कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने व्यास नगरपालिकाको नीति
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका आइतबार आयोजित ३९औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को निती तथा कार्यक्रम र्सवसम्मत पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आगामि आवमा कृषि क्षेत्रको विकास र व्यवसायीकरणलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगप्रमुख न्यौपानले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापन, युवा, खेलकुद, पूर्वाधार निर्माया, सूचना र सञ्चार, न्याय तथा मध्यस्थता, महिला क्षमता विकास, जनजाति सहयोग, दलित उत्थान, अपाङ्गता सहयोग, ज्येष्ठ नागरिक सम्मान, सुरक्षित वैदेशिक रोजगार व्यवस्थापन, सुशासन र दक्ष जनशक्ति लगायतका क्षेत्रलाई समेट्ने गरी २३२ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए ।
नगरपालिकाले निर्माण गरेको एकीकृत शहरी विकास योजना र आवधिक योजना समेतले अग्रणी क्षेत्रमा प्राथमिकीकरण गरेको कृषि क्षेत्रको विकास एवं व्यवसायीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने नगरप्रमुख न्यौपानले बताए । नगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सार्वजनिक खाली जमिनको उत्पादनशील उर्जालाई खेर जान नदिन र कृषि योग्य भूमिको पूर्ण उपयोग गरी कृषि उत्पादनलाई बढवा गर्दै लैजाने निती लिइएको छ ।
जैविक खेती प्रणालीमा जोड दिई तत्काल आवश्यक पर्ने रासायनिक मल, गड्यौला मल, प्राङ्गारिक मल तथा उन्नत बिउको आपूर्ति एवं वितरण र सिंचाई क्षेत्रको विकास एवं विस्तार गरिने भएको छ । ‘नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकीकरण र विशिष्टीकरण गर्दै स्थानीय स्तरको उत्पादन बृद्धिमा जोड दिने छ’, नगरप्रमुख न्यौपानले भने, ‘प्रदेश सरकारसंगको सहकार्यमा निर्माण भएको शित भण्डारलाई कृषि उत्पादन, फलफूल, तरकारीलाई सुरक्षित राखी नगरपालिकाको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न सञ्चालनमा ल्याइने छ ।’
‘कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न बजार क्षेत्र बाहेकका वडामा न्यूनतम एक संकलन केन्द्र र दमौली बजार क्षेत्रमा किसानहरुको उत्पादनको बिक्रीका लागि “किसान बजार”को व्यवस्था मिलाइने छ’, उनले भने, ‘कृषि उपज बिक्री वितरणका लागि दमौलीमा परम्परागत रुपमा सञ्चालन हुने गरेका बुधवारे हाट बजार र माघे संक्रान्तिमा लाग्ने मेलालाई सञ्चालनमा ल्याइने छ। वडाका व्यवसायिक केन्द्रहरुमा वडा समितिको समन्वयमा पशु, कृषि हाट बजारको व्यवस्था मिलाइने छ । साथै उत्कृष्ट व्यवसायी किसानहरुलाई पुरस्कृत गरिने छ।’
स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न, फलफूल, तरकारी वालीहरु, पशुपंक्षी पालन तथा मत्स्य पालनको पञ्जीकरण, अनुसन्धान, प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्याइने निती बनाएको नगरपालिकाले आवश्यक सडक, विद्युत, सिंचाई, संकलन एवं बिक्री केन्द्र जस्ता आधारभूत पूर्वाधारको विकास गर्ने भएको छ ।
प्रदेश सरकारसँगको सहकार्यमा जग्गा चक्लाबन्दी कार्य अघि बढाइने, मकै, धान, कोदो पकेट क्षेत्र एकिन गरी विशेष कार्यक्रम ल्याइने, कृषि व्यवसायमा आवद्ध व्यवसायिक कृषकहरुलाई बिउ बिजन उपलब्ध गराउने र पशुपंक्षी पालन व्यवसायमा रहेका कृषकहरुलाई उपलब्ध गराउँदै आएको अनुदान जस्ता जनमुखी कार्यक्रमहरुलाई यस वर्षपनि निरन्तरता दिने निती नगरपालिकाले ल्याएको छ । नगरपालिकाले साना किसानहरुको सामुहिक खेती गर्ने अभ्यासलाई प्रोत्साहन गरिने भएको छ ।
नगरपालिकाको भू-धरातल, जलवायू र जैविक विविधताको अधिकत्तम उपयोग हुने गरी भू-उपयोग नीति एवं कार्यक्रम ल्याउने, सार्वजनिक वन क्षेत्र, सडक किनारा, नदी उकास र उपभोगहिन सार्वजनिक सरकारी जमिनमा फलफूल र अन्य विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने, निजी बाँझो जग्गा, खेतवारी, कान्ला, आलीमा दलहन, तरकारी, फलफूल र अन्य विरुवा लगाउन साथै शहरी क्षेत्रमा वैकल्पिक खेती प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने निती तथा कार्यक्रम बनाएको नगरप्रमुख न्यौपानले जानकारी गराए ।
व्यवसायिक बाख्रा पालन, माछा पालन, मौरी पालन, स्थानीय जातको गाइभैंसी, बंगुर र कुखुरा तथा अन्य पशुपंक्षी पालन कार्यमा सहयोग पुर्याई पशुपंक्षी बजार पर््रवर्द्धन गर्ने कार्य अघि बढाइने भएको छ । नगरपालिमा संकलन हुने कुहिने फोहोर मैला र व्यास १० स्थित दुम्सी बजार मादी नदी किनारमा रहेको गौ संरक्षण केन्द्रबाट उत्पादन हुने गोवर समेतको समिश्रणबाट र व्यास-३ देउराली नगरको वधस्थलबाट बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गरी कृषकहरुलाई वितरण गर्ने व्यवस्था मिलाइने भएको छ।
वडा नं. १० पोख्रेलफाँटमा रहेको गोवर्धन शर्मा कृषि अनुसन्धान केन्द्रलाई नमूना प्राङ्गारिक खेती प्रणालीको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्न संघीय र प्रदेश सरकारका कृषि विज्ञहरुसँग समन्वय गरिने, नगरपालिका भित्रका स्थानीय जातका फलफूल जस्तै बयर, ऐसेलु लगायतका फलफूलहरु, स्थानीय जातका रैथाने मास, पिंडालु, तरुल आदिको संरक्षण गर्दै यसको उत्पादन एवं बजारीकरण गर्ने कार्यमा वडासंग समन्वय गरी कार्यक्रम अघि बढाइने, व्यास नगरपालिका भित्र कृषि व्यवसायका लागि माटो परीक्षण गरी कृषि सम्बन्धी गुरुयोजना निर्माण गरी लागू गरिने, साथै व्यास नगरपालिका भित्र आलु लगायतको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानहरुलाई अनुदानको व्यवस्था मिलाइने नगरपालिकाले निती बताएको छ।
यस्तै, एक वडा एक फलफूल, पुष्प खेती तथा तरकारी नर्सरीको स्थापनामा जोड दिई व्यवसायी पर््रवर्द्धनमा सहयोग पुर्याइने, ड्रागन र्फुटस, एभोकार्डो लगायतका फलफूलका विरुवाहरु वितरण गर्ने, फलफूलका विरुवाहरु उत्पादनमा आत्म निर्भरता स्थापित गर्न आवश्यक कार्य गर्ने, कृषि व्यवसायीलाई व्यवस्थित, मर्यादित गर्न कृषि उद्यमशीलता विकास गरी कृषकहरुको जिविकोपार्जनमा सुधार ल्याउन सम्बद्ध कृषकहरुलाई व्यवसायिक प्रशिक्षण एवं अनुभव आदान प्रदान गर्न कृषि विज्ञहरु सम्मिलित “व्यास नगर कृषि समन्वय समिति” गठन गरिने भएको छ ।
व्यवसायिक कृषकहरुको तथ्यांक लिई विभिन्न संस्थाहरुसँग समन्वय गरी सहुलियत दरमा कृषि ऋण एवं कृषि बिमा गर्ने कार्यमा सहजीकरण गर्ने, व्यवसायिक कृषकहरुलाई कृषि एवं पशु प्राविधिक सेवा प्रदान गर्ने, हिंस्रक वन्यजन्तु, बाघ, भालु, बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायसँग सहजीकरण गरी आवश्यक सुरक्षा र खेतीबाली संरक्षणको व्यवस्था मिलाउने निती लिइएको जानकारी गराउँदै नगरप्रमुख न्यौपानेले भने, ‘सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी बाँदर अनुकुल केरा, आँप, मेवा लगायतका विरुवा लगाउन सहजीकरण गरिने छ । नगरपालिका भित्रको महिलाहरु सम्बद्ध कृषि सहकारीहरुका साथै अन्य सहकारीहरुको नियमन एवं प्रवर्द्धन गरिने छ । साथै किसानहरुको तथ्यांक लिई किसान परिचयपत्र क्रमशः वितरण गरिने छ ।’
अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न वस्तुको प्रमाणीकरण गरी बजारीकरण गर्ने, नगरपालिकाको भौगोलिक अवस्था र पानीको श्रोतको आधारमा उपयुक्त सिंचाई प्रविधिका लागि सिंचाई गुरुयोजना निर्माण गरी लागू गर्ने, सिंचाईका निम्ति विद्युत आपूर्तिको सहज व्यवस्था मिलाउन संघ र प्रदेश सरकारसँग समन्वय गरी विद्युत महशुल छुट गराउने नीति नगरपालिकाले लिइएको छ । सहकारी मार्फत बिक्री भएका दुध एवं खसीबोकामा अनुदान दिने नितीलाई निरन्तरता दिइने र आर्थिक अवस्थाको समीक्षा गर्दै दुधमा दिइएको उत्पादन अनुदानलाई बृद्धि गर्ने निती नगरपालिकाले लिइएको नगरप्रमुख न्यौपानेले नगरसभामा जानकारी गराएका छन् ।