प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय परिषद् बैठक : नैतिकवान, चरित्रवान र राष्ट्रप्रेमी युवाशक्ति निर्माणमा जोड

दमौली : प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको दुईदिने राष्ट्रिय परिषद् बैठक शनिबार तनहुँको दमौलीमा सुरु भएको छ । देशभरका विभिन्न तहका पदाधिकारीको सहभागितामा आयोजित बैठकमा संगठनात्मक समीक्षा, आगामी कार्ययोजना तथा समसामयिक राष्ट्रिय विषयमा व्यापक छलफल गरिएको छ ।
बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले समृद्ध राष्ट्र निर्माणका लागि सकारात्मक सोच, नैतिक चरित्र र सिर्जनात्मक दृष्टिकोण भएका युवाको आवश्यकता रहेको बताए। परिषद्ले सञ्चालन गर्दै आएका राष्ट्रहितमुखी तथा सिर्जनात्मक गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पु¥याएको उल्लेख गर्दै उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. दयाराम भुसालले असल, नैतिकवान र चरित्रवान नागरिक निर्माण नै राष्ट्र विकासको आधार भएको बताए । उनले परिषद्ले विभिन्न कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तनको वातावरण सिर्जना गर्दै आएको उल्लेख गरे ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाशले समाजमा बढ्दो निराशा तथा युवामा देखिएको नकारात्मक सोचलाई सकारात्मक दिशामा रूपान्तरण गर्न नेतृत्व विकास र व्यक्तित्व विकासका कार्यक्रम प्रभावकारी भएको बताए ।
परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले विश्वविद्यालय सुधार, शैक्षिक अभियान तथा राष्ट्रहितका विषयमा परिषद्ले निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको बताए । उनले २०८० सालमा प्रवेश, परीक्षा, नतिजा र पाठ्यक्रम सुधारका विषयमा सञ्चालन गरिएको राष्ट्रव्यापी शैक्षिक अभियानको प्रभावस्वरूप त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली भाषामा समेत प्रकाशन गर्ने निर्णय गरेको उल्लेख गरे ।
कार्कीले शैक्षिक संस्थालाई दलगत राजनीतिक गतिविधिबाट मुक्त बनाउनुपर्ने परिषद्को स्थापनाकालदेखिको अडानलाई सरकारले सम्बोधन गरेको भन्दै त्यसलाई स्वागतयोग्य निर्णयको संज्ञा दिए । साथै, गत वर्षको जेन्जी आन्दोलनका क्रममा परिषद्का कार्यकर्ताले सार्वजनिक सम्पत्तिको संरक्षण तथा हिंसात्मक गतिविधि रोक्न सक्रिय भूमिका खेलेको दाबी गरे ।
राष्ट्रिय संगठन सचिव रमेश कँडेलले बैठक संगठनलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउने दिशामा केन्द्रित रहने बताए। परिषद्का उपाध्यक्ष पुष्पराज खतिवडाका अनुसार आइतबारसम्म सञ्चालन हुने बैठकमा संगठनात्मक गतिविधिको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा देशको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र समसामयिक विषयमा विस्तृत छलफल हुनेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न तहका पदाधिकारी सहभागी रहेको बैठकले संगठनलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने तथा राष्ट्रहितका कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने रणनीति तय गर्ने परिषद्ले जनाएको छ ।










