एमाले एकताको आव्हान : पार्टी एकताका लागि २०७५ जेठ २ मा फर्किने अध्यक्ष ओलीको प्रतिवद्धता

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका छन्।
आइतबार साँझ एकताको आह्वान गर्दै ओलीले पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका हुन्।
‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने छ’, ओलीले एकता आह्वानमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’
ओलीले सबै कमिटीलाई पूर्ववत अवस्थामा फर्काएर एकताको पक्षमा उभिएका नेतालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटीका संरचना गतिशील बनाइने बताएका छन्।
ओलीले यसका लागि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त भने अगाडि सारेका छन्।
‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले यसबीचमा भएका गल्ती र कमीकमजोरीलाई लिएर कुनै कारवाही नगरिने र पूर्वाग्रह नराख्नेसमेत प्रतिवद्धता जनाएका छन् ।
‘यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन’, ओलीको आह्वानमा भनिएको छ ।
उनले एमालेलाई वैचारिक संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउनका निम्ति रचनात्मक योगदान गर्न सबैलाई अनुरोधसमेत गरेका छन्। ‘नेकपा (एमाले)लाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सृदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ’, ओलीले थप भनेका छन्।











