बाढीले बगाएको एप्रोच निर्माण : १८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल

तनहुँ : तनहुँको घिरिङ र पूर्वी नवलपरासीको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फको पहुँच सडक (एप्रोच) बगाएपछि अवरुद्ध आवागमन बुधबार साँझदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।
नवलपुरतर्फको अस्थायी एप्रोच गत साता नै निर्माण गरिएको थियो । तनहुँतर्फको पहुँच सडक भने बुधबार साँझ निर्माण सम्पन्न भएपछि पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
घिरिङतर्फको पहुँच सडक मर्मत सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको छ । सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौताअनुसार मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले बुधबार साँझ ५ बजे सम्झौताबमोजिमको काम सम्पन्न गरेको जनाएको छ ।

पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायतका स्थानमा आवतजावत सहज बनेको छ । स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोरमा पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावतका लागि महत्त्वपूर्ण मानिने यो पुलको पहुँच सडक बाढीले बगाएपछि दैनिक यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पुल सञ्चालनमा आएसँगै दसैँका बेला आवतजावत गर्ने नागरिकलाई राहत मिलेको बताए । पहुँच सडक छिटो निर्माण गर्न सम्बन्धित निकायमा पटकपटक दबाब दिँदै ध्यानाकर्षण गराएको उनले उल्लेख गरे ।
बाढीले क्षति पु¥याएका सडक तथा पुलको समयमै मर्मत नहुँदा स्थानीयको आवागमन, व्यापार र ढुवानी प्रभावित हुने गरेको छ । घिरिङ–डेढगाउँ जोड्ने पुल सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दाले भोग्दै आएको सास्ती केही हदसम्म हट्ने अपेक्षा गरिएको छ ।










