व्यासले विद्यार्थी संख्य न्यून भएका विद्यालयलाई समायोजन गर्ने, कुन–कुन विद्यालय समायोजन हुँदैछन् ?

दमौली : तनहुँको व्यास नगरपालिकाले विद्यार्थी संख्य न्यून भएका सामुदायिक विद्यालयलाई समायोजन गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको कार्यापालिका बैठकले विद्यार्थी संख्या न्यून रहेका केही सामुदायिक विद्यालयहरूलाई बाल विकास कक्षा सञ्चालन भइरहेसम्म कायम राख्ने तथा अन्य कक्षा नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको हो । बैठकले शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने समेत निर्णय गरेको छ ।
नगरपालिका अन्तर्गत विद्यार्थी सुन्य एवं न्यून विद्यार्थी भएका श्री जनसेविका प्राथमिक विद्यालय व्यास–१, श्री मानुङ प्राथमिक विद्यालय व्यास–५, श्री वसन्तकाली प्राथमिक विद्यालय व्यास–७, श्री कृष्णालय प्राथमिक विद्यालय व्यास–८, श्री सोमाजन प्राथमिक विद्यालय व्यास–८, श्री जन मिलन प्राथमिक विद्यालय व्यास–१२ लाई समायोजन गर्ने तयारी गरिएको छ ।
विद्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने विषयमा छलफल गर्दै हालका लागि आइतबार बिदा लागू गर्ने निर्णय गरेको बैठकले नगरभित्रका सबै विद्यालयहरू दिवा समयमा सञ्चालन गर्ने विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न शिक्षा शाखालाई निर्देशन दिइएको छ ।
यस्तै, बैठकमा संघ तथा प्रदेशबाट प्राप्त हुने समानीकरण, राजस्व बाँडफाँट तथा शशर्त बजेटसम्बन्धी जानकारी लिइएको छ भने सोही आधारमा आगामी बजेट निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ। हालै जारी खरिद अध्यादेशअनुसार आगामी दिनमा खरिद प्रक्रिया सञ्चालन गर्ने निर्णय गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवा स्थानीय तहबाटै सञ्चालन गर्न आवश्यक जनशक्ति तथा पूर्वाधार व्यवस्थापन गरी संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी गराए ।
बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट तर्जुमाका लागि सरोकारवालासँग परामर्श गर्ने निर्णय गर्दै जेठ ८ गते नगरपालिकाको सभाकक्षमा बजेट पूर्वतयारी बैठक आयोजना गर्ने निर्णय गरिएको छ ।










