गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

अञ्जली थापा/रासस

हेटौँडा : केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपथ्र्यो । एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उहाँलाई सधैँ चिन्तित बनाइरहन्थ्यो ।
“आफ्नो कमाईको एक रुपैयाँ पनि थिएन,” श्रिया विगत सम्झँदै भन्नुहुन्छ, “भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन । गाउँमै केही गरौँ भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन ।” गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उहाँका लागि घरायसी परिकार मात्र थियो । हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कोही कसैले पनि व्यवसायको रूपमा हेरेको थिएन । त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उहाँले कहिल्यै गर्नुभएन ।
“हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको नै थिएन,” उहाँ भन्नुहुन्छ, “यो सपना देखाउने काम ग्रिन फाउन्डेसन नेपालले ग¥यो, र त्यो सपनालाई व्यवहारमा उतार्ने वातावरण हेटौँडा उपमहानगरपालिकाले बनाइदियो ।”
ग्रिन फाउण्डेसन नेपालले तालिम र सामग्री हस्तान्तरणसहित सुरु गराएको उद्यममा हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र उद्यम सञ्चालनसम्बन्धी परामर्शले श्रियाको सोच परिवर्तन गरिदियो । त्यसपछि उहाँले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गर्नुभयो ।
सुरुआत भने निकै सामान्य थियो । उद्योगमा संलग्न महिलाले वार्षिक प्रतिकट्ठा रु एक  हजार ५०० का दरले १५ कट्ठा जग्गा भाडामा लिए । आफ्नै पसिना बगाएर रायोको साग लगाइयो र त्यसबाट ‘अग्र्यानिक’ गुन्द्रुक उत्पादन सुरु भयो । तर उत्पादन सुरु गर्नु जति चुनौतीपूर्ण थियो, बजार खोज्नु त्योभन्दा कठिन बन्यो ।
पहिलो वर्ष खेतमा मिहिनेतको कमी भएन । राम्रो उत्पादन भयो । तर बजारले ढोका खोलेन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरकारी अनुज्ञापत्र नहुँदा उत्पादन बजारसम्म पु¥याउन सकिएन । लाखौँ रुपैयाँ बराबरको गुन्द्रुक गोदाममै थन्कियो । बिक्री नहुँदा लगानी डुब्ने चिन्ता र भविष्यप्रतिको अन्योलले धेरै रात निद्रा हरायो । “कति दुःख गरेर उत्पादन ग¥यौँ, “उहाँ सम्झनुहुन्छ, “तर बेच्न नपाउँदा मन नै खिन्न हुन्थ्यो ।  मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो । तर हामीले हार मानेनौँ ।”
त्यही धैर्यले अन्ततः फल दियो । हेटौँडा उपमहानगरपालिकाको सहजीकरणमा उत्पादनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सरकारी अनुज्ञापत्र प्राप्त ग¥यो । सरकारी मान्यता पाएपछि उत्पादनप्रति बजारको विश्वास बढ्यो । व्यवसायी आफैँ सम्पर्कमा आउन थाले । ‘अर्डर’ बढ्न थाल्यो र बिक्रीको बाटो खुल्यो ।
“पहिले बिक्री नहोला कि  भन्ने डर थियो,” श्रिया मुस्कुराउँदै भन्नुहुन्छ, “अहिले त मागअनुसार उत्पादन नपुग्ला कि’ भन्ने चिन्ता छ ।” अहिले समूहलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि आएको मागसमेत पूरा गर्न भ्याइनभ्याइ छ ।
सुरुमा ११ जना रहेको समूह अहिले २० सदस्यीय बनेको छ ।  खेती विस्तार हुँदै गएको छ । हाल ३० कट्ठा जग्गामा खेती भइरहेको छ । निकट भविष्यमा ५० कट्ठासम्म विस्तार गर्ने योजना छ । उत्पादन बढेसँगै आगामी दिनमा ५० जनाभन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि समूहले लिएको छ । उत्पादित गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौँमा बिक्रीका लागि जाने गरेको छ । अहिले माग पूरा गर्न हम्यहम्य परेको उहाँको भनाइ छ ।
उत्पादनलाई वर्षभरि निरन्तरता दिन समूहले छ महिनासम्म अग्र्यानिक गुन्द्रुक उत्पादन गर्छ भने बाँकी समय विभिन्न प्रकारका अचार उत्पादन गर्छ । अर्को एक संस्थाको प्राविधिक सहयोगमा अचार प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम भइरहेको छ ।
समूहले करिब ३०० किलोग्राम अचार उत्पादन गरेको छ । प्रतिकिलोग्राम रु एक हजारका दरले बिक्री गर्दै आएको छ । यसबाट एक उत्पादन चक्रमै करिब रु तीन लाख बराबरको कारोबार हुने गरेको छ । गुन्द्रुकको बजार पनि निरन्तर विस्तार भइरहेको छ ।
समूहले उत्पादन गरेको ‘अग्र्यानिक’ गुन्द्रुक अहिले प्रतिकिलोग्राम रु ८०० मा बिक्री हुन्छ । स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि माग आउन थालेको छ । अग्र्यानिक गुन्द्रुक केवल नेपाली भान्साको परम्परागत स्वाद मात्र होइन, पोषणले भरिपूर्ण खाद्य पदार्थ पनि हो ।  गुन्द्रुकमा फाइबर, आइरन, क्याल्सियम पाइन्छ । यसले पाचन प्रणालीलाई सहज बनाउन, आन्द्राको स्वास्थ्य सुधार गर्न र शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिन्छ । पछिल्ला वर्षमा रसायनमुक्त तथा अग्र्यानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढेसँगै यसको माग पनि बढ्दै गएको छ । यही परिवर्तनले ग्रामीण महिलाले उत्पादन गरेका परम्परागत खाद्यवस्तुको बजारीकरण भएको छ ।
श्रियाको जीवनमा आएको परिवर्तन केवल आर्थिक मात्रै छैन ।  उहाँको आत्मविश्वास, सामाजिक पहिचान र निर्णय गर्ने क्षमता पनि बढेको छ । पहिले घरखर्चका लागि श्रीमान्को आम्दानीमा निर्भर रहनुपर्ने उहाँ अहिले आफ्नै आम्दानीबाट परिवार चलाउन, छोरीको शिक्षामा लगानी गर्न र समूहका अन्य महिलालाई नेतृत्व गर्न सक्षम हुनुभएको छ ।
“घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ,” उहाँ भन्नुहुन्छ, “अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौँ ।” हेटौँडा उपमहानगरपालिकाको करिब रु एक लाख र सहकारीको रु ८० हजार प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ । परम्परागत रूपमा घरभित्र सीमित रहेको गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले आफ्नै गाउँमा रोजगारी सिर्जना गरेका छन् ।  यसले स्थानीय कृषि उत्पादनको मूल्य बढाएको छ भने महिलाको श्रमलाई प्रत्यक्ष आम्दानीसँग पनि जोडेको छ ।
हेटौँडा उपमहानगरपालिका धेरै गृहिणी अहिले साना तथा घरेलु उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका छन् । कसैले अर्गानिक गुन्द्रुक उत्पादन गरिरहेका छन्, कसैले अचार, धूप, दलमोठ, हस्तकला, बेसार तथा अन्य स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका छन् । यसले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई पनि आर्थिक मूल्यसँग जोड्न सफल भएको छ ।
एक समय आफ्नो परिवारको भविष्यबारे चिन्तित रहने श्रिया आज अरू महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँको कथा केवल एउटा गुन्द्रुक उद्योगको सफलता होइन, अवसर, सीप, स्थानीय सरकारको सहयोग र महिलाको आत्मविश्वास एकसाथ जोडिँदा गाउँमै बसेर पनि सम्मानजनक जीवन र दिगो आम्दानी सम्भव हुन्छ भन्ने जीवन्त उदाहरण हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker