घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।

केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताउनुभयो ।

“बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्”, उहाँले भन्नुभयो, “गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउँछन् ।” दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताउनुभयो ।

दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताउनुभयो । “कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ ।”

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताउनुभयो ।

“बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरोे आएको छ । माग धान्न सकिएको छैन ।”

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ । निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ । मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार÷पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ । निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker