दमौली खानेपानीमा वृषराज श्रेष्ठ सर्वसम्मत चयन (श्रेष्ठको घोषणपत्र सहित)
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको वडा नं. २, ३ र ४ मा खानेपानी वितरण गर्दै आएको संस्था दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षतमा वृषराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको शुक्रबार र शनिबार आयोजित अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको अध्यक्ष पद दाबी गर्दै उम्मेदवारी दर्ता गराएका रामचन्द्र सापकोटाले शनिबार अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएको बताइएको छ ।
निर्वाचन समितिका संयोजक अमृतबहादुर नेपालीका अनुसार अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको र अन्य पदहरुमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । खुल्ला सदस्यमा सात जना चाहिनेमा आठ जनाको उम्मेदवारी परेको र चार जना महिला सदस्य चाहिनेमा छ जनाको उम्मेदवारी परेको हुँदा ती उम्मेदवारीहरुमा सर्वसम्मत गराउने प्रयास भइरहेको बताइएको छ ।
अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले सबैको साथ र सहयोगले आफू सर्वसम्मत निर्वाचित भएको प्रतिक्रिया दिएका छन् । खानेपानी संस्थामा इमानदारपूर्वक भएर काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
यस्तै, १० बुँदे चुनावी एजेण्डा लिएर मैदानमा उत्रिएका श्रेष्ठले दमौलीमा टि्रटमेन्ट प्लान्टलाई सुधार गरी स्वास्थ्य, सफा, किटनासक, प्रशोधित पानी वितरण गर्ने, नेपाल सरकारको प्रति व्यक्ति १०० लि. पानी प्रति दिन आवश्यकता पर्नेमा १२० लि. पानी प्रतिदिन आपूर्ति गर्ने घोषणा गरेका छन् ।

उनको चुनावी घोषणापत्रमा पानीको वितरण प्रणाली मिलाई उपभोक्ताको घरघरमा सहज रुपमा पानी वितरण गर्ने, आगलागीको अवस्थामा दमकलमा पानी भने ठाउँठाउँमा प्वाइन्टको व्यवस्था गर्ने, अधिक रुपमा मानिसको चहल पहल र जमघट हुने स्थानमा सार्वजनिक धाराको व्यवस्था गर्ने समेत उल्लेख गरेका छन् ।
यस्तै, पानी प्रयाप्त नभएको कारणले ट्याङकरमा पानी ओसार्ने कार्य निरुत्साहित गर्दै प्रचुर मात्रमा पानी वितरण गर्ने, उपभोक्ताबाट पानीको महसुल अनलाइनबाट बुझाउन सक्ने निरन्तरता र महसुल पनि कम गर्ने, आधुनिक डिजिटल प्रणालीलाई अवलम्बन गरी घरघरमा पानी आएको नआएको अनुगमन तथा मर्मत सुधारमा खटि्टने चुनावी नारा बनाएका छन् ।
श्रेष्ठले जनसंख्य वृद्धि हुँदै जाने, पानी लिफ्टिङको क्षमता घट्दै जाने कारणले घरघरमा पानी पर्याप्त वितरण गर्न नसकेको अवस्थामा लिफ्टिङ प्रणालीको क्षमता वृद्धि गरी पर्याप्त पानी वितरण गर्ने, उपभोक्तालाई पर्याप्त पानी दिन अन्य उपायको खोजी गर्ने समेत चुनावी प्रतिवद्धता गरेका छन् ।










