रोटरीको सहयोगमा व्यासको चुँदेर, रानीटारी र नेपालटारमा खानेपानी योजना
भञ्ज्याङ समाचारदाता दमौली
तनहुँको व्यास नगरपालिका-५ को ग्रामीण बस्तिमा खानेपानी योजना सञ्चालन गरिने भएको छ । खानेपानीको समस्या झेल्दै आएका चुँदेर, रानीटारी र नेपाटारका बासिन्दालाई सहज रुपमा खानेपानी उपभोग गर्ने व्यवस्था मिलाउन अमेरिका र दमौलीका रोटरी क्लवले सक्रियता बढाएका छन् ।
यी तीन गाउँका करिब २२९ घरका १ हजार १०८ परिवारलाई सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि करिब १ करोड १६ लाख ४० हजार २१० रुपैयाँका लागतमा योजना सम्पन्न गर्ने गरी खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुधबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
अमेरिकास्थित रोटरी क्लव अफ होलोलुलु सनसेटको सहयोगमा निर्माण हुन लागेको पंधेरीखेला खानेपानी तथा सरसफाई योजना निर्माणका लागि तयार गरिएको डिपिआर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
दमौलीस्थित स्मार्ट सिभलि कन्सल्टेन्सीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन कन्सल्टेन्सीका इन्जिनियर सुवास गौतमले बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।
कुल लागत मध्ये ८४ लाख ८१ हजार ६६७ रोटरी क्लव अफ होनोलुलु सनसेटले सहयोग गर्नेछ भने बाँकी ३१ लाख ५८ हजार ५४३ नागरपालिकाको लागत सहभागिता रहने रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
उक्त योजना निर्माणका लागि केही दिनभित्रै रोटरी क्लवले दिने भनेको सहयोग रकम आइपुग्ने र त्यसपछि काम शुरु गर्ने गरी काम अगाडि बढेको अध्यक्ष भण्डारीले बताए । खानेपानी योजनाबाट व्यास-५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २० घर दलित, १२१ घर जनजाति, ३ घर मुस्लिम र ८५ घर अन्य समुदायका मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
लिफ्टिङ प्रविधिबाट करिब ८४५ मिटरको दुरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्किमार्फ घरघरमा वितरण गर्ने गरी योजनाको डिजाइन गरिएको इन्जिनियर गौतमले बताएका छन् । एक घण्टामा १० हजार लिटर पानी लिफ्टिङ गरी तानिने र उक्त क्षेत्रमा दैनिक एक लाख ८ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको उनले बताए ।
यस्तै, खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ग्रहण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानले ग्रामीण क्षेत्रका बासिन्दाको घरघरमा सहज रुपमा खानेपानी वितरणका लागि रोटरीले योजना अगाडि ल्याएको धन्यवाद व्यक्त गरेका थिए । रोटरीको यो कदममा नगरपालिकाले पनि आवश्यक साथ र सहकार्य गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।










