खडेरीले खेती सुक्यो, पानी माग्दै कृषकले गरे रुद्री पुजा

भञ्ज्याङ समाचारदाता/दमौली

लामो समयदेखि पानी नपर्दा मकै बालीमा ठुलो क्षति पुगेको छ । मकैले पर्याप्त रुपमा सिंचाई नपाउँदा बोटहरु सुक्न थालेका र राम्रोसंग उम्रिन नपाएको बन्दिपुर गाउँपालिका-१ का कृषक बासु पन्थ बताउँछन् ।
‘हरिया मकैका बोटहरु सुकेको खरजस्तै भएका छन्’, उनले भने, ‘करिव १० दिन अगाडि पानी पर्दा यस वर्षको मकै उत्पादन राम्रो हुने भयो भनेर हामी खुसी भएका थियौं । तर अहिलेको लामो खडेरीले निराश बनाएको छ ।’
यसवर्ष बन्दिपुरमा मकै उत्पादन नहुने देखिएको कृषक कृष्णप्रसाद सापकोटा बताउँछन् । ‘मकैका पात छुदा झुरुमझुरुम झरेका छन्, यस्तो बोटमा कसरी फल लाग्छ’, उनले भने, ‘सिंचाइको कमीका कारण मकै जोगाउन सक्किएको छैन । सधै बारीमा पानी बोकेर हाल्न पनि सम्भव छैन ।’ करिव ७ रोपानी क्षेत्रफलमा मकै खेती गरेका उनी बिउ खेरा गएकोमा चिन्ता व्यक्त गर्छन् ।
यस्तै, करिव ३० रोपनी क्षेत्रफलमा मकै खेती गरेकी भिमाद नगरपालिका-५ की कृषक पार्वती बि.क पनि लामो खडेरीका कारण मकै उत्पादनमा कमी आउने बताउँछिन् । ‘यसपालि मकै उत्पादन होला जस्तो छैन । बाख्रा, गाई, भैंसीलाई के गरी पाल्ने हो चिन्ता पर्न थालेको छ’, उनले भनिन्, ‘आज पानी पर्ला, भोली पर्ला भन्दाभन्दै बारीका मकै सुकेर गईसके । झन् झन् चर्को घाम मात्रै लागेको छ । कसलाई गुहार्दा पानी पर्ने हो थाहा भए त्यो पनि गर्नु हुन्थ्यो ।’
लामो खडेरीको कारण प्रमुख खाद्यबालीको रुपमा रहेको मकैलाई मात्र नभई करेसाबारी तथा बारीमा लगाएका हरिया सागसब्जीलाई पनि असर गरेको कृषकहरु बताउँछन् । खडेरीका कारण यस वर्ष जिल्लामा मकै कम उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी बताउँछन् । पाखो बारीमा लगाइएको मकै खेतीमा ठुलो क्षति पुगेको उनले बताए ।
‘चर्को घाम र खडेरीका कारण जिल्लाका प्रायः सबै भागको मकै खेतीमा ठुलो असर गरेको छ’, उनले भने, ‘खडेरीका कारण यस वर्ष मकै उत्पादनमा ६० प्रतिशतसम्म कमि आउने अनुमान गरिएको छ । एक दुइ दिनमा पानी पर्‍यो भने केही भागका मकैले भने राहात पाउने छन् ।’
जिल्लामा मकै खेती गरिने करिव २२ हजार हेक्टर क्षेत्रफलमध्ये ८ हजार हेक्टर क्षेत्रफल पाखो बारी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यस्तै, तनहुँको आँवुखैरेनी गाउँपालिका-२ ढकालटारका कृषकले पानी माग्दै रुद्रीपुजा गरेका छन् । पानी नपर्दा जमिन सुख्खा भई खेतबारीमा लगाइएका मकै, घैंया, धान तथा तरकारी खेती सुक्न थालेका छन् । लामो समयदेखि पानी नपर्दा अत्याधिक गर्मी बढ्दा जनजीवन समेत प्रभावित हुन थालेको छ ।
खडेरीका कारण लगाएको खेतीपति सुक्दै गएको र धानका व्याड समेत राख्न नपाउँदा कृषकहरु चिन्तित छन् । पानी माग्दै अहिले कृषकहरु पुजाअर्चना गर्दै देविदेवताको शरणमा पर्न थालेका छन् । ढकालटारका कृषकहरुले आइतबार स्थानीय छिम्केश्वरी माईको मन्दिरमा पुजाअर्चना गर्दै पानी मागेका छन् । ढकालटारका करिव ३५० घरधुरीले पञ्चेबाजा बजाउँदै रुद्री र होम गरी पानी मागेको छिम्केश्वारी माई मन्दिर संरक्षण समितिका अध्यक्ष नेत्रबहादुर थापाले बताए ।
‘यस मन्दिरमा वर्षैपिच्छे रुद्री पुजाका साथै होम हालिने गरिन्थ्यो’, उनले भने, ‘तर अघिल्लो वर्ष विशेष कारणवस पुजा गरिएन त्यसैले पनि देउता रिसाएर पानी नपरेको हो कि भनेर देउता फकाउन ६ जना पण्डित बोल्याएर होम हालि रुद्री पुजाका साथै ‘हरहर महादेव पानी देउदेउ’ भन्दै सबैले इन्द्र र महादेवलाई गुहार्‍यौं ।’
पुजा गरेपछि पानी पर्ने विश्वासमा रहेको कृषक नन्द ठकुरीले बताए । पानी नपर्दा इन्द्र र महादेवको पुजा गरेपछि पानी आउने बताउदै उनले भने, ‘धेरै वर्ष अगाडि यस्तै खडेरी परेको समयमा वाराना, रुद्री, जलधारा लगायतका कार्य गरेका थियौं र पानी पनि परेको थियो ।’
पानी नपर्दा सिंचाई सुविधा नभएका खेतबारीमा लगाइएका मकै, घैंया, तरकारीमा ठुलो क्षति पुगेको उनले बताए । ‘मकैका बोट सुकेर परालजस्तै भएका छन्, धानको व्याड चरचरि चिरिएर बसेको छ । असार लाग्नै आट्यो खेत रोप्नका लागि बिउ तयार हुन सकेको छैन’, उनले भने, ‘बादल लाग्छ कि भनेर आकाश हेर्‍यो झनै घाम चकिलो हुँदै गएको छ । अब रुद्री लगाएर देउता नै गुहारेपछि पानी पर्छ की भन्ने आशामा छौं ।’
रुद्री पुजा गरेपछि पानी पर्ने विश्वास रहेको स्थानीय राधा कुँवारले बताइन् । ‘धेरै पहिलो पानी नपर्दा रुद्री लगाउनु परेको थियो’, उनले भनिन्, ‘आइतबारका दिन साइत जुराएर, विधिपुर्वक होम हालेर रुद्री पुजा गरेका छौं।’ खडेरीका कारण यसवर्षमकै उत्पादन स्वतः घट्ने उनले बताइन् । ‘पानी नपर्दा मकैको बोट सुकेका छन्’, उनले भनिन्, ‘असारे धान रोप्ने बेला भएको छ, धानको व्याडमा सिंचाइ नपुग्दा बीउ उम्रिएकै छैन ।’
देवीदेवतालाई खुसी पारे पानी पर्छ भन्ने धार्मिक मान्यतालाई निरन्तरता दिंदै छिम्केश्वरी माईको मन्दिरमा रुद्री लगाइएको स्थानीय गोवर्धन कार्कीले बताए । प्रत्येक घरधुरीबाट धुप अक्षेता ल्याएर विश्वासका साथ छिम्केश्वारी माईको मन्दिरमा पानी परोस भनि रुद्री पुजा गरेको उनले बताए । खडेरीका कारण खेतबारी सुख्खा हुँदा, विउ नउम्रिदा र लगाएको मकै/घैंया सुक्दा देवीदेवतालाई गुहार्ना बाँध्य भएको कार्कीर्ले बताए । यसो गर्दा पनि पानी नपरे बाराना र जलधारा गर्ने तयरीमा कृषकहरु छन् । बाराना गर्दा स्थानीयले एक दिनका लागि कुटो, कोदालो, हलो लगायत कृषि औजारहरु नचलाई देवि देवताको मन्दिरमा बलि दिएर पुजाअर्चना गर्छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker