दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर, माछामा भने परनिर्भर

तनहुँ : तनहुँ दूध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उत्पादित दूध, मासु र अण्डाले स्थानीय उपभोगको आवश्यकता धान्दै आएको छ । माछाको उत्पादन भने मागअनुसार पुग्न नसक्दा तनहुँ अझै बाहिरी जिल्लामा निर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा ११५.५ लिटर उपलब्ध छ । त्यस्तै, प्रतिव्यक्ति १४ केजी मासुको आवश्यकता रहेकामा १४.२ केजी उत्पादन भइरहेको छ । अण्डाको हकमा प्रतिव्यक्ति वार्षिक ४८ गोटा आवश्यक पर्नेमा ८१ गोटा उपलब्ध रहेको छ ।
यसअनुसार जिल्लामा प्रतिव्यक्ति वार्षिक खपतका लागि आवश्यकताभन्दा दूध २४.५४ लिटर, मासु ०.२ केजी र अण्डा ३३ गोटा बढी उत्पादन भइरहेको छ। माछाको अवस्था भने फरक छ । प्रतिव्यक्ति वार्षिक सात केजी आवश्यक पर्नेमा जिल्लामा ०.२७ केजी मात्र उपलब्ध रहेको ठकुरीले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्ति ६.७३ केजी माछा अपुग रहेको छ ।
४९ हजारभन्दा बढी परिवार पशुपालनमा
तनहुँका कुल ७८ हजार ३०९ परिवारमध्ये ४९ हजार ६४० परिवार पशुपालनमा निर्भर रहेको केन्द्रको तथ्यांक छ । जिल्लाको ग्रामीण अर्थतन्त्रमा पशुपालन महत्वपूर्ण आधारका रूपमा रहेको तथ्यांकले देखाउँछ । दूध उत्पादनतर्फ पनि पछिल्लो वर्ष वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५१ मेट्रिक टन दूध उत्पादन भएकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर ७६ हजार १२१ मेट्रिक टन पुगेको छ । एक वर्षको अवधिमा दूध उत्पादन १ हजार ३६९ मेट्रिक टनले बढेको हो। ठकुरीका अनुसार दूध उत्पादक किसानलाई उत्पादनका आधारमा प्रोत्साहन गर्ने नीतिले पशुपालनमा किसानको आकर्षण बढाउन सहयोग पुगेको छ ।
मासु उत्पादन घट्यो, कुखुराको उत्पादन बढ्यो
मासु उत्पादन भने अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ९९८.१९ मेट्रिक टन मासु उत्पादन भएकामा २०८२/८३ मा ४ हजार ७८१.३ मेट्रिक टन उत्पादन भएको छ । राँगा, भैँसी, खसीबोका तथा सुँगुर–बंगुरको मासु उत्पादन घटे पनि कुखुराको उत्पादन बढेको केन्द्रले जनाएको छ । माछा उत्पादनमा भने सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ११३ मेट्रिक टन माछा उत्पादन भएकामा २०८२/८३ मा बढेर १६४ मेट्रिक टन पुगेको छ। उत्पादन बढे पनि जिल्लाको कुल माग धान्न भने अझै पर्याप्त नभएको केन्द्रको तथ्यांक छ ।
गाई बढे, भैँसी र बाख्रा घटे
पशु चौपायाको संख्यामा पनि उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार ७४२ वटा गाई रहेकामा २०८२/८३ मा बढेर ४९ हजार ९१२ पुगेका छन् । भैँसीको संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५३ हजार ३८३ वटा भैँसी रहेकामा पछिल्लो वर्ष ५१ हजार २३५ मा झरेको छ। बाख्राको संख्या पनि ३ लाख ८८ हजार १७६ बाट घटेर ३ लाख ७४ हजार ७६५ पुगेको छ ।
कुखुराको संख्या पनि सामान्य घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा ९ लाख ९८ हजार ९३६ वटा कुखुरा रहेकामा २०८२/८३ मा ९ लाख ९७ हजार ७६५ पुगेको केन्द्रले जनाएको छ । यसबीच जिल्लामा गाई, हाँस र खरायो पालनतर्फ भने वृद्धि देखिएको केन्द्रको तथ्यांकले जनाएको छ । उत्पादन र किसानको संलग्नताका आधारमा तनहुँमा पशुपालन क्षेत्र जिल्लाको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण व्यवसायका रूपमा विकसित हुँदै गएको देखिन्छ ।










