ऋण लिएर गाईभैंसी पालन गर्ने चार किसान सम्मानित
खैरेनीटार महिला बहुउद्देश्यीय सहकारीको २४औँ साधारणसभा सम्पन्न

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारस्थित खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीबाट कर्जा लिएर गाईभैंसी पालनमा लगानी गर्दै आएका चार किसानलाई सम्मान गरेको छ ।
सहकारीको २४औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार बेलचौतारामा आयोजित कार्यक्रममा ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी व्यवसाय सञ्चालन तथा समयमै कर्जा भुक्तानी गर्ने उत्कृष्ट किसानका रूपमा विष्णुमाया ढकाल, संगिता ढकाल, मञ्जु सुवेदी र कमला सुनारलाई सम्मान गरिएको हो ।
उनीहरूलाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक …राजुÚ, वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापा तथा सहकारी अध्यक्ष सूर्यदेवी सिग्देललगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख विकले महिलालाई संगठित गर्दै सहकारीमार्फत कर्जा प्रवाह र उत्पादनमूलक गतिविधिमा जोड दिइएकोमा खुसी व्यक्त गर्नुभयो। सहकारीले सदस्यलाई ऋण उपलब्ध गराउने मात्र नभई त्यसलाई आयआर्जन र उद्यममा लगानी गर्न प्रोत्साहित गर्नु सकारात्मक पक्ष भएको उनले बताए ।
सहकारी अध्यक्ष सूर्यदेवी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापा, सहकारीका पूर्वअध्यक्ष तुलमाया विक तथा सम्मानित किसानका तर्फबाट विष्णुमाया ढकालले धारणा व्यक्त गरिन ।
कार्यक्रममा उपाध्यक्ष पुष्पा ढकालले स्वागत तथा सचिव विनिता श्रेष्ठले सञ्चालन गरेकी थिइन भने, साधारणसभामा लेखा समिति संयोजक विन्दु शर्मा र कोषाध्यक्ष निरु भुजेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो ।
सहकारीमा हाल ३ हजार ७० जना महिला सदस्य आबद्ध रहेका छन् । सदस्यहरूको आर्थिक तथा उद्यमशीलता गतिविधिलाई प्रवद्र्धन गर्न सहकारीअन्तर्गत विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जनाइएको छ ।
सहकारीले सदस्यलाई कर्जा प्रवाहसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै आएको र उत्कृष्ट कार्य गर्ने सदस्यलाई सम्मान गर्ने अभ्यासले अन्य सदस्यलाई समेत उद्यमतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।










