भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइयो : भानुभक्त नेपाली साहित्यको मेरुदण्ड–मुख्यमन्त्री पाण्डे

तनहुँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएकाले उनलाई भाषिक एकीकरणमा ठूलो योग्दान पु¥याएको भन्दै स्मरण गर्ने गरिन्छ । भानुभक्तले लेखेका रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेभने नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका छन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ लेखेका थिए ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनलाई सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।
आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
भानुभक्त नेपाली साहित्यको मेरुदण्ड ” मुख्यमन्त्री पाण्डे
यस्तै, भानुजन्मस्थल चुँदीरम्घामा आइतबार भानु जन्मस्थल विकास समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यको मेरुदण्ड रहेको बताएका छन् ।
नेपाली भाषाको माध्यमबाट सांस्कृतिक एकता र पहिचान निर्माणमा भानुभक्तको योगदान अतुलनीय रहेको स्मरण गर्दै मुख्यमन्त्री पाण्डले भने, ‘नेपालमा भाषिक एकिकरण तनहुँबाट आदिकवि भानुभक्त आचार्यले गर्नुभएको हो । नयाँ पुस्ताले भानुभक्त जस्ता स्रष्टाको जीवन दर्शनबाट प्रेरणा लिनुपर्छ । सिर्जनशीलता र मातृभाषाप्रतिको अनुराग विकास गर्न गराउन स्थानीय तहसँगको साँझेदारीमा प्रदेश सरकारले नीतिगत पहल गर्ने छ ।’

सबै भाषा, धर्म संस्कृतीको संरक्षणका सन्र्दभमा गण्डकी प्रदेश सरकार संवेदनशिल रहेको बताउँदै उनले भने, ‘भर्खरैमात्र गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ । हाम्रो गण्डकी प्रदेशमा सबैभन्दा धेरै संख्यामा रहेका मगर र गुरुङ समुदायको सम्मान र पहिचानमा सरकारले साथ दिएको छ ।’
चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता
यस्तै, २१२औँ भानुजयन्तीका अवसरमा भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालयस्तरीय कविता, चित्रलेखन, खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न भएका छन् । विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम भएकी छन् । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता पौडेल द्वितीय, भानु संस्कृत माविका सृष्टि सुनार तृतीय तथा भानु संस्कृत माविका विनिशा श्रेष्ठ र नारायणी आवासीय विद्यालयका शिवानी अधिकारी सान्त्वना भएको समितिका सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए ।
विद्यालयस्तरीय भानुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृति माविका स्नेहा गुरुङ प्रथम, भानु संस्कृत माविका अङ्कित बसेल द्वितीय, नारायणी आवासीय विद्यालयका रमेश राई तृतीय र अनिता तामाङ सान्त्वना पुरस्कार पाएका छन् । खुला कविता प्रतियोगितामा भानु नगरपालिका–४ का महेश ठेडीमगर प्रथम, भानु नगरपालिका–१ का रश्मी सेढाईं द्वितीय, भानु नगरपालिका–४ का रामप्रसाद पौडेल तृतीय र सोही वडाका अनिता श्रेष्ठ सान्त्वना पुरस्कार पाएका छन् ।

यस्तै, भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मावि पोखराका सुजाता पौडेल प्रथम, व्यास नगरपालिका–३ का स्वाधीनता पौडेल द्वितीय, भानु संस्कृत माविका गरिमा नेपाली तृतीय र भानु संस्कृत माविकै प्रस्तुति आचार्यले सान्त्वना पुरस्कार पाएका छन् । विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार छ ।
चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गरिदै
आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
‘भानु जन्मस्थल जाऊँ ः भानुलाई चिनाऔँ’ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजना अन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय एवं देशविदेशमा आवश्यक समन्वय गरिने बताए ।
चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।’ साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिने छ । उनका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

नगरप्रमुख त्रिपाठीले भने, ‘भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण संवद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।’ नगरपालिकाले पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिकाभित्रका पर्यटनसँग आबद्ध संस्थालाई सक्रिय र संगठित बनाउँदै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउइने छ ।
त्यस्तै घरबास (होमस्टे)हरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं दर्ता र नवीकरण गरी ‘होमस्टे सर्किट’को विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रेलगायतका पहिचान संरक्षण तथा प्रवर्द्धन हेतुले भानु नगरको होमस्टे जाऊँ भन्ने नारालाई सार्थक तुल्याउन समुदायले सञ्चालन गरेका होमस्टे प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र व्यवस्थित रूपमा होमस्टे सञ्चालनमा सहयोग गरिने त्रिपाठीले उल्लेख गरे ।
खण्डहर बनेको जन्मथलोमा साहित्य उद्यानका लागि २३ करोड विनियोजन
आदिकविको २१२औं जन्म जयन्ती मनईरहदा उनले बाल्यकाल बिताएको घर (भानु गृह) भने खण्डहर बनेको छ । २०६० सालमा आगलागीबाट जलेर नष्ट भएको आदिकविको घर हाल सम्म समेत निर्माण हुन नसक्दा देश बासी सहित साहित्य प्रेमीहरू समेत चिन्तित हुने गरेका छन्। साहित्यिक सम्पदाको रूपमा रहेको आदिकवि भानुभक्त आचार्यको जन्म घर पुनः निर्माणमा ढिलाइ हुँदा खण्डहर बनेको हो । भानु जन्मस्थलको संरक्षण र विकास गर्ने उद्देश्यले २०५२ सालमा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि पर्याप्त बजेट नहुँदा काममा ढिलाइ भएको जनाएको छ ।
पश्चिमाञ्चल विकास मञ्चले भानुभक्तको घर (भानु गृह) निर्माण गर्ने जिम्मा लिए पनि सुरक्षा लगायत विभिन्न कारण देखाउँदै घर निर्माणको काम नै सुरु गरेको छैन। अब पनि मञ्चले भानु गृह निर्माण नगरे जन्मस्थलले नै निर्माण गर्ने तयारी रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष राम कुमार श्रेष्ठले बताए ।
‘पश्चिमाञ्चल विकास मञ्चले हामी निर्माण गर्छौँ भनेर हामीले कुरेको हो अब मञ्चले नबनाएको खण्डमा समितिले नै बनाउँछ’, उनले भने, ‘भानु शिखर कटेरी गुरुयोजना निर्माण गरेको पनि एक दशक भन्दा बढी भइसक्यो । दुई करोड ६० लाखमा रामायण भवन निर्माण सम्पन्न भएको छ । तर, अतिथि गृह, पाले बस्ने घर, पोखरी, पुस्तकालय लगायतका संरचना बनाउन कुनै सुरसार नै देखिन्न ।’

भानु शिखर गुरुयोजना सम्पन्न हुन करिब २० करोड रुपैयाँ लाग्ने बताइए पनि रामायण भवन बाहेकका अन्य संरचना निर्माण हुन सकेको छैन । भानुभक्तको महत्त्वबारे सरोकारवालाले चासो नदिँदा चुँदीरम्घा पछाडि परेको छ । देश विदेशमा आदिकविको ठुलो सम्मान छ तर स्थानीयले महत्त्व नबुझ्दा बत्तीमुनिको अँध्यारो भएको स्थानीयको भनाइ छ ।
यस्तै, भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सहरी विकास मन्त्रालय मार्फत आर्थिक वर्ष २०८२÷०८३ मा २३ करोड बजेट विनियोजन भएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष श्रेष्ठले बताए । भानु साहित्य उद्यानको लागि २० करोड र सोही स्थानमा लिफ्टिङ्ग खानेपानी आयोजनाको लागि ३ करोड गरी २३ करोड बजेट विनियोजन भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
भानु साहित्य उद्यानको डिपिआर तयार भएको र गुरुयोजना समेत अन्तिम चरणमा पुगेको छ । गुरुयोजना अनुसार दुई अर्बको लागतमा १० वर्षभित्र भानु साहित्यिक उद्यान अन्तर्गत भानुभक्तको १०८ फिट अग्लो मूर्ति, सातै प्रदेशको पहिचान झल्कने सप्त धाम लगायतको विभिन्न पूर्वाधार निर्माणको तयारी रहेको श्रेष्ठले बताए ।
जन्मस्थललाई संघ सरकार मातहत राख्न अनुरोध

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई स्थानीय सरकार मातहत राख्दा राष्ट्रिय विभूतिकै अपमान हुने स्थानीयको भनाई छ। तत्कालै स्थानीय सरकार मातहतमा रहेको जन्मस्थललाई संघ सरकार अन्तर्गत राखेर राज्यले दायित्व लिनुपर्ने भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीको भनाइ छ । उनले भने, ‘राष्ट्रिय विभूति पालिकाको मात्रै हुँदैन देशकै गहना हो त्यसैले सङ्घ सरकारले विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ । चुँदीरम्घालाई नेपाली भाषीको प्रमुख साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्न सकिने निकै ठुलो सम्भावना रहेको छ ।’










