किन चर्चामा छ ! जुम्लाको मार्सी धान
केबि मसाल

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती बिउ राख्ने काम भएको छ । नेपाली समाजमा मात्र होइन तेस्रो मुलुकमा समेत लोकप्रिय बन्दै गएको कालिमार्सी धान खेतीका लागि प्रत्येक वर्ष चैत १२ गते बिउ राखिन्छ । धानको बीउको बोरा पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा कालिमार्सी धान उत्पादनको आरम्भको दिन मानिन्छ । जुम्लाको प्रचलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ-आफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ । चैत १२ गते भिजाइएको बिउ १६ गते बाहिर निकालिन्छ र २० गते छरिन्छ ।
जुम्लामा आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । मार्सी धान पाक्न सात महिना लाग्दछ । चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नु पर्दछ । त्यसपछि वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन हुन्छ । त्यसपछि बीउ हरियो हुन थालेपछि भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिगर चालेर मलका रुपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जुम्लामा किसानहरुले जौ काटदै सँगसँगै रोपाइँ गर्दछन् । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्ये साउनसम्म गोडमेलको काम हुन्छ ।
जुम्लाको मार्सी सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सवैभन्दा उंचाई अर्थात समुन्द्र सतहबाट करीव ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानिमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व यतिखेर नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जुम्लाबाट हुलाकमार्फ दैनिक दुइ मानाका दरले मार्सी धानको चामल पुर्याउने गरिएको थियो । यो क्रम मोहनशम्शेरको पाला २००७ सालसम्म जारी थियो । जग्गाको भोगचलन गरेवापत राज्यलाई बुझाउनुपर्ने तिरो पनि चामल नै थियो । जुम्लाको मार्सी धानको चामलमा फाइबरको मात्र बढी हुन्छ । यो चामलको भात खानाले सुगर र प्रेसरका बिरामीका लागि फाइदा हुन्छ ।
मार्सीको चामलमा आइरन, स्र्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वाद र स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मान्ने गरिन्छ । अर्को कुरा बेलायत भ्रमणमा रहेका जंगबहादुरसँग बेलायती महारानीले नेपाली संस्कृति अनुसारको उपहारको अपेक्षा गरेपछि जंगबहादुरले महारानीलाई उपहार दिन मार्सी धानको चामल मगाएका थिए । जुन कुरा इतिहासकार प्रा डा त्रिरत्न मानन्धर अनुसार बेलायत भ्रमणमा जाँदा जंगबहादुरले बेलायती महारानीका लागि गैंडाको खाग, हात्तीका दारा, खिनखापको कपडा जस्ता सामाग्री लिएर गएका थिए । उपहार प्राप्त गरेपछि महारानीले भनिछन मलाई नेपाली संस्कृति हेर्न मन छ । उपहार पनि सोही अनुकूलकै ल्याएको भएपनि हुने थियो । त्यसपछि जंगबहादुरले महारानीलाई उपहारका लागि भनेर बेलायतबाट सूची बनाएर केही सामान मगाएछन् । बेलायती महारानीलाई उपहार दिने सामाग्रीको सूचीमा ६-७ प्रकारका चामलपनि थिए। तिनमा मार्सी, मसिनो, टौली, मनसरा लगायतका धानका चामलपनि थिए । यसबाट पनि मार्सी चामलको महत्व बढेको पाइन्छ ।
जुम्लामा करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र भने हराएको छ । किंवदन्ती अनुसार सुरुमा जुम्लामा कुनै पनि धान पाक्न सकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरुमा लाछु जिउरो अर्थात तातोपानी नजिकको गाउँ भन्ने ठाउँमा रोपेका र पछि अरु किसानले पनि यसैगरी रोप्दै जाँदा मार्सी धान यहाँ फैलिएको हो भन्ने भनाइ छ । जुम्लाको खलंगा वरपर र सिजा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक वर्ष चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र तामाको खडकुलो वा हण्डीमा धान भिजाएर राखिन्छ । चार दिनपछि अर्थात चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा अर्थात उनको कपडामा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुन पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ ।
यसरी राखिएको धानको रासलाई तातोस भनेर सल्लाको झाँपो र कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१/२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र यसै दिन चेलीबेटीलाई बोलाएर देउडा नाच नचाइन्छ । यो दिनलाई विसुवा पर्व भन्ने गरिन्छ। बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व पनि भन्ने गर्दछन ।
चैत १२ गते काली मार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रुपमा विसुवा पर्व मनाउने प्रचलन जुम्लामा छ । चैत २० गते ब्याडमा धानको बिउ र्छनु पूर्व त्यसको पुजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङगा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन पनि रहेको छ । काली मार्सी धान काटन विशेष दिन पारिन्छ । बुधबार या शुक्रबार पारेर मात्रै धान काटने परमपरा छ । जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा घरमा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती पनि छ ।
बि.स. १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको विउ राखेका थिए । विउको परीक्षण पछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न शुरु गरिएको हो । पहिले एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुनेमा केही वर्ष यता आएर धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि मार्सी धानको उत्पादन घट्दो अवस्था छ । संसारमा रातो रङको चामल दस प्रजाति भन्दा बढी छैन । नेपालमा जुम्ला बाहेक रातो धान अन्य जिल्लामा पनि फल्दछ । यसको नाम पहाडी जिल्लाहरुमा आँगा भन्ने गरिन्छ भने दाङमा यसलाई सिमठारो भन्ने गरिन्छ । जुम्लाको काली मार्सी धानको चामल तिनै मध्ये एक हो । काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस ४ डिर्गी सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भुटान, भारत, पाकिस्तान लगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।
जुम्लाको गुठीचौर र बुम्रमाडीचौर बाहेक प्रायः सबै गाउँहरुमा काली मार्सी धानको उत्पादन हुँदै आएको छ । कृषि कार्यालय जुम्लाका अनुसार कुल धानखेत हुने क्षेत्रफल २,९५० हेक्टरमध्ये १३०० हेक्टरमा काली मार्सी धानको उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुमचौर र हाकुमा पनि किसानले काली मार्सी धानको उत्पादन गर्दै आएका छन् । यस्तै तातोपानी गाउँपालिकाको लाछु ज्युलोमा पनि काली मार्सीको खेती गरिन्छ । काली मार्सीलाई चिसो मौसमका साथै धेरै पानी चाहिन्छ । उत्पादन घट्दै गएपछि धेरै किसानले मार्सी धान लगाउन छाडेका छन् । पछिल्लो समय काली मार्सीमा ब्लास्ट रोगको संक्रमण बढेपछि लोप हुने अवस्थामा पुगेको छ ।
जुम्लामा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो र यो पौष्टिकताले भरिपूर्ण मानिन्छ । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्यान सक्छन् । जुम्ली मार्सी नेपालको उच्च पहाडी जिल्लाहरु जुम्ला, बाजुरा तथा बझाङ जिल्लामा सिमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । मार्सी धान संसारको सबैभन्दा उच्च २७९० मिटरमा फल्ने जातको रुपमा चिनिन्छ । यो धान ज्यापोनिका प्रजातिको रैथाने धानको जात मानिन्छ । जुम्ली मार्सीको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र प्रशस्त पोषकतत्व भएकोले यसको महत्व मानिन्छ ।
जुम्ली मार्सीलाई जुम्ला जिल्लाको पहिचानको रुपमा लिइन्छ । शितोष्ण हावापानीको लागि उपयुक्त मानिँदै आएको मार्सी जातको धानमा चिसो सहन सक्ने जिन -बंशाणुगत गुण) रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले जनाएको छ । जुम्लामा मन्दिरमा चढाउने, होम गर्न तथा अक्षता बनाउन मार्सीको चामल प्रयोग गर्ने धार्मिक प्रचलनले पनि यो धानको महत्व अझ बढेको छ । तर यो मार्सी धानको उत्पादन धेरै हुँदैन । जुम्ली मार्सीको उत्पादकत्व जम्मा १.७ टन प्रति हेक्टर मात्र रहेको छ । जुन राष्ट्रिय औषतको ४० प्रतिशतले कम हो । जुम्लामा मार्सीको उत्पादन प्रतिहेक्टर १५ क्विन्टल हुने गरेको पाइन्छ । मार्सी धान जुम्ला जिल्लाभरको उत्पादन करिब २ हजार ८० मेटि्रक टन रहेको छ। जसबाट १ हजार २४८ मेटि्रक टन चामल निकाली कर्णाली प्रदेश लगायत देशका बिभिन्न ठाउँहरुमा बिक्री बितरण भएको पाइन्छ ।
जुम्ली मार्सी धान लोप हुने अवस्थामा पुगेको छ । यो धानमा लाग्ने ब्लाष्ट रोगले उत्पादनमा ह्रास भइरहेको छ । उत्पादनमा आएको ह्रासले गर्दा किसानले लगाउन छाडेको अवस्था रहेको छ । किसानहरुको मार्सी धानप्रति आकर्षण घट्नुको अर्को कारण असिना पानी पर्दा अत्याधिक धान झर्नु पनि हो । जुम्ली मार्सी अग्लो प्रजातीको धान भयकोले धान ढल्ने समस्या भइ बाली भित्राउन पनि कठिन हुन्छ । आजभोली किसानहरुको रोजाइ होचो प्रजातिका धानहरु तिर छ । नेपाल बिश्वमै प्रचुर रैथाने बालीहरु भएको देशका रुपमा चिनिन्छ । नेपालमा लट्टे, कोदो, अनौती, कागुनु जस्ता अत्याधिक पोषण भएका जंगली जातका बालीहरु को डोमेस्टिकेसन भइ रैथाने जातको बालीमा परिणत भएका छन् । तर लोपोन्मुख रैथाने बालीहरुका प्रजातिहरुको चर्चा हुन जरुरी छ । ढिलै भएपनि जुम्ली मार्सीको चर्चाले देशका अन्य रैथाने बालीहरुको पनि चर्चा भएमा सरकारी तथा गैह्रसरकारी निकायबाट ती बालीहरुको ब्यावसायीकरणको पहल हुन जरुरी छ ।
बिकसित मुलुकहरुमा जंगली जातका बालीहरुलाई अनुबंशिक श्रोतको रुपमा लिइ लिने गर्दछन । जंगली जातका बालीहरुबाट राम्रो गुण भएका जिनलाई उन्नत जातका बालीहरुमा प्रबिष्ट गराइ बढी उत्पादन दिने बालीको बिकास गरिन्छ । त्यसैगरी रोग र किरा प्रतिरोधि जातहरुको बिकास गर्न पनि जुम्ली मार्सी जस्ता प्रजातिहरुको जिन प्रयोग गरिन्छ । नेपाल कृषि अनुसन्धान परिषदले मार्सी धान संरक्षणका लागि अनुसन्धानको थालनी गरेको छ । अनुसन्धान केन्द्रले मार्सी धानको चिसो सहन सक्ने गुणलाई उन्नत जातको धानसंग क्रस गरी चन्दननाथ-१ र चन्दननाथ-३ जातका धान सिफारिस गरेको छ । अब जुम्ली मार्सी धान संरक्षण तथा सम्बर्द्धनका लागि बाली प्रजनन्मा सरकारी तवरबाटै ध्यान दिन जरुरी छ । ब्लाष्ट प्रतिरोधि जिन तथा होचो बनाउने जिनलाई जुम्ली मार्सीमा प्रबिष्ट गरिएमा धानको उत्पादनमा आएको ह्रासलाई न्यूनीकरण गर्न पर्दछ । उत्पादन ह्रास गर्ने ब्लाष्ट प्रतिरोधि जिन तथा होचो बनाउने गुण यस जातमा प्रबिस्ट गराउन सके कृषकहरुको मार्सी धानप्रतिको आक्रर्षण बढन जान्छ । पछिल्लो समय धानमा ब्लास्ट रोगको संक्रमण बढेको छ । यसैले लागतअनुसार उत्पादन कमी हुँदै गएपछि किसानले धान खेती गर्न छाडेका छन । जुम्लामा मार्सी धान बाहेक अन्य अन्नवालीमा मकै, कोदो, जौं, गहु धान, फापर, चिनु, कागुनु आदि प्रमुख छन ।