तनहुँ प्रहरीमा कलाकार शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी, दोषी भए सजाय भोग्न तयार छु : पल शाह
भञ्ज्याङ न्यूज

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ। एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ ।
उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको उनले बताए । पीडित नाबालिगको तर्फाट उनको पिताले जाहेरी दर्ता गरेका छन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । विगत अन्दाजी ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ ।
प्रहरीमा दर्ता गरिएको जाहेरीमा भनिएको छ : ‘निज पूर्ण विक्रम शाह -पल शाह)ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।’
‘यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापा समेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र र्फकदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने, समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बर्साईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह -पल शाह)ले फोन गरी सुटिङको लागि म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकर्साईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म त्रि्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।’
‘छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्यो म त्रि्रो कोठामा दिन दिनै आउँछु, ति म्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगेपछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदाहुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् । छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोरवाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।’
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।
दोषी भए सजाय भोग्न तयार छु : पल शाह
नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।










