म्याग्देमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकामा प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवको प्राङ्गणमा प्रतियोगिता शुरु गरिएको हो ।
प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले नयाँ बर्षको सुरुवातसंगै खेलकुदको क्षेत्रलाई पनि अगाडि बढाउन प्रतियोगिता आयोजना गरेको बताइन् । उत्साह, जोश र जाँगर लिएर खेल क्षेत्रमा भाग लिन उनले सबैलाई आग्रह गरिन् । खेल आयोजना गर्ने तर स्तरीय रेफ्रि र खेलाडी उत्पादन गर्न नसक्ने अहिलेको समस्या रहेको अवस्थामा त्यसलाई चिर्न र योग्य खेलाडी तथा रेफ्रि उत्पादन गर्न खेलकुद प्रतियोगिताले आकर्षित गर्ने रानाको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्र खेलकुदका धेरै बिधाहरूमा छलफल गरेर जनप्रतिनिधि कर्मचारी मैत्रीपूर्ण फुटबल, वडास्तरीय फुटबल, खुल्ला भलिबल, माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा खेल आयोजना गरिएको बताए । म्याग्दे गाउँपालिकाले अब छिट्टै म्याग्दे गाउँपालिका स्तरीय खेलकुद समिति गठन गर्न लागेको र त्यसले खेल क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खेलकुद पूर्वाधार निर्माणका चरणमा गाउँपालिका लागिरहेको र त्यसको सुरुवात थर्पुमा रहेको गुणस्तरीय ब्याडमिन्टन कभर्डहल तयार भएको बताउँदै उपाध्यक्ष घिमिरेले म्याग्देको तिलहारमा रङ्गसाला निर्माणको चरणमा रहेको र अन्य सबै वडामा खेलमैदान निर्माण गरिने बताए । यस्तै, म्याग्दे गाउँपालिकाले अब छुट्टै स्थानीय पाठ्यक्रम तयार गर्न लागेको र त्यसले खेल क्षेत्र लगायतका स्थानीय तहलाई समेट्ने घिमिरेले बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष शिवसरण वाग्ले, प्रेमबहादुर थापा, पदमराज वाग्ले, नेकपा एमाले म्याग्देका अध्यक्ष रत्ना घिमिरे, नेपाली कांग्रेस म्याग्देका सभापति रामबहादुर अधिकारी, जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष मनिराज थापा, आदर्श नमुना युवा क्लवका अध्यक्ष गौरबराज राना लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम पश्चात पुरूष कर्मचारी र पुरूष जनप्रतिनिधि बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिले कर्मचारीलाई ३ का बिरूद्ध १ गोल अन्तरले बिजयी भएका थिए भने महिला जनप्रतिनिधि र महिला कर्मचारी बिचको अर्को खेलमा कर्मचारीले जनप्रतिनिधि टिम जिरोका बिरूद्ध १ गोलले बिजयी भएका छन् । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।










