दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ ।
उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सचिव पदम नेपालीका अनुसार गाउँमा उत्पादित दूध घाचोकमा रहेका दुईवटा सङ्कलन केन्द्रमार्फत बजार पठाउने गरिएको छ । “सुरूमा ६० लिटरबाट सुरू गरिएकामा अहिले दैनिक आठ सय लिटर दूध बजार पुग्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाईभैँसी पाल्ने किसान पनि थपिँदै जानुभएको छ, सरकारले तोकेको मूल्य नियमति रूपमा पाएपछि दूग्ध किसान सन्तुष्ट हुनुहुन्छ ।”
दूधमा हुने ‘ल्याक्टो’ र ‘फ्याट’ जाँचको आधारमा प्रतिलिटर रू ६८ देखि रू ७३ सम्म किसानले पाउने गरेको सचिव नेपालीले बताउनुभयो । डेरी उद्योगले प्रतिलिटर रू ७४/७५ सम्ममा सहकारीबाट दूध खरिद गर्ने गरेको उहाँको भनाइ छ ।
पोखराको सहकारी डेरी उद्योगलाई मासिक सात सय लिटर दूध उपलब्ध गराउने सम्झौता अनुसार कारोबार भइरहेको सचिव नेपालीले बताउनुभयो । उक्त उद्योगमा आठ वटा दूध्य उत्पादक सहकारीले दैनिक रूपमा दूध उपलब्ध गराउँदै आएका छन् । उद्योगका सुपरभाइजर कृष्ण अधिकारीले ती सहकारी संस्थाबाट दिनमा ३५ सयदेखि चार हजार लिटरसम्म दूध आउने गरेको जानकारी दिनुभयो । “उद्योगले महिनामा झण्डै एक करोड रूपैयाँ बराबरको दूध किसानबाट खरिद गर्छ”, उहाँले भन्नुभयो, “बिक्री पनि सरकारले तोकेको उपभोक्ता मूल्य अनुसार भइरहेको छ ।”
डेरी उद्योगले दिनमा झण्डै रू तीन लाख बराबरको दूध गाउँका किसानबाट ल्याउने गरेको छ । सरकारले तोकेको दरमा दूधको भुक्तानी हरेक १५÷१५ दिनमा किसानलाई उपलब्ध गराउने गरिएको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो । माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाभित्र पर्ने हेम्जा, सुइखेत, पुम्दीभुम्दी र कास्कीकोटबाट दूध उद्योगमा भित्रने गरेको छ । सहकारीले किसानबाट सङ्कलन गरेर ल्याएको दूधलाई प्रशोधन र गुणस्तर सुनिश्चित गरेर मात्र बजारमा बिक्री गर्ने गरेको उद्योगका सुपरभाइजर अधिकारीले बताउनुभयो ।
खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले तय गरेको मापदण्ड अनुसार नै उद्योगले विभिन्न दूग्धजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरेर दैनिक दुई हजार लिटरसम्म बजारमा बिक्री गर्दै आएको छ ।
दूधबाहेक पनिर, दही, नौनीलगायत वस्तु डेरीले उत्पादन गर्दै आएको छ । रू दुई करोड बराबरको अत्याधुनिक उपकरणजडित उद्योगबाट छिट्टै खुवा र आइसक्रिम पनि उत्पादनको लक्ष्य लिइएको छ । विसं २०५७ मा स्थापित उक्त डेरी उद्योगले दूग्धजन्य वस्तु बेचेर मासिक आठ देखि दशलाखसम्म मुनाफा आर्जन गर्ने गरेको छ । उद्योगमा दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
डेरी उद्योगका लागि दुई वर्षअघि नेपाल सरकारले ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’मार्फत रू एक करोड अनुदान उपलब्ध गराएको सङ्घका अध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । पाँच वर्षअघि कास्कीस्थित सहकारी रजिष्ट्रार कार्यालयले पनि उपकरण खरिदका लागि रू १४ लाख सहयोग गरेको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–७ स्थित सङ्घको आफ्नै कार्यालय भवन परिसरमा डेरी उद्योग सञ्चालित छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker