कृष्णाष्टमी पर्व : एक चिन्तन

चक्रबहादुर अधिकारी

संसारका जुनसुकै भागमा बस्ने मानिसहरूका आ-आफ्नै संप्रदाय अनुसार आफ्नै तरिकाका संस्कृति र चाड पर्वहरू हुन्छन् । कुनै पनि जातिको विशेषताको रक्षा उस्को संस्कृतिबाट भएको हुन्छ । धर्मले मानिसको रक्षा गर्छ र मानिसले धर्मको रक्षा गर्नुपर्छ ।

अर्थात हामीले हाम्रा धार्मिक अनुष्ठानका चाड पर्व र संस्कृतिलाई जोगाउनु पर्छ । हाम्रा चाडवाडको सुन्दर वर्णन र तिनका उत्पतिका बारेमा जानकारी लिन खोजेमा अहिले चलिरहेको धार्मिकरुप भन्दा अझ उच्चस्तरको मूल्य र मान्यता प्राप्त गर्न सकिएला ।

हुनत आजको बदलिदो परिवेश र पाश्चात्य प्रभावले ग्रस्त हुँदै आएको सामाजिक परिवेशमा केही युवायुवती धर्म प्रति अनास्था देखाएको पनि पाइन्छ भने आधुनिक शिक्षा ग्रहण गरेका ठूलाठूला विद्वानहरू जसले अंग्रेजी पढ्नु पर्छ तर अंग्रेज बन्ने होइन भन्ने आदर्श वाणी व्यक्त गरेको पनि देखे सुनेकै कुरा हो । हो, साच्चिने भगवान कृष्णको ‘धर्म, संस्कृति र आचार प्रति अटल श्रद्धा राख’ भन्ने अमरवाणी प्रति अनास्था देखाएमा “न कागको न हाँसको हिर्डाई’ अर्थात ‘घरको न घाटको’ भन्ने उखान चरितार्थ गराएको ठहर्ने छ ।

विभिन्न देवदेवालय प्राकृतिक छटा र धार्मिक सहिष्णुताले परिपूर्ण, विभिन्न धर्मालम्वीहरुको साझा वासस्थान नेपाल अधिराज्यमा वर्षेनी मनाइने थुप्रै महत्वपूर्ण पर्वोत्सव मध्ये कृष्णाष्टमी पर्व पनि एक उल्लेखनीय पर्व हो । अहिले मात्र नभै हामी नेपालीमा प्राचीन समयदेखि नै ज्ञानी, गुणी, वीर, धीर, ब्रम्हपुरुष, परोपकारी, विद्वान, समाजसेवी आदि पराक्रमी व्यक्तिको आदर, सत्कार, मान-मर्यादा, श्रद्धा भक्ति र कदर गर्ने परमपरा छ ।

त्यही परम्परा अनुरुप आध्यात्मिक दृष्टिकोणबाट महाविद्वान, महापराक्रमी, महान क्रान्तिकारी, मर्यादित र वीर धीर ब्रम्हपुरुष मान्न सकिने श्री कृष्णजीको नाम नसुन्ने नेपाली सायद विरलै होलान । यस उसले उहाँको जन्मजयन्ती मनाउने प्रचलन अस्वाभाविक र आर्श्चर्यको कुरो पनि होइन ।

भाद्र कृष्णाष्टमी रोहिणी नक्षत्रमा जन्मनु भएका विष्णु भगवानका एक अवतार मानिनुहुने श्री कृष्णजीले जुन बखत कंश, जरासंघ, शिशुपाल, प्रभृति दानव जस्ता व्यक्तिहरुलाई परास्त गरी, पूजन जस्ता दुरात्मलाई एकाएक संहार गरी, एक अन्याय र अत्याचार नसहने क्रानितकारीका रुपमा आफुलाई दर्शउनु भयो ।

गीताको वक्ता कृष्णले त्यस समयका आसुरी शक्तिका अहंकारी र अत्याचारी राजा दुर्योधन जसले जनमानसमा त्राश, भय र असुरक्षाको वातावरण सिर्जन गरी आफ्नो दबदब बढाइरहेका घमण्डीलाई परास्त गरी सुख शान्ति स्थापना गर्न बाल्यावस्थादेखि अनेक लीला प्रदर्शन गर्नुभयो । यसरी आसुरी शक्तिको बोलबाललाई पराजित गरी जनतालाई रक्षा गरेता पनि आफैले भने कृष्णजीले कहिल्यै राज्य गर्नु भएन।

उहाँको कल्याणकारी र शुद्ध आदर्शको प्रभावले जनमानसमा हाहाकार र दुराचारको सट्टा सदाचार व्यप्त भई जताततै सुख, शान्ति छायो। अतः हरेक व्यक्तिको आफ्नो जीवन सुखमय र संमृद्धशाली बनाउने तीब्र इच्छा हुने हुँदा महापुरुषहरुको सुकार्यको अनुसरण गर्नु वाञ्छनीय देखिन्छ । त्यसैले यहाँ परापूर्वकालदेखि श्रीकृष्ण प्रति श्रद्धाभक्ति राख्न वर्षेनी कृष्णाष्टमी मनाइने गरेको पाइन्छ ।

श्रीकृष्णाष्टमीका दिन पहाड, तराइ र उपत्यकाका विभिन्न स्थानमा रातभर दीपावली, भजनकिर्तन गरी जाग्रम बस्ने र भोलीपल्ट कृष्णजात्राको मेला भर्न निकै चहलपहल हुन्छ । त्यस दिन देशका विभिन्न स्थानमा लाग्ने मेला पर्व मधये विशेष गरेर पाटनको कृष्ण मन्दिरमा लाग्ने मेला ठूलो मानिन्छ ।

ढुंगैढुंगाबाट निर्मित २१ गजुर भएको पाटनको कृष्ण मन्दिरका भित्तामा विभिन्न देवदेवीका मुर्तिहरु र ऐतिहासिक चित्र कुदिएका छन । जुन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली कालीगढको मसिनो र दक्ष सीपको नमूना प्रस्तुत गर्न सुहाउने देखिनछ । पाटनका राजा सिद्धिनरसिंहको पालामा ७ वर्षलगाई सो मन्दिर निर्माण गरिएको कुरा देवमाल वंशावलीमा उल्लेख छ ।

त्यस्तै काठमाडौ उपत्यकामा गाईजात्राको दिनदेखि ८ दिनसम्म प्रदर्शन गरिने प्रहसन, तथा व्याङ्ग नाटक, व्याङ्ग चित्र र देशका अन्य भागमा समेत नचाइने लाखे नाच बारे एउटा किंवदन्ती यस्तो छ । ‘कृष्णजीले अत्याचारी कंश (जो आसुरी प्रकृतिको छाडा व्यक्ति)लाई परास्त गर्नु भएको थियो, उस्कै नक्कल प्रदर्शन गरिएको हो ।’ भन्ने पाइन्छ ।

कृष्णजीको जन्माष्टमीका दिन अर्थात कृष्णाष्टमीलाई उत्सवका रुपमा मनाइने भक्तिपूर्ण कार्य ऐतिहासिक लेख नियाल्ने हो भने धेरै प्राचिनकालदेखि मनाइने गरेको पाइन्छ । वि.सं. १९८६ को संख्य २१ को गो.प.मा प्रकाशित निम्न लेख प्रमाण सावित भएको छ ।

‘इस्वी सन्का आरम्भ भन्दा ३२० वर्ष पहिले मगधका राजा चन्द्रगुप्तका दरबारमा ग्रीक वकिल भइरहेको मेगस्थनिजले जो त्यस बखत भारत वर्षको परिस्थिति आफ्ना ग्रीक भाषाका ऐतिहासिक किताबामा लेखेका थिए । त्यसमा उनले हरक्युलस
(अर्थात हरिकृष्ण)को सौरसेनीहरु ज्यादै भक्ति गर्छन । उनको मुख्य शहर मथुरा हो ।’

उपयुक्त प्रमाण र भारतको ग्वालियर वेसनगर गाउँको गरुडध्वज स्तम्भको शिलालेखका आधारमा हामी के भन्न सक्छौ भने कृष्णजीको ‘कृष्णाष्टमी’ पर्व मनाउने प्रचलत परापूर्वकालदेखि सनातन रुपमा चली आएको अनुमान गर्न सकिन्छ ।

हरेक वर्ष कृष्णजीको ‘जन्माष्टमी’मा व्रत बसी पूजाआजा, उपासना, प्रहसन, नाटक तथा नाचगान गर्नाले एकातिर आत्मशान्ति, मानसिक सुख मिल्छ र आध्यात्मिक दृष्टिकोणबाट साक्षत परब्रम्ह परमेश्वरमा लीन हुन र परलोक सुध्रन्छ भन्ने विश्वास पाइन्छ ।

अर्का तिर धर्म सम्बन्धी संस्कारको विकास भई नैतिक मुल्य र परम्परागत मान्यताको संरक्षण गरी त्यसलाई व्यवहारमा उतार्न सके आजको ध्वंसात्मक होड कम गराउँदै सभ्य र आदर्श सामाजिक संरचना निर्माण गर्न सहयोग मिल्छ भन्नु सामयिक नै ठहर्ला ।

त्यस्तै भौतिक दृष्टिकोणबाट महा विद्वान, पराक्रमि, ज्ञानी, उपदेशक, वीर, धीर र युग पुरुषको पुण्य तिथिमा संस्मरण गर्नु र उनका उच्च आदर्शहरु अनुशरण गरी गीतामा उल्लेखित उपदेशलाई चिन्तन मनन् गरी ऐहलौकिक जीवन सुखमय र सुगन्धित पार्न सकिन्छ भन्ने कुरामा शंका लिनु पर्दैन भन्नु अतिसयोक्ति नहोला । अस्तु ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker