गण्डकीमा सुन्तला खेती विस्तार, तनहुँमा १७ सय १२ हेक्टरमा सुन्तला खेती

गण्डकी : दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले फल दिने सुन्तलाका बोट पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो । “सुन्तला खेतीको क्षेत्रफल बर्सेनि विस्तार भइरहेको छ । उत्पादन भने घटबढ भइरहन्छ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।”
गत वर्ष अघिल्लो वर्षको तुलनामा दश प्रतिशतले सुन्तलाको उत्पादन बढेको थियो । यस वर्ष असिना, रोग किरालगायतका कारणले सुन्तला कम फलेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेशमा ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको थियो ।
किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा गत वर्ष रु दुई अर्ब ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । यस वर्ष उत्पादन घटेपछि किसानको आम्दानी पनि गुम्ने भएको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका सबै जिल्लामा सुन्तला खेती हुँदै आएको छ ।
गत वर्षसम्ममा स्याङ्जामा दुई हजार ६७, तनहुँमा १७ सय १२, गोरखामा एक हजार ८२, कास्कीमा आठ सय ९४, पर्वतमा आठ सय ७२, म्याग्दीमा सात सय ८०, बागलुङमा छ सय २२, लमजुङमा एक सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती भएको थियो । जिल्लागत रुपमा यस वर्ष सुन्तला खेती विस्तारको आँकडा प्राप्त भइनसकेको निर्देशनालयले जनाएको छ ।
सुन्तला खेती विस्तार र व्यावसायिकीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको निर्देशनालयले जनाएको छ । कार्यक्रम सुरु हुँदा उक्त क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती रहेकामा अहिले क्षेत्र विस्तार भएर एक हजारभन्दा बढी हेक्टर पुगेको जनाइएको छ ।
‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायत गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम सञ्चालित छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारी, तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुने गरेको छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पु¥याउँछन् ।
इस वर्ष सुन्तला याम सुरु भएसँगै बजारमा किनबेच हुन थालेको छ । सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् ।
सुन्तला खेती विस्तारसँगै किसानलाई भने बजारको चिन्ता थपिने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताउनुभयो । उहाँले सुन्तलामा आधारित उद्योग खोल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार रोगकिराको सङ्क्रमण, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावलगायत कारणले सुन्तला खेतीमा चुनौती थपिएका हुन् ।
बोट सुकेर मर्ने रोग, औँसे किरा लगायतले पनि सुन्तला खेतीमा क्षति पु¥याउँदै आएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार निर्देशनालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र लगायतले सुन्तला खेती प्रवद्र्धनमा अनुदान, सीप र प्रविधि सहयोग गर्दै आएका छन् ।
उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताउनुभयो । “सिँचाइ, मल्खाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ”, उहाँले भन्नुभयो, “नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker