आँवुखैरेनीमा कृषि हाटबजारलाई विस्तार गरी हप्ताको दुई दिन सञ्चालन गरिदै
‘गाउँको बारीबाट हाटबजारसम्म : कुहिने उपज अब कृषकको आम्दानीको आधार’

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकाले कृषकको उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रत्येक शुक्रबारे कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक हप्ताको शुक्रबारका दिनमात्र हुँदै आएको कृषि हाटबजार गाउँपालिकाले अब सोमबार पनि सञ्चालन गर्ने तयारी गरेको छ ।
आँबुखैरेनीले वडा नं. २ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन गर्ने भएको छ । अहिले आँबुखैरेनी–३ मा सञ्चालन हुँदै आएको हाटबजारलाई कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरी स्वदेशी उत्पादनलाई थप प्रवद्र्धन गर्न कृषिउपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
‘हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ’, उनले भने ।

गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानैदेखि भीड लाग्ने गरेको छ । वि.सं. २०८० फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।
हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्रीवितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीले बताए ।
‘गाउँको बारीबाट हाटबजारसम्म : कुहिने उपज अब कृषकको आम्दानीको आधार’
आँबुखैरेनी बजारको अमिलबोटे चोक शुक्रबार बिहानैदेखि चहलपहलले भरिन्छ । टोकरीमा सागपात, काँधमा बोरा, कोही ढुकुटीमा घरायसी सामग्री—सबैको गन्तव्य एउटै हुन्छ, शुक्रबारे हाटबजार । ज्यामीस्वाँराकी पुजा मगर टोकरी खोलेर पानी अमला, निगुरो र सिस्नु देखाउँदै ग्राहकलाई बोलाउँछिन् । थाप्रै नबित्दै उनको बोरा खाली हुन्छ । ‘पहिले त यी सबै कुहिएर फाल्थ्यौं’, पुजा भन्छिन्, ‘अब भने यही ल्याएर बेच्दा खाजा खाने बाटो बनेको छ ।’ उनका अनुहारमा खुशी झल्किन्छ ।

पुजाको छेउमै आँबुगाउँकी सिता श्रेष्ठ हरियो मकै र फर्सीको मुन्टा सुम्सुम्याउँदै ग्राहकलाई देखाउँछिन् । पहिला यी चिज बजारमा बिक्छ भन्ने कल्पनै गरेकी थिइनन्। ‘सिस्नो त काटेर फाल्थ्यौं, टाँकीको मुन्टा त चौपायालाई खान दिन्थ्यौं’, सिता हाँस्दै भन्छिन्, ‘अहिले त यही सामानले बच्चाबच्चीको पढाइ खर्च चल्छ ।’
हराउँदै गएको संस्कृतिको पुनरागमन
यो दृश्यले पुरानो हाटबजार संस्कृतिको झल्को दिन्छ । एकातिर गाउँले किसान, अर्कोतिर गाउँकै उत्पादन खोज्दै आएका उपभोक्ता । बरादीका अच्युतप्रसाद वाग्ले माटोको भाँडोमा दही बोकेर आउँछन् । उखरमौलो घाममा दही पिएर फर्किने ग्राहकलाई उनी सन्तुष्ट नजरले हेर्छन् । ‘अब घरघर धाउनुपर्दैन’, उनी भन्छन्, ‘हाटबजारले सबैलाई एउटै थलोमा भेटाइदिएको छ ।’

उपभोक्ताको रहर गाउँकै स्वाद
दमौलीबाट आएका भगवति अधिकारीलाई हरेक शुक्रबार यहाँ आउनैपर्छ । ‘गाउँको चिसो हावापानीमा फलेको अर्गानिक तरकारी मिठो मात्र होइन, स्वास्थ्यबद्र्धक पनि हुन्छ’, उनी भन्छिन् । अर्का उपभोक्ता राजाराम केसी त हराइसकेका गिट्ठा, भ्याकुर, लेकाली निगुरो भेट्दा दंग परेका छन् ।
हाटबजारको दायरा
तरकारी, फलफूल, सागपातसँगै बाँसका चोयाबाट बनेका भाँडा, अर्गानिक मह, आरनमा बनेका सामग्री, रैथाने परिकारसम्म यहाँ भेटिन्छन् । गाउँपालिकाले २०७९ सालदेखि सुरु गरेको यो हाटबजारले किसानलाई ‘विचौलिया–मुक्त’ व्यापार गर्ने अवसर दिएको छ । नबिकेका सामान पनि गाउँपालिकाले जिम्मा लिएर बिक्री गर्छ ।

नयाँ पहिचान
तनहुँमा बिर्सिंदै गएको हाटबजार प्रथा आँबुखैरेनीले फेरि जीवित बनाएको छ । गाउँको उपज अब कुहिँदैन, खेर जाँदैन। किसानले बजार भेटेका छन्, उपभोक्ताले अर्गानिक स्वाद । हरेक शुक्रबार गाउँ र बजारबीचको यो मिलनबिन्दु आँबुखैरेनीको नयाँ पहिचान बनेको छ ।










