पढाई खर्च जुटाउन जंगलको निहुरो बेच्दै विद्यार्थी

सविन लामिछाने/भञ्ज्याङ

तनहुँ : बिहानको सुनौलो किरण छाब्दी मन्दिरको आँगनमा छिर्न नपाउँदै केही नानी–बाबुहरू बोरा ओछ्याएर बसिसकेका हुन्छन् । उनीहरूको सामु हरियो निहुरोको मुठा छन् । मन्दिरको सिंढी चढ्दै–ओर्लंदै गरेका भक्तजनलाई उनीहरू हात उचालेर भन्छन्, ‘दिदी, निहुरो लिनुहोस् न !’

शनिबारको दिन कतिपय नानी–बाबु घुमघाममा व्यस्त होलान् । तर छाब्दीका बालबालिकाका लागि बिदाको दिन पढाइ र घर खर्च जुटाउने अवसर हो ।

कसैले सानो प्लास्टिकको टोकरीमा निउरो सजाएका छन्, कसैले बोरामा केरा राखेका छन् । कोहीले आँप, च्याउ वा जंगली तरकारी ल्याएका छन् । बजार नपुगेका यी बालबालिकाले मन्दिरको आँगनलाई नै आफ्नो सानो व्यापार केन्द्र बनाएका छन् ।

१४ वर्षीया सनिता आलेले शनिबारको दिन मन्दिर परिसरमा बसेर ४० मुठा निउरो बेचिन् । प्रतिमुठा ४० रुपैयाँका दरले एक हजार ६०० रुपैयाँ कमाएकी उनले त्यो पैसाले कापी र कलम किनेर लैजाने बताइन् ।

दमौलीको बालमन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सनिता प्रत्येक साता शनिबार यही काम गर्छिन् । शुक्रबार साँझ घरछेउको जंगलमा गएर निउरो, साग र च्याउ बटुल्छिन् अनि शनिबार बिहान मन्दिर परिसरमा बसेर बेच्ने गर्छिन् ।

उनी भन्छिन्, ‘निउरो नपाइने सिजनमा अम्बा, साग, केरा लगायत तरकारी बेच्छु ।’ उनी पढाइका लागि आवश्यक कापी, किताब, खाजा खर्च र कहिलेकाहीँ घरको लागि नुन, तेल, मसला पनि किनेर लैजान्छिन् ।

‘घरमा अरुको धेरै कमाइ छैन । आफ्नो खर्च आफैं कमाउनुपर्छ, यत्ति दुःख नगरे त स्कुल जानै पाइँदैन’, सनिताले भनिन् ।

१० वर्षीय बिप्सन आले छाब्दीमा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्छन् । उनले पनि प्रत्येक शनिबार मन्दिरको गेटमा निउरो र केरा ल्याएर बेच्ने गरेका छन् । गएको शनिबार पनि उनने २० मुठा निउरो ल्याएर डेढ घन्टामै बेचे । अनि ५०० रुपैयाँ आम्दानी गरे ।

उनले बिप्सनले भने, ‘यो पैसा घर लगेर आमालाई दिन्छु । अनि आफूलाई चाहिने कापी पनि किन्छु ।

सनिताकी आमा सपना आलेले छोरीको कमाइले परिवारको जीविकोपार्जन र उनको पढाइका लागि केही सहज भएको बताइन् । सरकारले निःशुल्क शिक्षा भने पनि विद्यालयले अनेक बहानामा पैसा लिने गरेको उनको गुनासो छ ।

‘सरकारले निःशुल्क पढाइ अभियान भनेर के गर्नु, स्कुलले के–के शुल्क भनेर पैसा लिइहाल्छ । निःशुल्क पढाउँछु भन्नेले कापी–कलम चाहिँ दिनुपर्दैन ? अनि पो सबै बच्चा स्कुल जान पाउँछन्,’ उनले भनिन् ।

पढाइखर्च जुटाउन नसक्दा यहाँका धेरै बालबालिका सानैमा विद्यालय छाडेर अन्य काम गर्ने गरेका छन् । मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मन्दिर परिसरमा आएर निउरो, च्याउ, केरा आँप लगायतका तरकारी बिक्री गर्न बाध्य छन् ।

मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर भएकाले आफ्नै प्रयासमा पढाइ खर्च जुटाउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक चुडामणि थापा बताउँछन् । धेरैजसो दलित र भुजेल समुदायका बालबालिकाका अभिभावक ज्यालादारीमा काम गर्न दमौली झर्ने उनले बताए ।

उक्त विद्यालयमा १२५ जना विद्यार्थी अध्ययनरत छन् । देशलाई नै पूर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहँदा कापी कलमको खर्च पनि निःशुल्क गरिदिनुपर्ने अभिभावकको माग छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker