भाषा, साहित्य र कलाको उत्थानका लागि प्राज्ञिक सहकार्यलाई जोड

दमौली : आदिकवि भानुभक्त क्याम्पस, विज्ञानचौरले गण्डकी प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा प्राज्ञ सदस्यहरूलाई सम्मान गर्दै नेपाली भाषा, साहित्य र कलाको संरक्षण, संवर्द्धन तथा प्राज्ञिक सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘नेपाली भाषा, साहित्य र कलाको उत्थानका लागि प्राज्ञिक संवाद तथा सम्मान’ भन्ने मूल नाराका साथ शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ तथा प्राज्ञ सदस्यहरू प्रा.डा. ईश्वरचन्द्र वाग्ले, टुकादेवी आचार्य पौडेल र शान्ता बास्तोलालाई सम्मान गरिएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख एवं पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपानेले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए भने, उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले गण्डकी प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी पुस महिनामा आयोजना हुने आदिवासी जनजाति भाषा तथा साहित्य गण्डकी प्रदेश सम्मेलन–२०८३ मा प्रतिष्ठानसँग सहकार्य गर्न तथा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे । उनले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा शैक्षिक संस्था र प्राज्ञिक निकायबीचको सहकार्य समयको आवश्यकता भएको उल्लेख गरे ।
कार्यक्रमका वक्ताहरूले प्रज्ञा–प्रतिष्ठान र शैक्षिक संस्थाबीचको सहकार्यले स्थानीय तहदेखि नै नेपाली भाषा, साहित्य, कला र वाङ्मयको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले अनुसन्धान, प्रकाशन, भाषा संरक्षण तथा सांस्कृतिक गतिविधिलाई संयुक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले क्याम्पस परिवारले गरेको सम्मानले आफ्नो जिम्मेवारी अझ बढाएको अनुभूति भएको बताए । उनले गण्डकी प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले विश्वविद्यालय तथा सामुदायिक क्याम्पसहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य–सचिव मनकुमार श्रेष्ठले प्राज्ञिक संस्थाहरू र उच्च शिक्षाका केन्द्रबीचको सहकार्यबाट अनुसन्धान, सिर्जना र प्रकाशनका क्षेत्रमा नयाँ सम्भावना सिर्जना हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष केशबहादुर सुनारले आदिकवि भानुभक्त क्याम्पसले गण्डकी प्रज्ञा–प्रतिष्ठानसँग मिलेर भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रमलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्राज्ञिक संस्थाहरूबीच सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा सहभागीहरूले मूल्याङ्कन गरेका थिए ।










