असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

गण्डकी : गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।
उहाँका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका सात हजार तीन सय ६९ र अन्य देशका पाँच हजार नौ सय एकजना गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए । असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ । पदयात्राका लागि पनि यो याम उत्तम मानिने हुँदा अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको उहाँले बताउनुभयो ।
‘एक्याप’ले सडकमार्ग र पदयात्रामार्फत अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ । ‘एक्याप’ भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दसैँ, तिहार जस्ता ठूला पर्वका बिदा छोपेर नेपालीहरु पनि यही याममा बढी घुमफिरमा निस्कने गरेका छन् ।
ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले दसैँलगत्तै पर्यटकीयस्थलहरुमा चहलपहल ह्वात्तै बढेको बताउनुभयो । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि विश्वमै परिचित रहेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले देशविदेशका पर्यटकमाझ उक्त क्षेत्र लोकप्रिय छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत ठाउँबाट यस क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।
मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठ) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको चर्चित पर्यटकीय गाउँ घान्दु्रकका होटलमा हिजोआज ७५ प्रतिशत पाहुना रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । “केही दिनयता पर्यटकको चहलपहल बढेको छ, व्यवसायीहरु पनि उत्साहित छन्”, उहाँले भन्नुभयो ।
पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा भने अझै नफर्केको उहाँको भनाइ छ ।  गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना पर्यटक थिए । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker