सम्पादकीय : पर्यटकीययाम र मौसम

नेपालको पर्यटन जीवनरेखा हो– हिमाल, पहाड र प्रकृतिको सौन्दर्य । शरद ऋतु यिनै सौन्दर्यको अनुभव लिन सबैभन्दा उपयुक्त समय हो । तर यस वर्षको प्रमुख पर्यटकीययाममै देशभरको मौसम अचानक बदली हुनु पर्यटन क्षेत्रका लागि गम्भीर चुनौतीको रूपमा देखिएको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा भइरहेको हिमपात र वर्षाले यात्रु, व्यवसायी र स्थानीय सबैको दैनिकी अस्तव्यस्त बनाएको छ । अन्नपूर्ण क्षेत्र, जसलाई विश्वकै लोकप्रिय पदयात्रा मार्गका रूपमा चिनिन्छ, अहिले प्रतिकूल मौसमको मारमा परेको छ। सामान्य अवस्थामा यो समयमा हजारौं आन्तरिक र विदेशी पर्यटक हिमालको सौन्दर्य निहार्दै पदयात्रामा निस्कने गर्छन्। तर अहिले हिमपात, वर्षा र बादलले ढाकेका डाँडाकाँडाले यात्रालाई जोखिमपूर्ण बनाएको छ। केही ठाउँमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पु¥याउने काम गरिरहेका छन्, जुन उनीहरूको मानवीय सहयोग भावनाको उत्कृष्ट उदाहरण हो ।
पदयात्रीका लागि अहिलेको परिस्थिती कष्टकर बनेको छ । मनाङ र मुस्ताङतर्फ जाँदै गरेका यात्रुहरूलाई गन्तव्यसम्म पुग्न ढिलाइ हुन थालेको छ। कतिपयले यात्रा रद्द गर्नुपरेको छ। यात्रामा निस्किएका पर्यटकले भने हिउँमा रमाइलो गर्ने अवसर पाएका छन्, तर यो रमाइलोको सन्दर्भ सीमित ठाउँमा मात्र लागू हुन्छ– खुला मैदान र सुरक्षित होटल वरिपरि। हिमाल नजिकको बाटोमा हिँड्ने पदयात्रीका लागि भने यो हिउँ ‘सुन्दरता’ भन्दा बढी ‘संकट’ बनेको छ। वातावरणीय परिवर्तन र असामान्य मौसमी उतारचढाव अब केवल मौसमविद्हरूको विषय रहेन । यसले देशको प्रमुख आर्थिक आधार मानिएको पर्यटनमा सीधा असर पु¥याउन थालेको छ। पर्यटन मौसममा आएको अवरोधले होटल, ट्रेकिङ एजेन्ट, गाइड, यातायात व्यवसायी र स्थानीय समुदायको आम्दानी घटाएको छ । सस्तो ऋण, पूँजी अभाव र अब मौसमको अनिश्चितता– यी सबैले ग्रामीण पर्यटनका ठूला सपना मन्द पारिरहेका छन् ।
तिहारपछि बढेको पर्यटकीय चहलपहलमा मौसमले प्रतिकूल भूमिका खेलेको छ। अन्नपूर्ण, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायत पदमार्गमा अहिले जोखिम बढेकाले स्थानीय प्रशासनले यात्रुहरूलाई अस्थायी रूपमा रोक्न आग्रह गरेको छ। यो प्रशासनिक चेतावनी सराहनीय कदम हो– किनभने हिउँ र वर्षाले कुनै पनि बेला दुर्घटनाको सम्भावना बढाउँछ । तर, समस्या समाधानको पहिलो चरण चेतावनी मात्रै होइन, दीर्घकालीन व्यवस्थापन पनि हो। अब राज्यले मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ सशक्त बनाउनुपर्छ। हिमाली पर्यटन मार्गहरूमा मौसमको तत्काल सूचना दिने डिजिटल प्रणाली, मोबाइल अलर्ट र रेडियो संजाल विस्तार गर्न जरुरी छ। पदयात्रा अनुमति लिनेलाई ‘वेदर अपडेट’ अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन सके जोखिम घटाउन सकिन्छ। अर्को महत्त्वपूर्ण पक्ष हो– पूर्वतयारी र सचेतता। धेरै पर्यटक अझै पनि पदयात्रामा जाँदा मौसम पूर्वानुमान नहेरी, सामान्य कपडा र सिमित तयारीका साथ निस्कने गर्छन्। यसले जोखिम बढाउँछ। यस कारण जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनाको पालना गर्नुपर्ने, समूहमा यात्रा गर्ने, न्यानो कपडा र आवश्यक औषधि साथमा लैजानुपर्ने चेतावनी अत्यन्त सान्दर्भिक छ। यस प्रकारका सूचनाहरू स्थानीय पर्यटन कार्यालय र होटलहरू मार्फत अनिवार्य रूपमा उपलब्ध गराउन आवश्यक छ।
नेपालको हिमाली पर्यटन केवल मनोरञ्जन होइन– यो स्थानीय जीवन, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। मनाङ, मुस्ताङ र म्याग्दीका गाउँहरू पर्यटकको आगमनबाटै बाँचिरहेका छन्। त्यसैले प्रतिकूल मौसमको असरले ती समुदायहरूमा आर्थिक दबाब सिर्जना गर्छ। राज्यले आपत्कालीन सहायता, स्थानीय पर्यटन प्रवद्र्धन र संरचना पुनःस्थापनामा सहयोगका कार्यक्रम अघि सार्नुपर्छ। यो याममा मौसम बिग्रिएको छ, तर यो अस्थायी हो। जब आकाश फेरि खुल्नेछ, हिमालहरू पुनः उज्यालो हुनेछ– त्यतिबेला फेरि पर्यटकहरू फर्कनेछन्। तर, हरेक वर्ष आउने यस्ता मौसमी संकटले हामीलाई चेतावनी दिइरहेको छ कि– ‘जलवायु परिवर्तन र अव्यवस्थित पर्यटन व्यवस्थापन’ भविष्यका ठूला चुनौती हुन्। त्यसैले तत्कालका कठिनाइसँगै दीर्घकालीन नीतिगत तयारी अनिवार्य छ। नेपालको पर्यटनको आधार नै ‘प्रकृति’ हो, र प्रकृति अनिश्चित छ। त्यसैले अब हाम्रो रणनीति पनि ‘अनिश्चिततालाई व्यवस्थापन गर्ने’ हुनुपर्छ। मौसमले आज पदयात्रीलाई रोकेको छ, तर योजनाबद्ध तयारी र सचेत पर्यटनले भोलि फेरि उनीहरूलाई मुस्ताङ र मनाङका बाटामा स्वागत गर्न सक्नेछ। यही आशा र तयारीबाटै नेपालको पर्यटन पुनःजीवित रहन्छ ।










