शुक्लागण्डकीको स्वास्थ्य सेवा : पहुँच विस्तार, पोषण सुधार र दीर्घकालीन रोग नियन्त्रणलाई प्राथमिकता
स्वास्थ्य सेवा विस्तारका महत्वकांक्षी कार्यक्रम सञ्चालन गरिएको छ : नगरप्रमुख पण्डित

कृष्णराज पण्डितनगरप्रमुखः शुक्लागण्डकी नगरपालिका
तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकको स्वास्थ्य पहुँच, पोषण सुधार र दीर्घकालीन रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गर्भवती तथा सुत्केरी आमाहरूको पोषण र स्वास्थ्य सुदृढीकरणका लागि ‘सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम’ अन्तर्गत क्याल्सियम वितरण तथा एम्बुलेन्स सेवाको निरन्तरता दिंदै आएकाले मातृ तथा शिशु स्वास्थ्य सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको नगरपालिकाले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याइने र महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई निरन्तरता दिइदै अइएको नगरप्रमुख कृष्णराज पण्डितले बताए। उनले भने, ‘ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्यकर्मीमार्फत नियमित स्वास्थ्य परीक्षण तथा औषधि वितरणका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’ नगरपालिकाले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरू विस्तार गर्ने क्रममा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको भवनमा लायन्स क्लबसँग सहकार्य गरी मृगौला पीडितका लागि डायलासिस केन्द्र स्थापना कार्यलाई समेत सहयोग गरेको छ ।
यसैगरी आर्थिक, सामाजिक वा शारीरिक रूपमा असहाय तथा विपन्न ५०० परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले यस कार्यक्रमबाट कमजोर आय भएका नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको नगरप्रमुख पण्डितले बताए ।

नगरपालिकाले नसर्ने रोग नियन्त्रणलाई पनि विशेष प्राथमिकता दिएको छ । दैनिक जीवनशैलीसँग सम्बन्धित रोगहरू नियन्त्रण गर्न जनचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमै पु¥याउने गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै नगरप्रमुख पण्डितले भने, ‘ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरू र अपाङ्गता भएकाहरूलाई घरमै गएर सेवा सुविधा दिएका छौं।’
उनले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि नियमित स्वास्थ्य परीक्षण तथा भिडियो एक्स–रे सेवा निःशुल्क उपलब्ध गराइएको जानकारी दिए। साथै विपन्न परिवारका बालबालिकालाई नगर सहायता कोषमार्फत अस्पताल पु¥याउने, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा आवश्यक औषधि वितरण गर्ने व्यवस्था गरिएको उनले उल्लेख गरे । उनले भने, ‘आर्थिक अभावका कारण उपचार नपाई कसैले ज्यान गुमाउन नपरोस् भन्नेमा हामी सधैं सजग छौं ।’
नगरप्रमुख पण्डितले नागरिकको स्वास्थ्यमा खानपान, कुलत, आर्थिक अवस्था तथा अशिक्षाले असर पारिरहेको बताए। नगरभित्र केही स्थानमा बिहानैदेखि मदिरा सेवन गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले त्यस्ता बानी सुधार गर्न जनचेतना अभिवृद्धिमा जोड दिइएको बताए । उनले भने, ‘जीवनमा स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो, त्यसैले खानपानदेखि व्यवहारसम्म सबैमा सचेत हुन आवश्यक छ ।’ उनले विषादीयुक्त तरकारी सेवन, अत्यधिक खानपान तथा मदिरा सेवनले स्वास्थ्यसँगै आयआर्जन र समृद्धिमा समेत नकारात्मक असर पार्ने भएकाले नागरिकलाई यसबारे निरन्तर सचेत गराइँदै आएको बताए ।

नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि आवश्यक सबै सेवा निःशुल्क उपलब्ध गराएको जनाउँदै उनले आधारभूत पूर्वाधार अभाव रहेका स्वास्थ्य संस्थाहरूमा आवश्यक पूर्वाधार विस्तार गरिएको जानकारी दिए । यद्यपि, स्थानीय तहमा आधुनिक स्वास्थ्य उपकरण तथा प्राविधिक जनशक्तिको अभाव रहेको उनले स्वीकार गरे । ‘स्थानीय सरकारको सीमित बजेटले सबै प्रविधि र उपकरण व्यवस्थापन गर्न गाह्रो छ’, उनले भने, ‘प्रत्येक वडामा आवश्यक मेसिन, उपकरण र प्राविधिक जनशक्ति व्यवस्थापन गर्न सके अझ प्रभावकारी सेवा दिन सकिन्थ्यो ।’
नगरप्रमुख पण्डितले स्वास्थ्य सेवा विस्तारसँगै सभ्य र स्वस्थ समाज निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्य सेवा विस्तार अन्तर्गत ढोरफूलबारी शहिद अस्पतालबाट २४सै घण्टा मेडिकल अधिकृतमार्फत सेवा प्रदान, खैरेनीटार स्वास्थ्य चौकीबाट बालरोग विशेषज्ञ सेवा उपलब्ध, महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै १६ देखि ६० वर्षसम्मका महिलाहरूका लागि स्तन क्यान्सर स्व–परीक्षण तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआइए परीक्षण निःशुल्क रूपमा सञ्चालन गर्दै आएको जानकारी गराए ।
यस्तै, आयुर्वेद तथा वैकल्पिक उपचारलाई प्रोत्साहन गर्दै ‘नागरिक आरोग्य एवं उपचार सेवा’ कार्यक्रम सञ्चालन गरिएको र नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी स्वास्थ्य पर्यटनको सम्भावना विकास गर्ने लक्ष्य राखिएको छ । स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि विद्यालयदेखि समुदायसम्म योग तथा ध्यान अभियान सञ्चालन कार्यक्रमलाई अगाडि बढाएको नगरपालिकाले जडीबुटी संरक्षण, उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकलाई आकर्षित गर्ने कार्यक्रमहरु पनि अगाडि बढाइएको छ । नगरपालिकाका अनुसार यी कार्यक्रमहरूले समग्र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउँदै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ढाल बहादुर थापा : स्वास्थ्य शाखा प्रमुख
शुक्लागण्डकी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सेवा पहुँच, पूर्वाधार तथा व्यवस्थापन पक्षमा अझै सुधार आवश्यक देखिएको छ । ५६ हजार ३०४ जनसंख्या रहेको नगरपालिकामा हाल एक नगर अस्पताल, ६ स्वास्थ्य चौकी र ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र गरी जम्मा १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन्। यी संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।चालु आर्थिक वर्षमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा करिब १ करोड ६ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। सीमित बजेटका बाबजुद नगरपालिकाले लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर थापाले बताए। स्वास्थ्य सम्बन्धी प्रमुख कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम, गर्भवती महिलाको घरघरमा स्वास्थ्य सेवा, विद्युतीय रेकर्ड प्रणाली, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा बालबालिकाका लागि विशेषज्ञबाट निःशुल्क उपचार व्यवस्था रहेको उनले जानकारी गराए ।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी दर १५ प्रतिशत देखिए पनि बाहिरका अस्पतालमा हुने प्रसूति समेत जोड्दा घरमै सुत्केरी हुने दर शून्य पुगेकाले समग्रमा शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित भएको दाबी नगरको स्वास्थ्य शाखाले गरेको छ। खोप कार्यक्रमअन्तर्गत ८२ प्रतिशत उपलब्धि देखिए पनि घरधुरी सर्वेक्षणअनुसार खोप छुटेका बालबालिका नरहेकोले व्यवहारमा पूर्ण खोप सुनिश्चित भएको जनाइएको छ।

कुपोषण नियन्त्रणका लागि आमा समूहमार्फत स्वास्थ्य शिक्षा, पोषणयुक्त खाना तयार गर्ने तालिम, बालबालिकाको तौल मापन, बालभिटा वितरण, विद्यालय स्वास्थ्य शिक्षा, भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण र किशोरीहरूलाई आइरन चक्की वितरणजस्ता कार्यक्रम सञ्चालन सञ्चालन गर्दै आइएको छ। नगरपालिकामा ग्यास्ट्रिक, उच्च रक्तचाप र मधुमेह प्रमुख स्वास्थ्य समस्या रूपमा देखिएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । उनलेका अनुसार नसर्ने रोग नियन्त्रणका लागि टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ । मानसिक स्वास्थ्य सेवा सामान्य स्तरमा उपलब्ध भएपनि यसको दायरा अझ विस्तार गर्नुपर्ने आवश्यकता स्वास्थ्य शाखाले औल्याएको छ ।
पछिल्ला वर्षहरूमा घरमै सुत्केरी हुने प्रचलन अन्त्यतर्फ उन्मुख हुनु, नसर्ने रोगको समयमै पहिचान, गर्भावस्थामा देखिने जटिलताको पहिचान र आमा तथा नवजात शिशुको मृत्यु दर न्यूनीकरणमा योगदानलाई प्रमुख उपलब्धिका रूपमा लिइएको छ ।
यद्यपि स्वास्थ्य सेवा प्रवाहमा भौगोलिक असमानता प्रमुख चुनौती बनेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए। मानव बस्ती र स्वास्थ्य संस्थाको स्थानबीच दूरी हुँदा नागरिकलाई सेवा लिन कठिनाइ हुने गरेको उनले बताए। त्यसैगरी, औषधि अभाव, सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा नहुनु, व्यवस्थापन तथा नीति निर्माणमा केही कमजोरी देखिनुजस्ता समस्या रहेको उनले जानकारी गराए ।

नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि स्पष्ट दरबन्दी संरचना, स्थायी जनशक्ति व्यवस्था, कर्मचारी सरुवा नीतिको सुधार तथा औषधि खरिद प्रक्रियामा सहजीकरणका लागि संघ र प्रदेश सरकारसँग अपेक्षा गरेको छ ।
सेवाग्राही सन्तुष्टि मापनका लागि प्रश्नावलीमार्फत अध्ययन गरिँदै आएको नगरपालिकाले गुनासो व्यवस्थापनका लागि स्वास्थ्य संस्था, स्वास्थ्य शाखा र नगरपालिकाबीच समन्वय गरी समाधान गर्ने व्यवस्था गरिएको छ। नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने, पोषणमैत्री स्थानीय तह निर्माण गर्ने, सेवा विस्तार गर्ने तथा गुणस्तर सुधार गर्ने लक्ष्य लिएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी गराए ।
समग्रमा शुक्लागण्डकी नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्य क्षेत्रमा सकारात्मक पहल गरेको देखिन्छ । तर सेवा पहुँच विस्तार, पूर्वाधार सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय सेवा सुनिश्चितताका लागि थप लगानी र प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ ।
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा २०८३ वैशाख १ गते प्रकाशित विशेषाङ्कमा प्रकाशन भएको)










