सम्पादकीय : संस्कृति र पर्यटनको संगम – बर्च्याङ गाउँ

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बर्च्याङ गाउँ ‘ग्रामीण पर्यटन प्रवर्द्धन तथा मगर संस्कृति चिनारी’का लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै गएको छ । यहाँ भएको एक कार्यक्रमले गाउँको पहिचान, सम्भावना र भविष्यको दिशाबारे गम्भीर बहस प्रारम्भ गरेको छ । ग्रामिण भूगोल, मौलिक संस्कृति र कृषि परम्पराले समृद्ध बर्च्याङले अब पर्यटनमार्फत दिगो विकासको मार्ग समात्न सक्ने संकेत दिएको छ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आदिवासी जनजातिको भाषा, संस्कृति, कला र साहित्य संरक्षणसँगै ग्रामीण पर्यटनलाई जोडेर वार्षिक कार्ययोजना अघि बढाउँदै आएको सन्दर्भमा बर्च्याङमा कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदम हो । शैक्षिक संस्थाले समुदायसँग सहकार्य गर्दै ज्ञान र व्यवहारलाई जोड्नु आजको आवश्यकता हो । विश्वविद्यालय र क्याम्पसहरू केवल कक्षा कोठामा सीमित रहँदा समाजसँगको सम्बन्ध कमजोर बन्छ; तर समुदायमै पुगेर स्थानीय संस्कृति र सम्भावनाको अध्ययन–अनुसन्धान गर्नु भनेको ज्ञानलाई व्यवहारमा उतार्नु हो ।

समुद्री सतहबाट करिब ९५० मिटर उचाइमा अवस्थित मगर बस्ती हो बर्च्याङ गाउँ । करिब ८५ घर मगर समुदाय बसोबास गर्ने यो गाउँ दमौली बजारबाट करिब ७ किलोमिटर दूरीमा छ भने प्रख्यात पर्यटकीय स्थल मानुकोटबाट करिब ३ किलोमिटर टाढा पर्छ । भौगोलिक दृष्टिले सुगम र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिए ग्रामीण पर्यटनको उत्कृष्ट नमूना बन्न सक्छ । ग्रामीण पर्यटन भनेको केवल घुमफिर मात्र होइन; यो जीवनशैली, परम्परा, कृषि, खानपान र संस्कृतिको समग्र अनुभव हो । शहरका मानिसहरू कृत्रिम जीवनशैलीबाट थाकेका बेला उनीहरूलाई गाउँको मौलिकता, शान्त वातावरण र स्थानीय परिकार आकर्षक लाग्छ । बच्र्याङमा सुन्तला खेतीको पकेट क्षेत्र घोषणा हुनु, रैथाने बाली पीडालु, तोरी, कोदो, मकै, मास, फापरको उत्पादन हुनु, जलवायु मैत्री कृषिमा अग्रसर हुनुजस्ता पक्षहरूले यसलाई कृषि पर्यटनको केन्द्र बन्ने सम्भावना देखाउँछन् ।

तर सम्भावना हुनु मात्र पर्याप्त हुँदैन; त्यसलाई योजनाबद्ध ढंगले व्यवस्थापन गर्नुपर्छ। ग्रामीण पर्यटन विकासका लागि तीन आधारभूत पक्ष आवश्यक हुन्छन्–पूर्वाधार, क्षमता विकास र पहिचानको संरक्षण । बर्च्याङमा होमस्टे सञ्चालन भइसकेको छ, तर होमस्टेको गुणस्तर, सरसफाइ, सेवा–सुविधा र आतिथ्यतालाई अझ व्यवस्थित गर्नुपर्ने देखिन्छ । स्थानीय युवालाई पर्यटनसम्बन्धी तालिम, भाषा सीप, विपद् व्यवस्थापन र डिजिटल प्रचारप्रसारको ज्ञान दिनु जरुरी छ । यसका लागि स्थानीय सरकार अर्थात गाउँपालिकाले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । यससँगै मगर संस्कृतिको संरक्षण प्राथमिक शर्त हो । परम्परागत नाच–गान, भेषभूषा, भाषा र संस्कारलाई ‘प्रदर्शन’का रूपमा मात्र होइन, जीवन्त अभ्यासका रूपमा जोगाउनुपर्छ ।

संस्कृति व्यापारिक वस्तुमा परिणत हुँदा मौलिकता हराउने खतरा हुन्छ । त्यसैले पर्यटन विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्नु अनिवार्य छ । कार्यक्रममा पर्यटनविद् र समुदायका अगुवाले ग्रामीण पर्यटनको दिगोपनाबारे चर्चा गरेका छन् । दिगो पर्यटन भन्नाले वातावरणमैत्री, समुदायमुखी र आर्थिक रूपमा न्यायपूर्ण अभ्यास हो । गाउँमा पर्यटक बढेपछि फोहर व्यवस्थापन, पानी स्रोत संरक्षण, वन क्षेत्रको जगेर्ना र स्थानीय उत्पादनको प्रोत्साहनलाई सँगै अघि बढाउनुपर्छ । अन्यथा पर्यटन आफैं समस्या बन्न सक्छ । स्थानीय सरकारको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण छ । गाउँपालिकाले सुन्तला खेतीको पकेट क्षेत्र घोषणा गरेको कदम स्वागतयोग्य भए पनि कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने रणनीति आवश्यक छ । उदाहरणका लागि, सुन्तला टिप्ने अनुभव, कोदो–फापरका परिकार बनाउने कार्यशाला, मगर संस्कृतिसम्बन्धी जीवित संग्रहालय वा सांस्कृतिक साँझ आयोजना गर्न सकिन्छ। यसले पर्यटकलाई केवल बस्ने ठाउँ होइन, अनुभव दिन्छ ।

त्यस्तै, दमौली र मानुकोटसँगको नजिकको दूरीलाई बजार प्रवर्द्धनमा प्रयोग गर्न सकिन्छ। मानुकोट सूर्योदय–सूर्यास्तका लागि प्रसिद्ध छ; त्यहाँ पुग्ने पर्यटकलाई बर्च्याङमा रात बिताउने प्याकेज बनाउन सकिन्छ । स्थानीय तथा प्रदेशस्तरका पर्यटन बोर्डले यस्ता गन्तव्यलाई संयुक्त रूपमा प्रचार गर्नुपर्छ । ग्रामीण पर्यटनले रोजगारी सिर्जना गर्न सक्छ। विदेश पलायन भइरहेका युवालाई गाउँमै अवसर दिन सकिए सामाजिक संरचना बलियो हुन्छ । महिलाहरू होमस्टे, कृषि उत्पादन प्रशोधन, हस्तकला र सांस्कृतिक कार्यक्रममार्फत आर्थिक रूपमा सशक्त बन्न सक्छन् । यसले समावेशी विकासको आधार तयार गर्छ । यद्यपि, चुनौतीहरू पनि कम छैनन् । सडकको अवस्था, नियमित यातायात, स्वास्थ्य सुविधा, सञ्चार सेवा र आपतकालीन व्यवस्थापनजस्ता पक्ष सुदृढ नभए पर्यटकको विश्वास जित्न कठिन हुन्छ। पर्यटन विकासलाई दीर्घकालीन योजनामा समेट्दै बहुवर्षीय लगानी योजना आवश्यक छ । बच्र्याङको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ–ग्रामीण पर्यटन केवल आर्थिक गतिविधि होइन, पहिचान जोगाउने अभियान पनि हो। शैक्षिक संस्था, स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीच सहकार्य भए मात्र सम्भावना वास्तविकतामा परिणत हुन्छ ।

नेपालको पर्यटन प्रायः हिमाल, सहर र ठूला गन्तव्यमा केन्द्रित छ । तर देशको वास्तविक आत्मा गाउँमा बस्छ। ती गाउँमा भाषा, संस्कृति, कृषि र सहजीवनको धरोहर सुरक्षित छ । बर्च्याङजस्ता गाउँले यदि आफ्नो मौलिकता जोगाउँदै योजनाबद्ध विकासको मार्ग रोजे भने ग्रामीण पर्यटनले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउन सक्छ । बर्च्याङको पहललाई एउटा नमूना अभ्यासका रूपमा लिन सकिन्छ । यसले देखाएको बाटो स्पष्ट छ– संस्कृतिलाई जोगाउँदै पर्यटन विकास गर्ने। अब आवश्यक छ निरन्तरता, नीति–समन्वय र प्रतिबद्धता । सम्भावनालाई शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सके बर्च्याङ मात्र होइन, देशभरिका गाउँहरूले समृद्धिको नयाँ कथा लेख्न सक्नेछन् ।










