व्यासले सडक बोर्डबाट १ करोड १५ लाख पायो, ९ करोड २२ लाख आन्तररिक आय
ज्येष्ठ नागरिकहरुको आँखा परिक्षणका लागि ४ दिने आँखा शिविर सञ्चालन गर्ने

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षका लागि सडक बोर्डबाट १ करोड १५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । उक्त प्राप्त रकमबाट ३० प्रतिशत लागत सहभागिताबाट नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १० र ११ अन्तरगतका सडक, नाला, कल्भर्ट मर्मत कार्य यसैवर्ष सम्पन्न गर्ने गरी स्वीकृतिका लागि सडक विकास बोर्डमा पठाउने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यापालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो। यस्तै, बैठकमा चालु आवको माघ मसान्तसम्म नगरपालिकाले ९ करोड २२ लाख १३ हजार ९८० रुपैयाँ आन्तरक आय गरेको राजश्व उपशाखाले जानकारी गराइएको थियो ।
बैठकले विपद् व्यवस्थापन अन्तरगत असार श्रावणमा आएको बाढी पहिरोले क्षती पुर्याएका बाँध, कुला र खेतहरुलाई पुनःस्थापना गर्न नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र विपद् उपशाखा प्रमुख रहेको एक समिति गठन गर्ने र स्थलगत अध्ययन गरी आवश्यक निर्णय लिन जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, गण्डकी प्रदेश सरकारबाट काठेपोल विस्थापन गर्न गत वर्ष प्राप्त स्टिल पोलहरु गाड्न विद्युत प्राधिकरण तनहुँ र शिशाघाट सामुदायीक विद्युतीकरण समितिलाई अनुरोध गर्ने र नगरपालिकालाई करीव २ हजार ७०० पोल गण्डकी प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको बताइएको छ । भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको घरजग्गा दर्ता सम्बन्धमा भए गरेका कार्यहरुको समिक्षा गर्दै बैठकले अत्याधिक चाप भएका वडा नं. ५, १० र १२ मा आवश्यक जनशक्ति थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै, व्यास नगरपालिका भित्रका ७० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुको आँखा परिक्षण सम्बन्धी ४ दिने शिविर दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयमा यही फागुन ११ देखि १४ गतेसम्म सञ्चालन गर्ने गरी स्वास्थ्य शाखा र महिला, बालबालिका तथा समाज कल्याण उपशाखालाई जिम्मेवारी तोकेको छ ।
सुरक्षीत आवास कार्यक्रम अन्तरगत व्यास नगरपालिका भित्र पहिलो किस्ता लगि सकेका सेवाग्राहिलाई दोस्रो किस्ता वापत पाउने रकम नगरपालिकामा निकासा प्राप्त भएकाले सम्बन्धित वडा प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन साथै राखि पेश गर्न समेत बैठकले आग्रह गरेको छ ।










