बन्दिपुर सडक खाना महोत्सव शुक्रबार रातीसम्म : नयाँ वर्षमा करिब ३५ हजार पर्यटक बन्दिपुर आए
भञ्ज्याङ न्यूज
तनहुँको पर्यटकीय नगरी बन्दिुरमा नयाँ वर्ष २०७९ का अवसरमा करिब ३५ हजार आन्तरिक तथा वाह्य पर्यटक आएका छन् । नयाँ वर्ष मनाउन बुधबार १० हजार र नयाँ वर्षका दिन करिब २५ हजार आन्तरिक तथा वाह्य पर्यटक बन्दिपुर आएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
नयाँ वर्षका अवसरमा बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दिपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईले संयुक्त रुपमा बुधबारदेखि सडक खाना महोत्सव सञ्चालन गरेका छन् । तीन दिने सडक खाना महोत्सव शुक्रबार राती १० बजेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
नयाँ वर्षका अवसरमा बन्दिपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य उपस्थिति रहेपनि न्यून मात्रमा पर्यटकहरुले बन्दिपुरमा रात बिताएको अध्यक्ष प्रधानले बताए । उनले भने, ‘सडक खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रमका साथै बन्दिपुरको सौर्न्दर्यता अवलोकनका लागि दिउँसोको समयमा पर्यटकहरुको उल्लेख्य सहभागिता रहेपनि बाँस बस्ने पर्यटकको संख्या भने न्यून रहेको थियो ।’
यस्तै, बुधबार सडक खाना महोत्सवको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दिपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिएको बताए । कोभिड-१९ संक्रमणका कारण बन्दिपुरको पर्यटन प्रभावित भए पनि विस्तारै संक्रमण न्यूनीकरण भएकाले अब यसले गति लिने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

गाउँपालिकाको समग्र विकासका लागि २० वर्षे गुरुयोजना बनाइएको चर्चा गर्दै अध्यक्ष थापाले घुम्नका लागि बन्दिपुर आउने पर्यटकको संख्या राम्रो भएपनि बाँस बस्ने गरी कमै मात्र आउने गरेकाले गाउँपालिकाले बन्दिपुरमा पर्यटकको बर्साई लम्ब्याउनका लागि पर्यटन लक्षित पूर्वाधाहरु निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताए ।
यस्तै, नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दिपुरमा पर्यटक भित्रयाउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको बताउँदै पर्यटन विकास समितिका अध्यक्ष प्रधानले भने, ‘कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड संक्रमण घटेकाले नयाँ वर्षमा सांगीतिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौं । यो कार्यक्रमले बन्दिपुरमा पर्यटक आकषिर्त गर्ने विश्वास लिएका छौ ।’
नयाँ वर्ष तथा महोत्सवका कारण बन्दिपुरमा पर्यटकको उत्साहजनक आगमन भएकाले आगामि दिनमा पर्यटकको आगमन थप वृद्धि हुने व्यवसायीहरुले विश्वस्त छन् । ‘नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी छौं’, होटल व्यवासयी विपिन प्रधानले भने, ‘सडक खाना महोत्सव पनि एउटा माध्यम हुनेछ । यहाँ आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दिपुर उक्लिन सहयोग पुर्याउने विश्वास लिइएका छौं।’
सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच, पुतली च्वे प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो ब्याण्ड’को प्रस्तुति रहेको आयोजकले जनाएको छ । ‘नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ’, उनले भने, ‘त्यसलाई रोक्नका लागि बन्दिपुर उपयुक्त गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’

बन्दिपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दिपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेज लगायत होटल सञ्चालन छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला देखिन्छन् ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका आकर्षाका केन्द्रबिन्दु बन्ने गरेका छन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ।










