हामी राजनीति किन गर्छौं ?
सुरेशकुमार पाण्डे

राजनीति गर्नु समाजसेवा हो, संस्कार हो वा धर्म ? हामी किन राजनीति गर्छौ? आज हाम्रो अगाडि उभिएको एउटा महत्त्वपूर्ण प्रश्न हो यो ।
कसैले आफू राजनीति गर्दिनँ भन्छ र त्यसैमा अडान लिन्छ भने ऊ पनि एक प्रकारले राजनीतिक चेतना भएको व्यक्ति हो। किनकि राजनीति नगरौँ भन्ने आवाज उठाउनु पनि राजनीतिक अभिव्यक्ति नै हो। फरक यति हो– राजनीति नबुझेर गर्नुभन्दा बुझेर गर्नु राम्रो हुन्छ। देश र बहुसंख्यक जनताको हितमा उठाइएको आवाजले देश र जनताको प्रतिनिधित्व गर्छ । तर अचेल नेताहरू एउटा कुरा बोल्छन् र अर्को काम गर्छन्। पार्टीका घोषणापत्रमा लेखिएका प्रतिबद्धताअनुसार व्यवहारमा काम गर्ने केही अपवाद हुन सक्छन्, तर धेरैजसो अवस्थामा घोषणापत्र जनताको आँखामा छारो हाल्ने माध्यम बनेका छन् ।
मानिसहरूको समूह र समाजलाई मार्गदर्शन गर्ने, प्रशिक्षण दिने तथा राजनीतिक चेतना जगाउने आधार राजनीतिक स्कुलिङ हो । यही स्कुलिङले नेतालाई खार्छ, तिखार्छ र परिपक्व बनाउँछ। तर त्यसले कस्तो नेता निर्माण गर्छ ? उसले निर्माण गरेको राजनीतिक हतियार कसको पक्षमा प्रयोग हुन्छ ? मुख्य प्रश्न यही हो ।
आरन र टक्साल निर्माणका केन्द्र हुन् । आरनमा हँसिया, बन्चरोलगायतका औजार बनाइन्छन् भने टक्सालमा गहना तथा सिक्का निर्माण गरिन्छ । समाजलाई जे आवश्यक पर्छ, त्यसको निर्माण पनि त्यहीअनुसार हुन्छ । हाम्रो देशका पाठशाला र समाज पनि यस्तै स्रोत हुन् । मानव समाजमा शिक्षाको आवश्यकता भएकैले ज्ञान केन्द्रहरूको स्थापना भएका हुन्। आरनमा गहना बन्दैनन् भने टक्सालमा हँसिया–बन्चरोजस्ता औजार बनाउने काम हुँदैन । एउटा मिलमा तेल पेलिन्छ भने पिठो पिस्ने मिलले तेल पेल्न सक्दैन। हरेक संरचनाको आफ्नै उद्देश्य हुन्छ ।
श्रमजीवी वर्गको राजनीति पनि यसैसँग जोडिएको छ । मजदुरले श्रमको वास्तविक पीडा र परिश्रमको मूल्य बुझेको हुन्छ भने धनाढ्य वर्गले मजदुरको श्रमबाट कसरी नाफा आर्जन गर्न सकिन्छ भन्ने कुरा बुझेको हुन्छ । मजदुरले आफ्नो परिश्रमबाट उत्पादन गर्छ, तर पुँजीको स्वामित्व राख्ने वर्गले त्यही श्रमको शोषण गरेर धन आर्जन गर्न सक्छ । त्यसैले वर्गीय राजनीतिमा एउटा पक्षले शोषक वर्गको हितको प्रतिनिधित्व गर्छ भने अर्को पक्षले श्रमजीवी वर्गको हितका लागि राजनीति गर्छ ।
समाज विभिन्न चेतना र शैक्षिक स्तर भएका मानिसहरूको समूह हो । हिजोको तुलनामा आज मानव समाज धेरै शिक्षित भएको छ, तर हुनुपर्ने जति सचेत र शिक्षित भइसकेको छैन । कुनै पनि राजनीतिक धार अँगाल्नुअघि मानिस असल सामाजिक बन्न आवश्यक छ । राजनीतिज्ञ बन्न पुस्तक पढेर मात्र पुग्दैनÙ आफू बसेको समाज, भूगोल, त्यहाँका जनताको अवस्था र समस्याबारे गहिरो अध्ययन गर्नुपर्छ । त्यसका साथै अन्तर्राष्ट्रिय परिस्थितिको पनि अध्ययन गर्नुपर्छ । किनकि राजनीति स्थानीय परिवेशमा मात्र सीमित हुँदैन, त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले समेत प्रभावित पारिरहेको हुन्छ ।
राजनीति गर्नेहरू विभिन्न विचार र दृष्टिकोणका हुन्छन् । तथापि वर्गीय दृष्टिकोणबाट हेर्दा शोषक र शोषित वर्गका हितलाई प्राथमिकता दिने दुई विपरीत राजनीतिक धार देखिन्छन् । यी धारका राजनीतिक दलहरू आ–आफ्नो दर्शन र लक्ष्यअनुसार अघि बढ्छन् । तर समान उद्देश्य भएका शक्तिहरू विभाजित हुँदा उनीहरू कमजोर हुन्छन् । अहिलेको अवस्था झन् जटिल छ, किनकि समाज पुँजीप्रधान बनेको छ । धनबिना कसैको भलो चिताउन सकिएला, तर भौतिक सहयोग पु¥याउन कठिन हुन्छ । पानी पिउनसमेत शुल्क लाग्छ र शौच गर्न पनि पैसा तिर्नुपर्छ। पैसा प्रधान बनेपछि सबैलाई पैसाकै आवश्यकता पर्ने अवस्था सिर्जना भएको छ । नियम र कानुन छन्, वकिल र डाक्टर छन्, तर तिनका सेवा लिन पनि पैसा चाहिन्छ । त्यसैले धनबिना धेरै काम सम्पन्न गर्न कठिन भएको छ ।
हामी सर्वहाराको राजनीति गर्छौ र आफूलाई सर्वहारा वर्गको जीवनसँग जोड्ने प्रयास गर्छौ । तर पुँजीवादी समाज व्यवस्थामा यो लक्ष्य पूरा गर्नु सहज छैन । सर्वहाराको हितको राजनीति सही हुँदाहुँदै पनि व्यवहारमा कठिन र कहिलेकाहीँ विरोधाभासपूर्ण देखिन पुगेको छ । यसको एउटा कारण वर्तमान विश्वको पुँजीवादी समाज व्यवस्था हो ।
वास्तवमा संसारभरिका श्रमजीवी जनता, जो प्रत्यक्ष रूपमा श्रम र उत्पादनसँग जोडिएका छन्, उनीहरूको हित सुनिश्चित गर्न श्रमको सम्मान गर्ने, शोषण अन्त्य गर्ने र उत्पादनका साधनमाथि न्यायपूर्ण पहुँच स्थापित गर्ने व्यवस्था आवश्यक छ । कम्युनिस्ट विचारधाराले यही उद्देश्यलाई आफ्नो मूल लक्ष्यका रूपमा अघि सारेको छ । विश्वमा बहुसंख्यक मानिस श्रममा निर्भर छन् । तर विश्व कम्युनिस्ट आन्दोलनले अपेक्षाअनुसार आफ्नै वैचारिक, शैक्षिक र संगठनात्मक संस्था निर्माण गर्न सकेन। माक्र्सवादी–लेनिनवादी स्कुलिङबाट सक्षम, प्रतिबद्ध र जनताप्रति उत्तरदायी कार्यकर्ता निर्माण गर्ने काम पनि अपेक्षाकृत कमजोर रह्यो ।
आज पुँजीवादी तथा प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट विचार र कार्यकर्तालाई नै प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत विभिन्न देशमा सामाजिक विकास, स्वास्थ्य, शान्ति र सुव्यवस्थाका नाममा कार्यक्रम सञ्चालन गरिन्छन् । यस्ता संस्थाका कार्यक्रम र प्रभावले कतिपय अवस्थामा कम्युनिस्ट आन्दोलनको आधार कमजोर बनाएको हुन सक्ने आलोचना पनि हुँदै आएको छ। अझ विडम्बना, आफूलाई कम्युनिस्ट भन्ने केही व्यक्तिसमेत यस्ता संस्थाको सञ्चालन र गतिविधिमा संलग्न छन् । तर सबै गैरसरकारी संस्थालाई एउटै दृष्टिले हेर्नुभन्दा तिनको उद्देश्य, कार्यशैली र प्रभावका आधारमा मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।
अर्कोतर्फ, कम्युनिस्टहरू सानातिना विषयलाई आधार बनाएर आपसमै विवाद गर्ने, फुट्ने र एकले अर्कोलाई दोष लगाउने प्रवृत्तिबाट मुक्त हुन सकेका छैनन् । आफूलाई मात्र सही र अरूलाई गलत देख्ने व्यवहारले कम्युनिस्ट आन्दोलन जनतामाझ कमजोर र अविश्वसनीय बन्दै गएको छ । नेतृत्वमा सामन्ती संस्कार र प्रवृत्तिको प्रभाव रहँदा अनुशासनका नाममा सामन्तवादी शैलीमा कारबाही गर्ने र फरक मतलाई निषेध गर्ने अभ्यासले पनि आन्दोलनलाई कमजोर बनाएको छ ।
कुनै पनि राजनीतिक संघर्ष वा आन्दोलन सफल बनाउन अनुशासन र गोपनीयता आवश्यक हुन्छ । तर अनुशासनका नाममा नेतृत्वले मनपरी गर्ने छुट पाउनु हुँदैन । कसैले गल्ती गरेको छ भने कुन परिस्थिति, उद्देश्य र कारणले गल्ती भयो भन्ने कुरा पनि मूल्याङ्कन गर्नुपर्छ। माक्र्सवादी–लेनिनवादी सिद्धान्तको व्याख्या आफूअनुकूल गर्ने, आफूले गरेका सबै कामलाई महान् र अरूका कामलाई गलत प्रमाणित गर्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि हानिकारक छ । नेतृत्वको आलोचना गर्न पाउने अधिकार, फरक मतको सम्मान र गल्ती सच्याउने लोकतान्त्रिक अभ्यासबिना वास्तविक अनुशासन कायम हुन सक्दैन ।
कम्युनिस्ट आन्दोलन गरिब, मजदुर, किसान र समग्र श्रमजीवी जनताको हितका लागि गरिने संघर्ष हो । कम्युनिस्ट विचारधारामा अन्तर्राष्ट्रियतावादको महत्त्व छ, तर त्यसको अर्थ राष्ट्रिय हितलाई बेवास्ता गर्नु होइन । राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र श्रमजीवी वर्गको हितको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छन् । कार्ल माक्र्सले श्रमिक वर्गको मुक्तिलाई केन्द्रमा राखेर विकसित गरेको कम्युनिस्ट विचारधारा विश्वव्यापी राजनीतिक बहसको महत्त्वपूर्ण धार बनेको छ । तर गरिब र सर्वहाराका कथा सुनाएर तिनै जनताको शोषण गर्नेहरूका हातमा कम्युनिस्ट आन्दोलनको नेतृत्व पुग्न सक्ने सम्भावनाप्रति पनि सचेत हुनुपर्छ ।
राजनीतिको उद्देश्य सत्ता प्राप्त गर्नु मात्र होइन, समाजलाई न्यायपूर्ण बनाउनु र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। कुनै पनि राजनीतिक दल वा नेताको मूल्याङ्कन उसको भाषण, नारा र घोषणापत्रका आधारमा मात्र होइन, व्यवहार, कार्यशैली र जनताप्रतिको उत्तरदायित्वका आधारमा हुनुपर्छ । श्रमजीवी जनताको नाममा राजनीति गर्नेहरूले आफ्नै जीवनशैली, आचरण र निर्णयबाट पनि आफ्नो प्रतिबद्धता प्रमाणित गर्न सक्नुपर्छ ।
अन्ततः हामीले राजनीति किन गरिरहेका छौँ भन्ने प्रश्नको उत्तर आफ्नै व्यवहारमा खोज्नुपर्छ । राजनीति व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र धन आर्जनको माध्यम बनेको छ भने त्यसले जनताको हित गर्दैन । राजनीति समाजसेवा र जनताको अधिकार स्थापित गर्ने माध्यम बनेको छ भने मात्र त्यसको सार्थकता रहन्छ । त्यसैले राजनीति देश र जनताको हितमा हुनुपर्छ । जनतालाई भ्रममा पार्ने होइन, सचेत बनाउने; विभाजन गर्ने होइन, न्याय र समानताका पक्षमा एकताबद्ध गर्ने; र सत्ता जोगाउने होइन, जनताको जीवन बदल्ने काम नै राजनीतिको वास्तविक उद्देश्य हुनुपर्छ ।










