कृषिलाई पर्यटनसंग जोड्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा बन्दिपुरको प्राथमिकता

नारायण खड्का/तनहुँ

बन्दिपुर गाउँपालिका नेपालका गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा ६ वडाको प्रशासनिक संचरनाको गाउँपालिका बनेको छ। बन्दिपुर तनहुँको पुरानो सदरमुकाम हो । यो ठाउँ मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो ।

तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामका रुपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा दमौलीमा सदरमुकाम सारिएको थियो । नेवार साँस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना करिब दुइ सय वर्ष पुरानो मानिन्छ । यहाँको रहनसहन, थिति र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दिपुरको विशेषता हुने ।

बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृति अध्ययन अवलोकन गर्न पाइन्छ। हिमालयको फराकिलो दृश्य अवलोकन गर्ने गन्तव्य पनि बन्दिपुर हो। पर्यटकीय हिसावले निकै महत्वपूर्ण आकर्ष गन्तव्य भएकाले गाउँपालिकाले पनि पर्यटन क्षेत्रको विकास र आर्थिक लाभ लिने गरी प्राथमिकतामा राखेको छ।

सुरेन्द्र बहादुर थापा : अध्यक्ष

गाउँपालिकाले कृषिलाई पर्यटनसंग जोड्ने गरी काम गरेको छ । अघिल्लो कार्यकालको सरकारले सुरुवात गरी पूर्णता नपाएका पर्यटन लक्षित पूर्वाधारका कामहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउँछन् । ‘पूर्वाधारका कार्यहरु ठेक्कापट्टा भइ काम अगाडी नबढेका योजनाहरुलाई द्रुतगतिमा अगाडी बढाएका छौ’, अध्यक्ष थापाले भने, ‘बन्दिपुर-डुम्रे सडक, बन्दिपुर-बाउनभञ्ज्याङ, बन्दिपुर-सुखौरा र गाउँपालिका आउने बाटो यी सबै पूर्वाधारका काम भइरहेको अवस्था छ। विशेष गरी मुकुन्देश्वरी पर्खाल निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौ ।’

‘हामीले बन्दिपुरमा पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेको छौ । किनभने पर्यटनका पूर्वाधार र पर्यटन सम्बन्धी सफ्टवेयरका योजनाहरु अगाडी बढाउन सकियो भने बन्दिपुरमा पर्यटन व्यवसाय फस्टाउछ । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बन्दिपुर गाउँपालिका र यहाँका जनताले लाभ लिन सक्ने देखिन्छ’, अध्यक्ष थापाले भने, ‘पर्यटन प्रवर्द्धनका योजनाहरुमा यहाँका व्यवसायी, पर्यटन विकास समितिसंग मिलेर करिब ३ वटा कार्यक्रमहरु गरिसकेका छौ ।’

पालिका तहबाट विशेष गरेर पर्यटकीय गाउँ रामकोटमा ढुंगा छपनी गरिएको छ । बन्दिपुर बजारमा पनि मुल बजार बाहेक दायाबायातर्फ ढुंगा छपनी थिएन र अहिले बन्दिपुर विन्दवासीनी मन्दिरबाट भैंसीखार र टुडिखेल जाने बाटोमा ढुंगा छपनी काम अन्तिम चरणमा पुगेको उनले बताए। यस्तै गाउँपालिकाले ‘उज्यालो बन्दिपुर’ कार्यक्रम सञ्चालन गरेको। बजारका भित्रि गल्लीहरुमा ढुंगा छपनीका साथसाथै बत्ति जडानको काम भइरहेको छ । यस्तै पर्यटकीय हिसाबमा रामकोट र कोरिखा गाउँमा होमस्टे सञ्चालनका लागि बढि प्राथमिकता दिएको अध्यक्ष थापाले बताए ।

उज्यालो बन्दिपुर कार्यक्रम अन्तर्गत कोरिखा गाउँ झलमल्ल बनाउने र रामकोटमा ढुंगा छपनीको काम अगाडी बढिरहेको छ। बन्दिपुरको प्रचारप्रसारका लागि पर्यटकीय पोइन्टको विशेषताको बारेमा सहज रुपमा जानकारी गराउने उद्देश्यले बन्दिपुर बजारमा एउटा क्यूआरकोड बोर्ड राखिसकेका छौ । त्यस बोर्डमा मोवाइलबाट स्क्यान गर्‍यो भने बन्दिपुरका इतिहास सजिलै कथाको रुपमा सुन्न पाइन्छ र त्यो १० वटा भाषामा पर्यटकहरुले सुन्न सक्नेछन । अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले अन्य १५ वटा ठाउँमा क्यूआरकोड बोर्ड राख्ने भनि सम्पूर्ण प्रक्रिया पुरा गरी बोर्ड टाँस्ने काम अगाडि बढाएको छ । मुख्यत पोखरा आएका पर्यटकलाई १/२ रात बन्दिपुर ल्याउन सकियो भने मनग्य रुपमा पर्यटन व्यवसाय सञ्चालन हुन्छ । पोखरामा ‘घुम्न जाउँ है बन्दिपुर’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौ ।’

उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, होटल एसोसिएसन रेवानसंग समन्वय गरेर बन्दिपुरको ब्रोसरदेखि हरेक कुराको प्रचारप्रसार र पोखरा आएका पर्यटकहरुलाई बन्दिपुर भित्र्याउने उद्देश्यका साथ कार्यक्रम गर्ने गरी अगाडि बढिएको अध्यक्ष थापाले बताए । यस्तै, बन्दिपुरका पर्यटकीय गन्तव्यहरुमा सफा राख्ने गरी सरसफाई अभियान कार्यक्रम पनि चलाइएको छ ।

यस्तै, गाउँपालिकाले पूर्वाधारका कार्यक्रमहरु अहिले लगानी गरेका योजनाहरु अबको ४ वर्षमा सम्पन्न गर्ने गरी ६ वटै वडामा करिब मुख्य ३० वटा योजनाहरु सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘अबको ४ वर्षको ४ वटा बजेट त्यसरी नै योजनालाई राखेर सम्पन्न गर्र्छौ । भौतिक रुपमा पनि बन्दिपुरलाई सफा, धुलोरहित बनाउनुपर्छ भनि योजना अगाडी बढाएका छौ ।’

गाउँपालिकाले तेश्रो प्राथमिकतामा शिक्षालाई राखेको छ । सबै क्षेत्रमा शिक्षाको स्तर राम्रो त छैन तर पनि गुणस्तरीय बनाउनका लागि सबै विद्यालयहरुमा अभिभावक बैठक राखि विद्यार्थीको नियमितता हुनैपर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाको ‘गुणस्तरीय शिक्षामा सबैको सहभागिता’ भन्ने नाराका साथ शिक्षाको गुणस्तरता वृद्धिकालागि शिक्षक, विद्यार्थी, अभिभावक सबै अगाडी लाग्नुपर्छ भन्ने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको अध्यक्ष थापाले बताए ।

‘शिक्षा प्रणाली बलियो बनाउन गाउँपालिका अध्यक्षको संयोजकत्वमा शैक्षिक अनुगमन समिति बनाएका छौ’, अध्यक्ष थापाले भने, ‘यो अभियान अन्तर्गत दिउँसोको १ बजेतिर विद्यालयमा पुग्ने र करिब २ घण्टा शिक्षा शाखा सहित कक्षा अवलोकन गर्ने, र ४ बजेपछि ३० मिनेट विद्यालयको सम्पूर्ण शिक्षकलार्इर्र्राखेर अन्तरक्रिया गर्ने कार्यक्रमलाई निरन्तर अगाडि बढाएका छौं । हप्तामा १ देखि २ वटा कार्यक्रम गरिराखेका हुन्छौ । शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकार पक्ष सजग भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर बढ्छ भन्ने हामी विश्वस्त छौं ।’

गाउँपालिकाले कृषि, पशुपालन र सीपमुलक तालिमलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । पर्यटन लक्षित गरी वडा नं. १, ४, ३ सीपमुलक तालिमहरु प्रदान गरिरहेको छ । यस्तै जुन ठाउँमा पशुपालनको सम्भावना छ, त्यो ठाउँलाई प्रोत्साहित गर्ने हिसाबमा वडा नं. १ को नाहाला, वडा नं.. ३ को सेराटार, सुखौरा, वडा नं. २ को गोलडाँडा, सिमलटार लगायतका क्षेत्रलाई पशुपालनको हबका रुपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘सेराटारमा पशुपालन किसानहरुसंग अन्तरक्रिया गरेका थियौ । उनीहरुलाई र्समर्थनका साथै दुग्ध उत्पादनलाई बढाउने भनि युवा स्वरोजगारको ऋण आवश्यकतामा समन्वय गरेर ऋण प्रदान गर्ने पशुपालन क्षेत्रलाई अगाडी बढाउने योजनाहरु भइरहेका छन ।’

यस्तै स्वास्थ्य क्षेत्रमा डाक्टरको कमि थियो । त्यसमा डाक्टर ल्याइसकेका छौ । आँखा परीक्षण केन्द्र चाहिन्छ भनि बन्दिपुर अस्पतालमा आँखा सेवा केन्द्र स्थापना गरिएको छ। जसमा चष्माहरु पनि फेरिन्छ । यसले बन्दिपुरका बासिन्दालाई सामान्य आँखा जाँचको लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । यस्तै बन्दिपुर अस्पतालमै दन्त सेवा पनि सुचारु गरिएको छ । बन्दिपुरलाई हरेक दृष्टिकोणले समृद्ध बनाउनका लागि सबै क्षेत्रसंग समन्वय र सहकार्य गरी नीति, कार्यक्रम तयर गरी काम अगाडि बढाएको अध्यक्ष थापाले बताए ।

यस्तै गाउँपालिकाको आन्तरिक आम्दानी कम्जोर भएको र संघ र प्रदेशबाट तोकिएर आउने बजेटबाट काम गर्दा जनतको माग र चाहानालाई पुरा गर्न नसकिएको अध्यक्ष थापाले बताए । अघिल्लो वर्षा योजनाहरु प्रदेश र केन्द्रबाट धेरै छन । समपूरक बजेट, विशेष अनुदानका बजेटहरु पनि छन र यस वर्षटेण्डर गरेका बजेटहरुको काम भइरहेको र सोचे जस्तो बजेट नआउँदा कामले गति लिन नसकेको उनले बताए ।

गाउँपालिकाले पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सबै मन्त्रालयसंग योजनाहरु माग गरेको छ । ‘हामीले सोचे जस्तो बजेट आयो भने विशेष गरी बन्दिपुरको रिङरोडलाई प्राथमिकता साथ अगाडि बढाउँछौ । यसका लागि सम्बन्धित कार्यलयहरुमा समन्वय गरेका छौ । पर्यटन क्षेत्रमा संघीय पर्यटन मन्त्रालयबाट करिब ८० लाख बजेट विनियोजन भयो। जसले ४ खण्डमा ढुंगा छाप्नी काम भइरहेको छ । धरमपानीमा गाउँपालिकाको ८ लाख र ग्रामीण विद्युतीकरण संस्थासंग समन्वय गरी करिब ९० लाखको आयोजनामा यही वर्षस्टिल पोल राख्ने कार्य अगाडी बढेको छ । यहाँ उत्पादन भएका वस्तु यही उपभोग गर्ने हिसाबमा अगाढि बढ्न र सहकार्य गरिदिन व्यवसायीहरुलाई अनुरोध गरेका छौं । पूर्वाधारको विकास गर्दै पर्यटन, कृषि, पशुपालन क्षेत्रलाई संगै जोडेर अगाडी बढ्ने हाम्रो योजनालाई गाउँपालिका बासिन्दाले साथ दिनुभएको छ ।’

पञ्चमाया गुरुङ : उपाध्यक्ष

गण्डकी प्रदेशकै नमुना र आकर्ष पर्यटकीय नगरी भएका कारण बन्दिपुरको विकास र समृद्धि लक्ष्य हाँसिल गर्न पर्यटननै पहिलो प्राथमिकतामा रहेको उपाध्यक्ष पञ्चमाया गुरुङ बताउँछिन् । गाउँपालिकाले कुनै पनि योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा पर्यटनसंग जोडिने गरी अगाडि बढाएको उनले बताइन् । ‘ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्दै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ’, उनले भनिन्, ‘पर्यटनसंगै जोडेर महिला दिंदीबहिनीहरुलाई सीप तथा आयआर्जन मुलक तालिम, सचेतना मुलक तथा नेतृत्वदायी भूमिका निर्वाह गरी आर्थिक उपार्जनमा टेवा पुर्‍याउने गरी कार्यक्रम अगाडि ल्याइएको छ।’

‘अध्यक्षको भन्दा उपाध्यक्षको काम अलिक गाह्रो र गाली खाने हुने रहेछ । तर, पनि सबै पक्षसंग समन्वय गरी सेवा प्रवाह गर्दै आएको छु’, उनले भनिन्, ‘अघिलल्लो कार्यकालमा सुरु गरी पूर्णता नपाएका अधुरो कामहरुलाई निरन्तरता दिंदै अहिलेका नयाँ योजनाहरुलाई पनि तीव्र रुपमा अगाडी बढाइरहेका छौ । न्यायीक समितिमा विशेष गरी सम्बन्ध विच्छेद, सधियार, जग्गा जमिनको साँधकिलो, श्रीमान श्रीमती बीचको झैझगडा जस्ता मुद्दाहरु बढी आउने गरेका र छलफल र मेलमिलापबाटै न्यायनिरुपण गर्ने गरेको छु ।’

त्यस्तै महिला सशक्तिकरणको लागि दलित र लक्षित वर्गहरुको लागि सीपमुलक तालिम सञ्चालन गर्दै आइएको छ । अपाङ्गता भएका नागरिकहरु मध्ये क र ख वर्गकाले सेवासुविधा सहजै पाउने गरेपनि ग वर्गकालाई त्यस्तो व्यवस्था नभएकाले गाउँपालिकाले मासिक ५०० रुपैयाकाद्वरले भत्ताका साथै ग र घ वर्गका अपाङ्गता भएकाहरुलाई मौरी पालन तालिमसहित मौरी र मौरीको घारका सथौ अन्य आयआर्जन मुलक कार्यक्रम गाउँपालिकाले उपलब्ध गराउँदै आएको उपाध्यक्ष गुरुङले बताइन् ।

नवेशराज हमाल : प्रमुख प्रशासकीय अधिकृत

पहाडको रानी भनेर चिनिने बन्दिपुर आकर्ष पर्यटकीय गन्तव्य हो । १०२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको बन्दिपुर गाउँपालिकामा झण्डै २१ हजार जनसंख्या रहेको र ६ वटा वडा कार्यालयबाट नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको छ । प्रशासनिक हिसाबले जनतालाई सेवा प्रदान गर्ने विषय वस्तुमा जनतासंग सरोकार राख्ने कामहरु वडाबाट नै हुने गरेका छने । विशेषत योजनाहरु टाढाका वडा जस्तै ६ र ३ नं. मा वडाको अध्यक्ष, प्रशासकीय अधिकृत, इन्जिनियर बसी सम्झौता गर्ने कामहरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल बताउँछन् ।

‘वडावडाबाटै सेवा प्रवाह गर्दा नागरिकलाई सेवा लिन सहज भएको छ । सेवाग्राहीका कागजपत्र नमिलेको अवस्थामा सेवा प्रदानको हकमा गाउँपालिकाको आफ्नै कार्यविधि रहेका छन । त्यसमा चल्नै पर्ने हुन्छ । यस्ता समस्या सिर्जना नहोस भनि वडामा नै मिल्ने व्यवस्था मिलाएका छौ’, उनले भने, ‘आयोजना सम्पन्न भएपछि सम्पूर्ण आवश्यक कागजातहरु पेश गरेपछि जनतालाई पठाइदिन्छौ । राज्यको प्रणाली अनुसार सेवाग्राहीलाई सहज हुने हिसाबमा सबै भुक्तानीका कामहरु बैंक खातामा जम्म हुने व्यवस्था मिलाएका छौं ।’

‘निर्वाचनको समयमा जनप्रतिनिधीहरुले गरेका बाचा स्वस्तिक नियम नै हो । गाउँपालिकाको पहिलो प्राथमिकता पर्यटननै छ । किन बन्दिपुर पर्यटकीय नगरी भएकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छौ’, उनले भने, ‘पर्यटनसंगै गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पशुपालनसंगै पूर्वाधार र भौतिक निर्माणलाई प्राथमिकतामा राखेको छ ।’

विद्यालयमा अध्ययन गरी घर फर्कने क्रममा बाटोमै बसेर गृहकार्य गर्दै गरेका बालकहरु । तस्विर : नारायण/भञ्ज्याङ

गाउँपालिकाको आन्तरिक राजस्व कमिको कारण श्रोत, साधनको कमिले गर्दा जति कार्यहरु गर्नुपर्ने हो त्यही हुन सकिरहेको छैन । तथापी बन्दिपुरलाई समृद्धितर्फ लैजान कृषि, पर्यटन क्षेत्रमा आम्दानीका श्रोतहरु जुटाउने गरी कार्यक्रम अगाडि बढाइएका छन् । कृषि र पशुपालनलाई पर्यटनसंग जोड्दै लग्दा बसाइसराइ कम हुने, जग्गाजमिन बाँझो नहुने हुँदा कार्यक्रमहरु सोही अनुसार अगाडि बढाइएको छ । स्वास्थ्य सेवा सहज बनाउँदै लगिएको छ । पालिकाको राजश्व संकलन गर्ने क्षेत्र कमीका कारण विकास निर्माण कार्यमा चुनौती देखिने गरेका छन् ।

गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने मुख्य श्रोत नदीजन्य वस्तु ढुंगागिटी बालुवा भएपनि त्यसको ठेक्का लाग्न सकेको छैन । गाउँपालिकाले पर्यटन, व्यापार व्यवसायमा नै बढी जोड दिएको छ । मुख्यतय संघ र प्रदेशको तोकिएको बजेटले भन्दा आन्तरिक श्रोत वृद्धि गर्न सकियो भने गाउँपालिकाका प्राथमिकताका क्षेत्रमा काम गर्न सहज हुने देखिएकाले सोही रुपमा काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत हमालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker