दमौली अस्पतालको एआरटी शाखाको तथ्याङ्कमा तनहुँमा ३३४ जना एचआइभी सङ्क्रमित

तनहुँमा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ ।
शाखाकी प्रमुख सुस्मिला खनालका अनुसार जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । गत आर्थिक वर्षा जिल्लामा ३२८ सङ्क्रमित रहेकामा १६१ पुरुष, १३९ महिला, २७ बालबालिका र एक जना तेस्रो लिङ्गी थिए ।
एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका अध्यक्ष श्रीराम कँडेलले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए ।
“समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,” उनले भने, “संस्थाले उनीहरूलाई सहजीकरणको काम गरिरहेको छ ।”
तनहुँ सहयोगी संस्थाले कोभिड-१९ का कारण भएको बन्दाबन्दीका समयमा एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि पुर्याउने व्यवस्था मिलाउँदै आएको छ ।
जिल्लाका केही एचआइभी सङ्क्रमित छिमेकी जिल्लामा गएर उपचार गर्ने गरेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए ।
‘नजिकैको अस्पतालमा उपचारका लागि गएका बेला अरुले देखेर चिन्ने त्रासमा एचआइभी सङ्क्रमित उपचार गर्न आउन डराउछन्’, उनले भने, ‘अहिले पनि सङ्क्रमित रोग लुकाएर बस्न बाध्य छन् ।’
अस्पतालबाट एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरण भइरहेको छ ।










