सम्पादकीय : व्यासको प्लाष्टिक झोला मुक्त अभियान – निषेध मात्र होइन, व्यवहारिक विकल्प र संवादको खाँचो

तनहुँको व्यास नगरपालिकाले ‘प्लास्टिक झोला मुक्त नगर’ घोषणाको एक वर्ष पूरा गरेको छ । वातावरण संरक्षण र दीगो विकासका सन्दर्भमा यस्तो घोषणा स्वागतयोग्य थियो । २०८१ जेठ १ गतेबाट नगरभित्र प्लास्टिक झोला पूर्णरूपमा निषेध गर्ने निर्णय जनस्वास्थ्य र स्वच्छताप्रति जिम्मेवार प्रतिबद्धता थियो । तर, एक वर्ष बित्दा पनि उक्त नीति व्यवहारमा कति सफल रह्यो भन्ने प्रश्न उठ्न थालेको छ । पछिल्लो समय व्यास–३ स्थित तरकारी बजारमा भएको एक विवादास्पद घटना र त्यसपछिको कारबाहीले यस नीतिको कार्यान्वयन प्रक्रियामाथि गम्भीर पुनःविचार गर्नुपर्ने अवस्था देखिएको छ । नगरपालिकाको वातावरण समिति र नगरप्रहरीको संयुक्त टोलीले प्लास्टिक झोला प्रयोग गरिरहेको एक पसलमा अनुगमन गर्दा विवाद चर्किएको थियो । पसल सञ्चालक परिवारको प्रतिकार र आक्रोशपूर्ण व्यवहार र त्यसपछिको प्रशासनिक कारबाहीले नीति कार्यान्वयनमा देखिएको सम्वेदनहीनता उजागर गरिदिएको छ । यो घटना नियम उल्लंघनमाथि कारबाही मात्र होइन, नीति, कार्यान्वयन र जनभावनाबीचको टकरावको एउटा संकेत पनि हो ।

प्रश्न उठ्छ– हामीले नियम बनाउँछौं, तर तिनको पालना गराउने प्रक्रियामा संवाद, समझदारी र समावेशीपनको के हदसम्म समावेश गरिन्छ ? हामी केवल ‘निषेध’ गर्छौं, तर विकल्पको पहुँच र सहजता सुनिश्चित गर्नेतर्फ हाम्रो ध्यान किन कम छ ? यहाँ गम्भिर प्रश्न खडा भएको छ । व्यापारी वर्गको गुनासो छ– प्लास्टिकको सट्टा प्रयोग गर्न भनिएको वैकल्पिक झोला महँगो छ, उपभोक्ताहरू सहज महसुस गर्दैनन् र नाफा निरन्तर घटिरहेको छ । यस्तो अवस्थामा दण्ड–जरिवाना थोपर्नेभन्दा पहिले नगरपालिकाले व्यवहारिक योजना ल्याउनु जरुरी थियो । वैकल्पिक झोलाको सहज उपलब्धता, लागतमा अनुदान, उत्पादनमा सहुलियत र आपूर्ति सञ्जाल विस्तारजस्ता काम प्राथमिकतामा पर्नुपथ्र्यो ।

यथार्थ यही हो– नीति निर्माण र कार्यान्वयनबीचको खाडल अझै पनि फराकिलो छ । नीति बनाउँदा धेरैजसो प्राविधिक हिसाब–किताब गरिन्छ, तर त्यसको सामाजिक, आर्थिक र व्यवहारिक पक्षको अध्ययन गम्भीर रूपमा गरिँदैन । प्लास्टिक निषेधजस्तो नीति लागू गर्दा यसले स्थानीय व्यवसायी, उपभोक्ता, उत्पादनकर्ता र आपूर्तिकर्तामाथि पार्ने असरबारे पूर्वअध्ययन आवश्यक थियो । त्यस्तो अध्ययन अभावमै ‘कडाइ’को बाटो रोजिएको छ । परिणामतः न त वातावरणीय उद्देश्य पूरा भयो, न त नागरिकको विश्वास जगाउन सकिने वातावरण निर्माण भयो । कारबाही प्रशासनको सजिलो उपाय हो– तर स्थायी समाधान होइन। दण्डले नियम लागू गराउने हो भने, दीर्घकालीन सुधार सम्भव हुँदैन । उल्टो, यस्तो शैलीले नागरिकको मनमा शासनप्रति प्रतिरोध पैदा गर्छ, नियमहरूप्रति वितृष्णा बढाउँछ, र अन्ततः नीति नै असफल बनाउने खतरा उत्पन्न हुन्छ । स्थानीय सरकारले यस्ता संवेदनशील विषयहरूमा जनसहभागिता, जनसंवाद र सहमतिको आधारमा अगाडि बढ्न आवश्यक हुन्छ ।

अब नगरपालिकाले यो पछिल्लो घटनालाई ‘सामान्य उल्लंघन’को रूपमा मात्रै नभइ, नीतिको कार्यान्वयनमा देखिएको त्रुटिको प्रतिविम्बका रूपमा बुझ्नुपर्छ । यो घटनाले देखाएको छ कि नागरिकमा स्पष्ट जानकारी छैन, विकल्प सहज छैन, र नीतिप्रति स्वामित्वको भावना विकास हुन सकेको छैन । यस्तो अवस्थामा प्रशासनको प्रमुख जिम्मेवारी हुन्छ– सबै सरोकारवालासँग बसेर दीर्घकालीन समाधान खोज्ने । व्यापारी, ग्राहक र आपूर्ति प्रणालीमा संलग्न निकायहरूसँग सहकार्य गर्दै सस्तो, गुणस्तरीय र वातावरणमैत्री झोलाको सुनिश्चितता गर्नुपर्नेछ। साथै, जनचेतना कार्यक्रमहरूलाई पुनः सशक्त बनाउँदै जनस्तरसम्म पु¥याउनुपर्नेछ।

नीति निर्माण र कार्यान्वयन दुवैमा संवाद, सहमति र व्यवहारिकता मूल आधार बन्नुपर्छ । जनतालाई कानुनका दायराभित्र ल्याउन सकिने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरूलाई नीति–निर्माणको प्रक्रिया र परिणामसँग जोड्नु हो । केवल ‘निषेध’ गरेर परिवर्तन सम्भव छैन; त्यसका लागि वैकल्पिक अवसर, व्यवहारिक विकल्प र सहकार्यमै आधारित रणनीति आवश्यक हुन्छ । व्यास नगरपालिकाले ‘प्लास्टिक झोला मुक्त नगर’ भन्ने लक्ष्य पूरा गर्न चाहेमा अबको बाटो संवाद, सुधार र संवेदनशीलताको हुनुपर्छ । नत्र, यस्ता टकरावहरू फेरि दोहोरिने सम्भावना उच्च रहन्छ । जसको असर केवल एक मुठो प्लास्टिकको झोलामा सीमित नहुने जोखिम बढ्न सक्छ । प्लाष्टिकको प्रयोग मानवको स्वास्थ्य र वातावरणीय हिसाले उपयुक्त होइन । तर, अहिले मानिसको दैनिक प्लाष्टिक बिना असहज बन्दै गएको छ । त्यसैले प्लाष्टिक रहित ढंगले वातावरण अनुकुल गरी कसरी अगाडि बढ्न सकिन्छ ? सम्बन्ध पक्षहरु पछि यथोचित छलफल, समन्वय र सहकार्य गरी अगाडि बढ्नुको विकल्प छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker