख्य सचिव कोइराला बताउनुहुन्छ । “सबैका आ–आफ्ना दिवस हुन्छन् । हाम्रो पनि दिवस मनाऔँ भनेर मेरो पालामा दिवस मनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “जुन उद्देश्यका साथ दिवस मनाउन थालिएको हो । त्यो पूरा भएको छैन । दिवस कर्मकाण्डी मात्र भएको छ ।”

कर्मचारी बदनाम हुँदै गएकाले त्यसलाई सुधार गर्नका लागि दिवस मनाउन थालिएको भए पनि कुनै उल्लेखनीय सुधार हुन नसकेको उहाँको भनाइ छ । कर्मचारीले आफ्नो सेवा सुविधामा मात्र ध्यान दिएको कोइरालाको आरोप छ । मुलुकको विकास र जनताको सेवासँग सरोकार राख्ने निजामती कर्मचारीले जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँ बताउनुहुन्छ । “कर्मचारीको काम नतिजामुखी भएन । जनताको सधैँ गुनासो रहने गरेको छ ”, कोइरालाले भन्नुभयो, “कर्मचारीले प्रक्रियाभन्दा सेवामुखी हुनुपर्दछ, तर त्यो अहिलेको कर्मचारीमा देखिएको छैन ।”

कर्मचारीलाई राजनीतिकबाट मुक्त गराउन सके र उत्प्रेरणा, दण्ड तथा पुरस्कारको व्यवस्था गर्नसके कर्मचारीलाई सुधार गर्न सकिने कोइरालको धारणा छ । निजामती दिवस मनाइरहँदा सङ्घीय निजामती ऐन पनि संसद्मा विचाराधीन छ । पूर्वसचिव गोपीनाथ मैनाली कर्मचारीभित्र बिग्रँदै गएको प्रणालीलाई सुधार गर्न, व्यावसायिक सदाचारिता सुधार्न र कर्मचारीको गरिमा बढाउनका लागि वर्षेनी दिवस मनाउने गरिए पनि त्यसो हुन नसकेको बताउनुहुन्छ । दिवसलाई कर्मचारी, सरकार र सेवाग्राहीबीच ‘सेवा मेला’का रुपमा चिनाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीले नयाँ खोज अनुसन्धानभन्दा पनि आफ्नो व्यक्तित्व विकासमा ध्यान दिने गरेको पाइएको उहाँले बताउनुभयो ।

“कर्मचारीको जागिरे मानसिकता भयो । उनीहरु जनताको सेवा गर्नेभन्दा पनि चाकडी गर्ने र जागिरमुखी भए”, उहाँले भन्नुभयो, “सेवाग्राहीले भनेको बेला सेवा दिन सकेका छैनन् । आफ्नो फाइदामा मात्र कर्मचारी लागेका छन् । एउटा कर्मचारीको सेवा प्रवेशसँगै पढेर कसरी माथिल्लो तहमा बढुवा हुने ध्येय हुन्छ ।”

कर्मचारी सेवामुखीभन्दा नी प्रक्रियामुखी भएकोसमेत उहाँको आरोप छ । पूर्वसचिव मैनालीले कर्मचारीले प्रशासन सेवालाई एकाधिकार बनाएकोसमेत बताउनुभयो । “मैले नगरे काम हुँदैन भन्ने मानसिकता कर्मचारीमा छ । मैले सेवा दिने हो किन चाँडो गर्ने भन्ने छ”, उहाँले भन्नुभयो, “समयमा सेवाग्राहीका काम हुन सकेका छैन । प्रक्रियामुखी भई नजिता रोक्नका लागि सहयोगी भूमिका कर्मचारीको रहेको छ । सेवाग्राहीको मन र विश्वास जित्न सकेका छैनन् ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीले सोचेजस्तो सेवा दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले दिवस मनाउँदा कर्मचारीलाई जनताको कामप्रति उत्तरदायी र जिम्मेवार बनाउने भने पनि अहिले अनौपचारिकतामा सीमित रहेको बताउनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले नेतृत्वका कारण निजामती सेवा सुधार हुन नसकेको बताउनुभयो । बदलिँदो परिस्थितिअनुसार निजामती कर्मचारीको क्षमता विकास गर्न नसक्दा सेवा सोचेको जस्तो हुन नसकेको पोखरेलले बताउनुभयो ।

कानून, निर्देशिका र मापदण्डले छिटोछरितो तथा प्रभावकारी सेवा सञ्चालन गर्न बाधक रहेकाले त्यसलाई संशोधन गरेर सेवा प्रभावकारी बनाउपर्ने उहाँ बताउनुहुन्छ । कर्मचारीलाई रचनात्मक ढङ्गले परिचालन गर्नुको साटो जमघट गराउने थलोका रुपमा मात्र दिवस हुने गरको पोखरेलको आरोप छ । “कर्मचारीको मनोबल उठाएर मात्र सेवामुखी दिलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “दिवसमा कर्मचारीलाई मनोबल बढाउन खालका कार्यक्रम ल्याइनुपर्दछ ।”

पुरस्कार आफू नजिकलाई

दिवसकै अवसरमा सरकारले वर्षेनी सर्वोत्कृष्ठ निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामति सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ । वर्षेनी एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म सिमित कर्मचारीले मात्र उक्त पुरस्कार पाएका छन् ।

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् । पूर्वसचिव मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी नपाउनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले आफ्ना नजिक, ट्रेड युनियनले सिफारिस गरेको कर्मचारीले मात्र पाउने गरेको बताउनुभयो । “कतिपय कर्मचारी त पुरस्कार पाएर पनि कारवाहीमा परेका छन्”, उहाँले भन्नुभयो, “दिवसका अवसरमा पाउने पुरस्कार आफैँमा सम्मानित भएको छैन ।”

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker