भानुको जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक निरीक्षण

भानु : तनहुँको भानु नगरपालिका–१ र ५ जोड्ने जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँच गरेको छ। पुल निर्माणको खरिद प्रक्रिया अघि बढाउने तयारीस्वरूप पूर्वाधार विकास कार्यालयका प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी सहितको प्राविधिक टोलीले पुल निर्माणस्थलको अवस्था, आवश्यक संरचना तथा निर्माणसम्बन्धी प्राविधिक पक्षको अध्ययन तथा नापजाँच गरेको नगरपालिकाले जनाएको छ ।
जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय पूर्वाधार विकास मन्त्रालयमार्फत रु. १ करोड ५० लाख बजेट विनियोजन भएको छ। उक्त बजेटबाट पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न पर्याप्त नहुने भएकाले नगरपालिकाले थप बजेट सुनिश्चित गर्न पहल गरिरहेको नगरप्रमुख त्रिपाठीले जानकारी गराए ।
उनले भने, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी पुल निर्माणका लागि आवश्यक थप बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवसँग समेत भेट गरी जलवीरे–ढाडखोला पुलसहित नगरका सामरिक महत्व बोकेका तथा अत्यावश्यक योजनालाई बहुवर्षीय योजनामा समावेश गर्न अनुरोध गरिएको छ ।’
भानु नगरपालिका–१ र ५ लाई जोड्ने उक्त पुल निर्माण भएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै कृषि उपजको ओसारपसार, व्यापारिक गतिविधि तथा समग्र क्षेत्रको आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले पुल निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट प्रारम्भिक निर्माण प्रक्रिया अघि बढाउने र बाँकी कामका लागि बहुवर्षीय योजनामार्फत आवश्यक बजेट सुनिश्चित गर्ने नगरपालिकाको तयारी छ ।










