प्रभात माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण

भानु : तनहुँको भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कापी, कलम, पेन्सिल, इरेजर, मार्कर लगायतका शैक्षिक सामाग्रि वितरण गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी पूर्णकाजी थापाको पहलमा ‘प्रभात मावि भानु–६ सिम्पानीका लागि मनकारी हातहरु’ अभियान मार्फत विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्रि उपलब्ध गराइएको हो ।
उक्त अभियानमा जोडिएका विभिन्न दाताहरुको सक्रिय सहभागितामा शैक्षिक सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे, अभियानका नेपाल प्रतिनिधि प्रकाश चन्द्र गुरुङ्ग, अभियानका सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको सहभागितामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रितेश खड्गी अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका सूचना अधिकारी सन्तोष ढकाल, सहायक प्रधानाध्यापक रेशम अधिकारीले सहजिकरण गर्नुका साथै अभियानका प्रतिनिधि ध्रुव थापाले कार्यक्रमको उद्देश्य, सुरुवात र योगदानकर्ताहरुको बारेमा प्रकाश पारेका थिए भने कक्षा १० का छात्र शम्भु गोतामेले विद्यार्थीहरूका तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
अभियानका नेपाल प्रतिनिधि प्रकाश चन्द्र गुरुङ्गले विदेशमा रहेका पूर्व विद्यार्थी र विद्यालयबीचको पुलको रूपमा आफूले कार्य गरिरहेको जानकारी गराउँदै यस अभियानलाई थप बृहत् र दीर्घकालीन बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक चिज कुमार सुर्खालीले सहयोगको पूर्ण सदुपयोग गरिने र विद्यालयलाई थप स्तरोन्नति गर्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । नगर उपप्रमुख उमा गोतामेले विद्यालयको शैक्षिक प्रगतिको लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाएकी थिइन ।

कार्यक्रममा ’प्रभात मावि भानु–६ सिम्पानीका लागि मनकारी हातहरु’ अभियानका सक्रिय सदस्यहरुद्वारा विद्यालयलाई ५ हजार १०० रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । साथै, सिम्पानी कुसुमपानीका पूर्व विद्यार्थीहरुले सामग्री सुरक्षित राख्न २३ हजार रुपैयाँ बराबरको स्टिलको दराज समेत विद्यालयलाई प्रदान गरेकोमा अध्यक्ष रितेश खड्गीले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।










