कम्युनिस्ट चिनौं जनता, सच्चा कम्युनिस्ट बनौं नेता
सुरेशकुमार पाण्डे

यो देशका जनताले न कम्युनिस्ट चिन्न सके, न त नेताहरू कम्युनिस्ट बन्न सके । यही नै हाम्रो समाजको मूल समस्या हो । जनताले आमूल परिवर्तन चाहेका छन्। देशले विकास चाहेको छ र परनिर्भरताबाट मुक्ति खोजेको छ । तर, जनताको यही चाहनाको फाइदा अवसरवादले उठाउँदै आएको छ– त्यो पनि कम्युनिस्टकै नाममा । यस प्रक्रियालाई प्रतिक्रियावादी तथा अन्तर्राष्ट्रिय पुँजीवादी शक्तिहरूले समेत सहयोग गर्दै आएका छन्, ताकि एउटै बाणले दुईवटा सिकार गर्न सकियोस् । अवसरवादलाई नेतृत्वको बागडोर समाउन उनीहरूले सहयोग पु¥याएका हुन्छन् ।
‘सच्चा कम्युनिस्ट बनौँ’ भनेर घरी–घरी भनिरहनुपर्ने अवस्था किन आयो होला ? भन्दाभन्दै पनि अब त लाज लागिसक्यो। आखिर को सच्चा हो र को झुटो ? जनताले कसरी चिन्ने ? सबैका आ–आफ्नै कथा हुन्छन् । सबैले आफूलाई दूधले धोएको बताउँछन्। तर हामी जनताले उनीहरूको भनाइ मात्र होइन, उनीहरूले अपनाएको व्यवहार, आचरण तथा देश र जनताप्रति देखाएको जिम्मेवारीका आधारमा तुलनात्मक रूपमा बुझ्न सक्छौँ । यसले सही र गलत छुट्याउन केही हदसम्म मद्दत गर्छ ।
नेतृत्वका अतिरञ्जित नाराबाट देशका युवाहरू आकर्षित हुन्छन् । अहिले पनि कसैले कुनै सरकारी कार्यालयमा तोडफोड गरौँ भन्ने नारा लगायो भने उसैलाई क्रान्तिकारी ठान्ने प्रवृत्ति देखिन्छ । हाम्रो समाजको चिन्तन कतिपय अवस्थामा अराजक प्रकृतिको छ । विरोधका लागि विरोध र समर्थनका लागि समर्थन गर्ने, त्यो सही हो कि गलत भन्नेबारे सोच्ने प्रवृत्ति कमजोर देखिन्छ ।
त्यसैले कम्युनिस्टलाई नियाल्ने दृष्टिकोण पनि व्यक्तिगत फाइदा र घाटाका आधारमा प्रयोग गरिन्छ । यो समस्या नेपालमा मात्र होइन, विश्वव्यापी कम्युनिस्ट आन्दोलनमा पनि देखिएको छ । यस्ता प्रवृत्तिले कम्युनिजमलाई रक्षात्मक अवस्थामा पु¥याएको लेखकको निष्कर्ष छ। नेपालमा त झन् कम्युनिस्टमाथि कम्युनिस्ट भनिनेहरूबाटै नैतिक प्रहार हुँदै आएको छ ।
नेपालको भूराजनीतिक अवस्थालाई हेर्दा छिमेकी देश तथा विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभावलाई पनि बेवास्ता गर्न सकिँदैन। नेपाललाई सस्तो श्रमको स्रोतका रूपमा प्रयोग गर्ने प्रवृत्तिका कारण नेपाली युवाहरू विश्व श्रम बजारमा सस्तो श्रम बेच्न बाध्य भइरहेका छन् । यसको आधार तयार पार्ने काम कथित कम्युनिस्टहरूले समेत गरेको लेखकको आरोप छ । यसको स्रोत समाजमा रहेको रूढीवाद, व्यक्तिमा रहेको लोभ तथा नेताहरूमा रहेको पद र प्रतिष्ठाको भोक हो ।
हामीलाई कहिलेकाहीँ यस्तो लाग्न सक्छ– संविधान बनेपछि मात्र यस्तो अवस्था आयो कि ? तर यथार्थमा समस्या त्यतिमै सीमित छैन । सुगौली सन्धिदेखि नै नेपालमाथि बाह्य प्रभाव र हस्तक्षेपको इतिहास जोडिएको छ । ब्रिटिस भारतले नेपालीहरूलाई आफ्नो प्रभावमा राख्न खोजेको र गोर्खा भर्ती त्यसैको एउटा रूप भएको तर्क गर्न सकिन्छ ।
कुनै पनि देशको मेरुदण्ड भनेको त्यहाँका युवा हुन् । युवालाई आफ्नो प्रभावमा राखेपछि देशलाई नियन्त्रण गर्न सहज हुन्छ भन्ने तत्कालीन ब्रिटिस भारतको रणनीति रहेको छ । सुगौली सन्धि र गोर्खा भर्तीबाट सुरु भएको त्यो इतिहास आजसम्म कुनै न कुनै रूपमा निरन्तर रहेको छ । त्यसपछि स्वतन्त्र भारतसँग भएको शान्ति तथा मैत्री सन्धिमा समेत असमानताको भार रहेको छ ।
हामी त्यही असमान सन्धि र सम्झौताबाट उत्पन्न समस्याका लागि आफ्नै सन्तानसँग लडेर मरिरहेका छौँ। जनतालाई अलमल्याउँदा–अलमल्याउँदै कतिपय नेता विदेशी शक्तिका स्वार्थसँग जोडिएको आरोप लाग्ने अवस्थामा पुगेका छन् ।
क्रान्ति भनेको बन्दुक पड्काउनु र मान्छे मार्नु होइन । क्रान्ति भनेको मानिसभित्र रहेको अमानवीय सोच, अन्याय र शोषणको अन्त्य गर्नु हो । देशका जनताले आमूल परिवर्तन चाहेका थिए। तर नेताहरूका लागि परिवर्तनसँगै सत्ता, पद र प्रतिष्ठाको अवसर पनि जोडिएको थियो । त्यसैले परिवर्तनका लागि संघर्षरत जनतालाई उपयोग गरेर सत्ताको स्वाद लिने प्रवृत्ति विकसित भयो । त्यसैको देखासिकी आज घर–घरमा पार्टी खोल्ने प्रवृत्तिसम्म आइपुगेको छ ।
अहिले जनतालाई गुमराह गर्न अर्को शक्तिले पनि कम्मर कसेको देखिन्छ । पुरानाहरूले काम गर्न सकेनन्, भ्रष्टाचारी भए र विदेशीका दलाल भए भन्दै जनताको आँखामा छारो हाल्न सफल भएकाहरू स्वयं पनि उस्तै वा त्योभन्दा खराब अवस्थामा पुगेको विषयलाई नर्कना सकिदैन ।
अब भित्रभित्रै अर्को विद्रोहको आधार तयार हुन थालेको छ । तर त्यसबाट कसले फाइदा उठाउने हो, त्यो भविष्यको गर्भमा छ। अवसर ढुकेर बसेका अन्तर्राष्ट्रिय शक्तिहरूको खेलौना बन्ने अवस्था विगतमा पनि देखिएको र भविष्यमा पनि त्यस्तो जोखिम रहन सक्ने चिन्ता छ । अहिले पनि नेपालको राजनीतिक अवस्थाप्रति नेपालीहरूको जति चासो छ, त्योभन्दा कैयौँ गुणा चासो बाह्य शक्तिहरूको रहेको छ । नेपालको भूराजनीतिक धरातलमा कूटनीतिक नीति र व्यवहारसमेत थप परिपक्व हुनुपर्ने देखिन्छ। देशको आन्तरिक राजनीति र आर्थिक क्षेत्रमा दलाल पुँजीको प्रभाव बलियो हुँदै गएको तथा देशभक्त किसान र राष्ट्रिय पुँजीपतिहरूको अवस्था प्रभावशाली बन्न नसकेको विश्लेषण गर्न सकिन्छ ।
राजनीति गर्ने नेता वा शासकलाई आर्थिक स्वार्थ भएका समूहहरूले प्रभावित पार्ने अवस्था रहेसम्म राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताको लक्ष्य हासिल गर्न कठिन हुन्छ । देशलाई यो अवस्थाबाट मुक्त गर्न निःस्वार्थ राजनीतिक शक्ति आवश्यक छ। त्यो शक्ति कम्युनिस्ट अन्तर्राष्ट्रवादभित्र खोज्न सकिन्छ ।
देशलाई जोगाउन, आत्मनिर्भर र शक्तिशाली बनाउन कम्युनिस्ट व्यवस्था नेपालका लागि आवश्यक छ । त्यसका लागि नेपाली जनता भौतिकवादी चिन्तनमा विश्वास गर्ने हुनुपर्छ । हाम्रो समाजलाई रूढीवादी परम्पराले विभाजित गरेको छ । यस यथार्थलाई स्वीकार गर्ने साहस पनि आवश्यक छ ।
देशका जनता विकासका लागि संघर्षरत छन् । तर विकासका महत्वपूर्ण क्षेत्र विदेशी पुँजी र स्वार्थको प्रभावमा पर्दै गएको छ । विदेशी शक्तिहरूले नेपालको विकास चाहँदैनन् र नेपाललाई सिक्किम वा फिजीजस्तै बनाउन खोजिरहेका छन् । पछिल्लो समय नेपाललाई सम्भावित द्वन्द्वको मैदानका रूपमा प्रयोग गर्ने रणनीतिसमेत बन्न सक्ने खतरा देखिन्छ ।
देशमा पटक–पटक गृहयुद्धको अवस्था सिर्जना गर्ने, नयाँ–नयाँ शक्ति खडा गर्ने र अन्ततः नेपाललाई असफल राष्ट्र घोषणा गर्ने षड्यन्त्र भइरहेको हो कि भन्ने शंका उब्जिने गरेको छ । यस्तो अवस्थामा देशभित्रका राजनीतिक दलहरूले बाह्य शक्तिको रणनीति बुझेर पनि मौन बस्ने वा बेवास्ता गर्ने हो भने त्यसको परिणाम गम्भीर हुन सक्ने खतरा छ ।
गृहयुद्धबाट अन्ततः कसैको पनि हित हुँदैन । बरु बाह्य शक्तिले फाइदा उठाउने र राष्ट्रिय राजनीतिक शक्तिहरू कमजोर बन्ने सम्भावना रहन्छ । अबको कुनै पनि आन्दोलन रक्तपातमा परिणत भयो भने त्यसले जनधनको क्षति मात्र होइन, राष्ट्रिय अखण्डता र भूभागमाथि समेत गम्भीर जोखिम निम्त्याउने जोखिम बढ्को छ ।
देशको विकास, आत्मनिर्भरता, बाह्य हस्तक्षेपबाट मुक्ति, विभेदकारी गतिविधिको अन्त्य तथा श्रमजीवी वर्गको हकहितका लागि बलियो राजनीतिक व्यवस्था आवश्यक छ । लेखकका अनुसार त्यसका लागि कम्युनिस्ट व्यवस्था नै प्रभावकारी माध्यम हुन सक्छ ।
तर सच्चा कम्युनिस्ट बन्नु भनेको नारामा मात्र सीमित हुनु होइन । जनताको जीवन, देशको स्वाधीनता, श्रमजीवी वर्गको अधिकार, राष्ट्रिय उत्पादन, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायका पक्षमा व्यवहारबाट उभिनु हो । त्यसैले अब आवश्यकता जनतालाई कम्युनिस्ट चिनाउने र नेताहरूलाई सच्चा कम्युनिस्ट बन्न प्रेरित गर्ने राजनीतिक संस्कारको हो ।










