आँवुखैरेनीमा कृषि हाटबजारलाई विस्तार गरी हप्ताको दुई दिन सञ्चालन गरिदै

‘गाउँको बारीबाट हाटबजारसम्म : कुहिने उपज अब कृषकको आम्दानीको आधार’

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकाले कृषकको उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रत्येक शुक्रबारे कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक हप्ताको शुक्रबारका दिनमात्र हुँदै आएको कृषि हाटबजार गाउँपालिकाले अब सोमबार पनि सञ्चालन गर्ने तयारी गरेको छ ।

आँबुखैरेनीले वडा नं. २ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन गर्ने भएको छ । अहिले आँबुखैरेनी–३ मा सञ्चालन हुँदै आएको हाटबजारलाई कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरी स्वदेशी उत्पादनलाई थप प्रवद्र्धन गर्न कृषिउपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ’, उनले भने ।

गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानैदेखि भीड लाग्ने गरेको छ । वि.सं. २०८० फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।

हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्रीवितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीले बताए ।

‘गाउँको बारीबाट हाटबजारसम्म : कुहिने उपज अब कृषकको आम्दानीको आधार’

आँबुखैरेनी बजारको अमिलबोटे चोक शुक्रबार बिहानैदेखि चहलपहलले भरिन्छ । टोकरीमा सागपात, काँधमा बोरा, कोही ढुकुटीमा घरायसी सामग्री—सबैको गन्तव्य एउटै हुन्छ, शुक्रबारे हाटबजार । ज्यामीस्वाँराकी पुजा मगर टोकरी खोलेर पानी अमला, निगुरो र सिस्नु देखाउँदै ग्राहकलाई बोलाउँछिन् । थाप्रै नबित्दै उनको बोरा खाली हुन्छ । ‘पहिले त यी सबै कुहिएर फाल्थ्यौं’, पुजा भन्छिन्, ‘अब भने यही ल्याएर बेच्दा खाजा खाने बाटो बनेको छ ।’ उनका अनुहारमा खुशी झल्किन्छ ।

पुजाको छेउमै आँबुगाउँकी सिता श्रेष्ठ हरियो मकै र फर्सीको मुन्टा सुम्सुम्याउँदै ग्राहकलाई देखाउँछिन् । पहिला यी चिज बजारमा बिक्छ भन्ने कल्पनै गरेकी थिइनन्। ‘सिस्नो त काटेर फाल्थ्यौं, टाँकीको मुन्टा त चौपायालाई खान दिन्थ्यौं’, सिता हाँस्दै भन्छिन्, ‘अहिले त यही सामानले बच्चाबच्चीको पढाइ खर्च चल्छ ।’

हराउँदै गएको संस्कृतिको पुनरागमन

यो दृश्यले पुरानो हाटबजार संस्कृतिको झल्को दिन्छ । एकातिर गाउँले किसान, अर्कोतिर गाउँकै उत्पादन खोज्दै आएका उपभोक्ता । बरादीका अच्युतप्रसाद वाग्ले माटोको भाँडोमा दही बोकेर आउँछन् । उखरमौलो घाममा दही पिएर फर्किने ग्राहकलाई उनी सन्तुष्ट नजरले हेर्छन् । ‘अब घरघर धाउनुपर्दैन’, उनी भन्छन्, ‘हाटबजारले सबैलाई एउटै थलोमा भेटाइदिएको छ ।’

उपभोक्ताको रहर गाउँकै स्वाद

दमौलीबाट आएका भगवति अधिकारीलाई हरेक शुक्रबार यहाँ आउनैपर्छ । ‘गाउँको चिसो हावापानीमा फलेको अर्गानिक तरकारी मिठो मात्र होइन, स्वास्थ्यबद्र्धक पनि हुन्छ’, उनी भन्छिन् । अर्का उपभोक्ता राजाराम केसी त हराइसकेका गिट्ठा, भ्याकुर, लेकाली निगुरो भेट्दा दंग परेका छन् ।

हाटबजारको दायरा

तरकारी, फलफूल, सागपातसँगै बाँसका चोयाबाट बनेका भाँडा, अर्गानिक मह, आरनमा बनेका सामग्री, रैथाने परिकारसम्म यहाँ भेटिन्छन् । गाउँपालिकाले २०७९ सालदेखि सुरु गरेको यो हाटबजारले किसानलाई ‘विचौलिया–मुक्त’ व्यापार गर्ने अवसर दिएको छ । नबिकेका सामान पनि गाउँपालिकाले जिम्मा लिएर बिक्री गर्छ ।

नयाँ पहिचान

तनहुँमा बिर्सिंदै गएको हाटबजार प्रथा आँबुखैरेनीले फेरि जीवित बनाएको छ । गाउँको उपज अब कुहिँदैन, खेर जाँदैन। किसानले बजार भेटेका छन्, उपभोक्ताले अर्गानिक स्वाद । हरेक शुक्रबार गाउँ र बजारबीचको यो मिलनबिन्दु आँबुखैरेनीको नयाँ पहिचान बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker