सम्पादकीय : संस्कृति र पर्यटनको संगम – बर्च्याङ गाउँ

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बर्च्याङ गाउँ ‘ग्रामीण पर्यटन प्रवर्द्धन तथा मगर संस्कृति चिनारी’का लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै गएको छ । यहाँ भएको एक कार्यक्रमले गाउँको पहिचान, सम्भावना र भविष्यको दिशाबारे गम्भीर बहस प्रारम्भ गरेको छ । ग्रामिण भूगोल, मौलिक संस्कृति र कृषि परम्पराले समृद्ध बर्च्याङले अब पर्यटनमार्फत दिगो विकासको मार्ग समात्न सक्ने संकेत दिएको छ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आदिवासी जनजातिको भाषा, संस्कृति, कला र साहित्य संरक्षणसँगै ग्रामीण पर्यटनलाई जोडेर वार्षिक कार्ययोजना अघि बढाउँदै आएको सन्दर्भमा बर्च्याङमा कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदम हो । शैक्षिक संस्थाले समुदायसँग सहकार्य गर्दै ज्ञान र व्यवहारलाई जोड्नु आजको आवश्यकता हो । विश्वविद्यालय र क्याम्पसहरू केवल कक्षा कोठामा सीमित रहँदा समाजसँगको सम्बन्ध कमजोर बन्छ; तर समुदायमै पुगेर स्थानीय संस्कृति र सम्भावनाको अध्ययन–अनुसन्धान गर्नु भनेको ज्ञानलाई व्यवहारमा उतार्नु हो ।

समुद्री सतहबाट करिब ९५० मिटर उचाइमा अवस्थित मगर बस्ती हो बर्च्याङ गाउँ । करिब ८५ घर मगर समुदाय बसोबास गर्ने यो गाउँ दमौली बजारबाट करिब ७ किलोमिटर दूरीमा छ भने प्रख्यात पर्यटकीय स्थल मानुकोटबाट करिब ३ किलोमिटर टाढा पर्छ । भौगोलिक दृष्टिले सुगम र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिए ग्रामीण पर्यटनको उत्कृष्ट नमूना बन्न सक्छ । ग्रामीण पर्यटन भनेको केवल घुमफिर मात्र होइन; यो जीवनशैली, परम्परा, कृषि, खानपान र संस्कृतिको समग्र अनुभव हो । शहरका मानिसहरू कृत्रिम जीवनशैलीबाट थाकेका बेला उनीहरूलाई गाउँको मौलिकता, शान्त वातावरण र स्थानीय परिकार आकर्षक लाग्छ । बच्र्याङमा सुन्तला खेतीको पकेट क्षेत्र घोषणा हुनु, रैथाने बाली पीडालु, तोरी, कोदो, मकै, मास, फापरको उत्पादन हुनु, जलवायु मैत्री कृषिमा अग्रसर हुनुजस्ता पक्षहरूले यसलाई कृषि पर्यटनको केन्द्र बन्ने सम्भावना देखाउँछन् ।

तर सम्भावना हुनु मात्र पर्याप्त हुँदैन; त्यसलाई योजनाबद्ध ढंगले व्यवस्थापन गर्नुपर्छ। ग्रामीण पर्यटन विकासका लागि तीन आधारभूत पक्ष आवश्यक हुन्छन्–पूर्वाधार, क्षमता विकास र पहिचानको संरक्षण । बर्च्याङमा होमस्टे सञ्चालन भइसकेको छ, तर होमस्टेको गुणस्तर, सरसफाइ, सेवा–सुविधा र आतिथ्यतालाई अझ व्यवस्थित गर्नुपर्ने देखिन्छ । स्थानीय युवालाई पर्यटनसम्बन्धी तालिम, भाषा सीप, विपद् व्यवस्थापन र डिजिटल प्रचारप्रसारको ज्ञान दिनु जरुरी छ । यसका लागि स्थानीय सरकार अर्थात गाउँपालिकाले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । यससँगै मगर संस्कृतिको संरक्षण प्राथमिक शर्त हो । परम्परागत नाच–गान, भेषभूषा, भाषा र संस्कारलाई ‘प्रदर्शन’का रूपमा मात्र होइन, जीवन्त अभ्यासका रूपमा जोगाउनुपर्छ ।

संस्कृति व्यापारिक वस्तुमा परिणत हुँदा मौलिकता हराउने खतरा हुन्छ । त्यसैले पर्यटन विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्नु अनिवार्य छ । कार्यक्रममा पर्यटनविद् र समुदायका अगुवाले ग्रामीण पर्यटनको दिगोपनाबारे चर्चा गरेका छन् । दिगो पर्यटन भन्नाले वातावरणमैत्री, समुदायमुखी र आर्थिक रूपमा न्यायपूर्ण अभ्यास हो । गाउँमा पर्यटक बढेपछि फोहर व्यवस्थापन, पानी स्रोत संरक्षण, वन क्षेत्रको जगेर्ना र स्थानीय उत्पादनको प्रोत्साहनलाई सँगै अघि बढाउनुपर्छ । अन्यथा पर्यटन आफैं समस्या बन्न सक्छ । स्थानीय सरकारको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण छ । गाउँपालिकाले सुन्तला खेतीको पकेट क्षेत्र घोषणा गरेको कदम स्वागतयोग्य भए पनि कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने रणनीति आवश्यक छ । उदाहरणका लागि, सुन्तला टिप्ने अनुभव, कोदो–फापरका परिकार बनाउने कार्यशाला, मगर संस्कृतिसम्बन्धी जीवित संग्रहालय वा सांस्कृतिक साँझ आयोजना गर्न सकिन्छ। यसले पर्यटकलाई केवल बस्ने ठाउँ होइन, अनुभव दिन्छ ।

त्यस्तै, दमौली र मानुकोटसँगको नजिकको दूरीलाई बजार प्रवर्द्धनमा प्रयोग गर्न सकिन्छ। मानुकोट सूर्योदय–सूर्यास्तका लागि प्रसिद्ध छ; त्यहाँ पुग्ने पर्यटकलाई बर्च्याङमा रात बिताउने प्याकेज बनाउन सकिन्छ । स्थानीय तथा प्रदेशस्तरका पर्यटन बोर्डले यस्ता गन्तव्यलाई संयुक्त रूपमा प्रचार गर्नुपर्छ । ग्रामीण पर्यटनले रोजगारी सिर्जना गर्न सक्छ। विदेश पलायन भइरहेका युवालाई गाउँमै अवसर दिन सकिए सामाजिक संरचना बलियो हुन्छ । महिलाहरू होमस्टे, कृषि उत्पादन प्रशोधन, हस्तकला र सांस्कृतिक कार्यक्रममार्फत आर्थिक रूपमा सशक्त बन्न सक्छन् । यसले समावेशी विकासको आधार तयार गर्छ । यद्यपि, चुनौतीहरू पनि कम छैनन् । सडकको अवस्था, नियमित यातायात, स्वास्थ्य सुविधा, सञ्चार सेवा र आपतकालीन व्यवस्थापनजस्ता पक्ष सुदृढ नभए पर्यटकको विश्वास जित्न कठिन हुन्छ। पर्यटन विकासलाई दीर्घकालीन योजनामा समेट्दै बहुवर्षीय लगानी योजना आवश्यक छ । बच्र्याङको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ–ग्रामीण पर्यटन केवल आर्थिक गतिविधि होइन, पहिचान जोगाउने अभियान पनि हो। शैक्षिक संस्था, स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीच सहकार्य भए मात्र सम्भावना वास्तविकतामा परिणत हुन्छ ।

नेपालको पर्यटन प्रायः हिमाल, सहर र ठूला गन्तव्यमा केन्द्रित छ । तर देशको वास्तविक आत्मा गाउँमा बस्छ। ती गाउँमा भाषा, संस्कृति, कृषि र सहजीवनको धरोहर सुरक्षित छ । बर्च्याङजस्ता गाउँले यदि आफ्नो मौलिकता जोगाउँदै योजनाबद्ध विकासको मार्ग रोजे भने ग्रामीण पर्यटनले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउन सक्छ । बर्च्याङको पहललाई एउटा नमूना अभ्यासका रूपमा लिन सकिन्छ । यसले देखाएको बाटो स्पष्ट छ– संस्कृतिलाई जोगाउँदै पर्यटन विकास गर्ने। अब आवश्यक छ निरन्तरता, नीति–समन्वय र प्रतिबद्धता । सम्भावनालाई शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सके बर्च्याङ मात्र होइन, देशभरिका गाउँहरूले समृद्धिको नयाँ कथा लेख्न सक्नेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker