किसानले उत्पादन गरेको फापर गाउँपालिकाले खरिद गरी बिक्री गरिदिन थाल्यो

दमौली : आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी-६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो रु ६० मा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो रु एक सय ५० का दरले खरिद गरेको जानकारी दिनुभयो । “यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ ।”
सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको सुनाउनुभयो । “गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताउनुभयो । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकिलो रु ६० मा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो रु एक सय ५० मा बिक्री गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले विचौलियालाई बिक्री गर्नुपरेको छैन । कृषकले पनि विगतको भन्दा बढी रकम पाउनुभयो ।” केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताउनुभयो ।
आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।
आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने भन्दै उहाँले भन्नुभयो, “आगामी वर्ष फपार उत्पादन हुने गाउँमा कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजनासहित अघि बढेका छौँ ।”
ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रूपमा बजारीकरणको व्यवस्था गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker