व्यासमा वडाको सिमाना हेरफेर अध्ययनका लागि समिति गठन

व्यास नगरपालिकाको २३१औँ नगर कार्यपालिका बैठकले वडाको सिमाना हेरफेर अध्ययनका लागि समिति गठन गरेको छ । उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा गठित समितिले स्थानीय सरकार सञ्चालन ऐन अनुसार आगामी स्थानीय तह निर्वाचन हुनुभन्दा एक वर्ष अगावै भौगोलिक संरचना तथा स्तरवृद्धि सम्बन्धी प्रस्ताव प्रदेश सरकारमार्फत नेपाल सरकारमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले नगरपालिकाका वडाहरूको सिमाना हेरफेर लगायत विषयमा अध्ययन गर्ने भएको छ ।
२०८२ फागुन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी गठन गरिएको समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खले, वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) र कार्यपालिका सदस्य चन्द्रमाया परियार रहेका छन् भने भूमि नियमन तथा घरनक्सा शाखा प्रमुख सदस्य–सचिव रहेन निर्णय गरिएको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षमा बसेको कार्यपालिका बैठकले नगरपालिकाअन्तर्गत दैनिक सरसफाइ सेवा प्रदान गर्ने समिति तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै निषेधित प्लास्टिक प्रयोग नियन्त्रण र सडक व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, नगरवासी र व्यवसायीलाई सहकार्यका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले शहीद दिवसका अवसरमा व्यास–५ मानुङ्गकोटबाट व्यास–८ पुलिमराङसम्म आयोजना गरिएको ४४ किलोमिटर अल्ट्राम्याराथन कार्यक्रमका समिक्षा गर्दै सहयोगी सबै क्षेत्रलाई धन्यवाद व्यक्त गरेको छ ।
यसैगरी नगरसभाको ४४औँ बैठकबाट पारित संशोधित आर्थिक वर्ष २०८२÷०८३ को कुल आय–व्यय १ अर्ब ७२ करोड ५२ लाख ४ हजार ५ सय रुपैयाँ मध्ये मिति माघ २२ गतेसम्म ४२.१९ प्रतिशत आय भएको तथा कुल खर्च ३०.३५ प्रतिशत रहेको विवरण बैठकमा प्रस्तुत गरी समिक्षा गरिएको थियो।
बैठकले व्यास नगरसभाको ४४औँ बैठकबाट पारित संशोधित संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अनुसार कायम भएका पदहरू गण्डकी प्रदेश सरकारमा दर्ता गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ ।










