तनहुँ जलविद्युत आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उनले बताए ।

आयोजनाको प्याकेज एक अन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भने, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कंक्रिटिङको काम जारी छ ।”